मौरीचरनका लागि वन संग सहकार्य – मन्त्री पौडेल

0

बुद्धि भुजेल
नवलपरासी – प्रदेश सरकार भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मौरीपालक कृषकहरुलाई मुर्त योजना लिएर आउन आग्रह गर्दै कृषकले मूर्त एंव ठोस योजना ल्याए मौरीपालक किसानहरुका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको छ । बर्दघाटमा मंगलबार सम्पन्न नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारण सभाको समुदघाटन कार्यक्रममा बोल्दै पौडेलले सामुदायिक वनसंग सहकार्य गरी वन तथा सहकारीको अवधारणा बनाएर मौरीचरन क्षेत्रको उचित ब्यवस्थापन गर्न सकिनेमा जोड दिनु भयो ।सामुदायिक वनक्षेत्रमा मौरीका लागि आबश्यक पर्ने चिउरी जस्ता विरुवा र फलफूलका विरुवा रोप्न बानी गरियो भने त्यसले मौरीपालक किसानहरुलाई सहयोग पुग्ने उहाको भनाइ थियो ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मौरीपालन महासंघका उपाध्यक्ष देवि दहाल,बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता एवं वडानं. ४का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी लगायतको सहभागिता थियो ।
देशका ३५ जिल्लाका मौरीपालक किसानहरुको सहभागिता रहेको सो कार्यक्रममा वोल्ने बक्ताहरुले मौरीपालन ब्यवसाय आफैमा महत्वपूर्ण रहेपनि महको उचित बजारीकरण र त्यसको उत्पादकत्व लागत कम गर्न तर्फ स्थानिय र प्रदेश सरकारले ध्यान दिन जरुरी रहेकोमा गुनासो गरेका थिए । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघमा पहिले १ सय ८ वटा मौरीपालन सहकारी आवद्ध रहेकोमा अहिले ९० वटामा आवद्ध रहेको बताउदै अझैपनि मौरी पालक किसानहरुका लागि उचित योजना स्थानिय सरकारले अघि नसारे अझै घट्न सक्ने संभावना रहेको अध्यक्ष अर्जुन प्रसाद पोखरेलको भनाइ थियो।

You might also like