नागरिकता विधेयक फिर्ता हुनुपर्छः ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक ‘काम’ नलाग्ने बताएका छन्। उनले विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन्।

जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक, दुई दिनमै पारित हुन सक्ने पनि ओलीको भनाइ छ। ‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी (एमाले) सँग सरसल्लाह नगर्ने। संसद्‍मा छलफल गर्न नदिने,’ एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिको कुरा नमान्ने। विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ।’ एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको आरोप लगाउँदै नेता ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे।

‘०५२ सालमा मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाएँ,’ ओलीले भने,‘नागरिकता समस्या हल गर्न संसद‍्‍मा मैले नै विधेयक लगेँ। तर, एउटा संसदीय समितिका सभापति अड्काएर बसिदिएँ। अनि मैले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भने अध्यादेश ल्याए। त्यो पनि अदालतमा मुद्दा हालेर फिर्ता गराइयो।’ उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए। ‘जन्मसिद्धको सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु। तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन्।’

सरकार फास्ट ट्रयाकबाट ल्याएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सुझावसहित संसद्‍मा फर्काइदिएकी थिइन्। तर संसद्को दुवै सदनको बहुमतले विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाएको छ। भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो। dineshkhabar

You might also like