क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ९ बुदें ज्ञापन पत्र

0

नवलपरासी ३ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीवार सुस्ता गाउँ संगठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुदें ज्ञापनपत्र बुझाएको हो ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय समझ बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ ।
गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने , सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनु पर्ने लगायतमा माग ज्ञापन पत्रमा छ ।
राष्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर सो पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज रामचन्द्र पोखरेल र पालिका संयोजक गोबिन्द बहादुर साठीघरे , सहसंयोजक सोमबहादुर विश्वकर्मा, गाउँ संगठन समिति सदस्य सन्तोष मुसहरको अगुवाईमा टोली सुस्ता गाउँपालिकाको कार्यालय कुडिया पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, केन्द्रीय सदस्य एंव जिल्ला संयोजक रवि पाण्डेय , क्रान्तिकारी युवा संगठनका जिल्ला संयोजक तरुण श्रीस लगायतको बिशेष उपस्थिति थियो ।
सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा सुस्ता बचाउ आन्दोलनका अध्यक्ष गोपाल गुरुङको नाममा प्रतिष्ठान गठन गर्नुपर्ने र उहाँलाई पालिकाले मरणोप्रान्त सम्मान गर्नुपर्ने माग गरिएको छ ।
सो अवसरमा गाउँपालिका इन्चार्ज रामचन्द्र पोखरेलले ज्ञापनपत्र बाचन र सहसंयोजक सोमबहादुर विश्वकर्माले हस्तान्तरण गर्नुभएको थियो ।
टोलीलाई सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरुलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको पुर्ण बैठक तथा २९ औं जनयुद्ध दिवस कार्यक्रम समेत विहीवार सुस्ता–१ फेचुहामा सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।

 

You might also like