लुम्बिनी प्रदेशकाे राजधानी सार्ने काम शुरू

0

प्रदेश राजधानी घोषणा गरेर अस्थायी सदरमुकाम बुटवलबाट दाङ देउखुरीमा राजधानी राख्नको लागि प्रक्रिया शुरु गरिएको छ । तत्कालको लागि राजधानीको लागि आवश्यक पर्ने विभिन्न भौतिक संरचना नभएपछि राप्ती प्राविधिक शिक्षालयमा प्रदेश संसद भवन, मन्त्रालय भवनलगायतको संरचनाको रुपमा शिक्षालयलाई प्रयोग गर्ने सहमतिपछि प्रदेशसभा भवनको काम भइरहेको छ ।

यता, शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय गोवरडिहामा सार्ने काम पनि भइरहेको छ । लामो समयको प्रयासपछि पूर्वसहमतिअनुसार राप्ती प्राविधिक शिक्षालय सरस्वती माध्यमिक विद्यालय, विद्यानगर गोबरडिहामा सारिएको छ ।

गोवरडिहामा अहिले शिक्षालयको लागि आवश्यक संरचना मध्ये ५० प्रतिशत काम सम्पन्न भएकोे छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख तथा तथा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले राजधानी कार्यान्वयनमा सहजता थप्न सम्झौताअनुसार शिक्षालय सार्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘साइनबोर्ड टाँगिएको छ ।

अब विद्यार्थीलाई पढाउने काम पनि गावरडिहाबाटै शुरु हुन्छ ।’ रेग्मीका अनुसार अहिले चलिरहेको प्रयोगात्मक परीक्षा कक्षा बाहेकका कक्षाहरु र प्रशासनिक काम तत्काल गोवरडिहाबाट शुरु हुनेछ ।

राप्ती प्राविधिक शिक्षालय भएको स्थानमा प्रदेशको प्रशासनिक केन्द्र बनाउने र शिक्षालयलाई गोबरडिहामा सार्ने सरकारको पूर्वनिर्णय थियो । सोही निर्णयको आधारमा शिक्षालय स्थानान्तरणको काम शुरु भएको हो ।

पूर्ण रुपमा पठनपाठनको लागि केही दिन लाग्ने शिक्षालयले बताएको छ । राप्ती प्राविधिक शिक्षालयका शिक्षक सुरेश जीएमले पढाइ शुरु गर्न सक्ने संरचना अहिले नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक विषय भएकाले अभ्यास गर्ने केही ठाउँको अभाव छ, त्यो बन्दैछ, भदौको मध्यतिरबाट पढाइ सञ्चालन गर्ने योजना छ ।’

प्रदेश सरकारले शिक्षालयको व्यवस्थापनका लागि बजेट तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा गुरु योजना बनाएर अहिले शिक्षालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निर्माण भइरहेका छन् । अहिलेलाई सरस्वती माध्यमिक विद्यालयको संरचना मर्मत गरेर शिक्षालयको पठनपाठन थालिनेछ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा देउखुरी क्षेत्रका प्रदेश सांसद इन्द्रजित थारुले दीर्घकालीनरुपमा सुविधासम्पन्न पूर्वाधार बनाउने योजनासहित काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षालयको दीर्घकालीन व्यवस्थापनको काम पनि अघि बढेको छ, यो प्रदेश राजधानी कार्यान्वयनका लागि महत्वपूर्ण कामको रुपमा स्थापित हुनेछ ।’

अहिले दाङको देउखुरीमा केही कार्यालयहरु समेत स्थापना भएका छन् । स्वास्थ्य, पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । शिक्षालय पूर्णरुपमा गोबरडिहा स्थानान्तरणपश्चात् प्रदेशसभा बैठक सञ्चालनका लागि सहज हुने देखिन्छ ।

सरस्वती माध्यमिक विद्यालयलाई नजिकै प्राथमिक विद्यालयको पुरानो भवन क्षेत्रमा पूर्वाधार थपेर स्थानान्तरण गरिएको छ । राजधानी कार्यान्वयनका लागि दुईवटा संस्थाहरु एक ठाउँबाट अर्काे ठाउँमा सारिएका छन् । शिक्षालय र विद्यालय अस्थायी संरचनामा सारिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले विद्यालयले सरस्वती माध्यमिक विद्यालयले आवश्यक पर्ने संरचना उपलव्ध गराएको जानकारी दिनुभयो । हाल शिक्षालयमा ६९० विद्यार्थी अध्ययनरत छन् ।

प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गते बसेको बैठकले निर्णय गरेको थियो । यसअघि सरकारको निर्णयको आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानो ठिमीले शिक्षालय स्थानान्तरण सम्बन्धमा समेत पत्र पठाएको थियो ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले समेत राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिसकेको थियो । gorkhapatra

You might also like