प्रचण्डलाई कसरी हेर्ने ?

0

 

विश्व इतिहासमा व्यवस्था बदल्न सक्ने आन्दोलन र नेतृत्व बिरलै जन्मन्छन् । किनकि, यो कठिन मात्र हैन, महाकठिन कुरा हो । आम मानिसले त यस्तो कुरा सोच्न पनि सक्दैन । तर, त्यही आम मानिस भित्रबाट केही अपवाद मानिस जन्मन्छन् । प्रकारान्तरमा, तिनै अपवाद मानिसले गर्ने अन्वेषण र प्रयोगबाट नयाँ व्यवस्था र युग प्रारम्भ हुन्छ । यस्तै, अपवादमध्येका एक पात्र हुन प्रचण्ड ।

वस्तुतः प्रचण्ड वा माओवादीलाई ठीक ढंगले बुझ्न क्रान्तिको नियम बुझ्नु पर्दछ । क्रान्तिको नियम बुझ्न परिवर्तनको नियम बुझ्नु पर्दछ । समाज परिवर्तनको नियम बुझ्न प्रकृति र विज्ञानको नियमका अलावा समाज रुपान्तरणको प्रकृया पनि बुझ्नुपर्ने हुन्छ । यति बुझेपछि मात्र आइन्सटाइनदेखि, ग्यालिलियो ग्यालिलियो, नेल्सन मण्डेला, चल्स डार्बिन, बिपी, पुष्पलाल लगायत प्रचण्डजस्ता इत्यादि नेतृत्व र तिनले मानवजातिका लागि पुर्याएको योगदानलाई बुझ्न सकिन्छ । परिवर्तनकारी मान्छे र आन्दोलनलाई सिधा बुझ्न खोजेपछि चिज बिग्रिन्छ । त्यसकारण, सोझो ढंगले बुझियो भने प्रचण्डलाई मानवजातिको अग्रगतिमा अतुलनीय योगदान गर्ने महान नेता होइन, हत्यारो देख्न पुगिन्छ । अहिले भैरहेको पनि त्यही हो ।

यो अवस्था भनेको कहिले हाती नदेखेको मानिसको आँखामा कालो पटी बाँधेर हाती छाम्न लगाएजस्तो हो । जहाँ र जति छाम्छ, उसका लागि हाती त्यतिमात्र हुन्छ । सिङ्गो हाती अर्थात् क्रान्ति र प्रचण्डलाई बुझ्न पहिली आँखा खोल्नुपर्छ । महामानव गौतम बुद्धदेखि नेल्सन मण्डेला हुँदै बीपी, पुष्पलाल र प्रचण्डलगायत इत्यादि नेतासम्मले मानव जातिको अग्रगतिमा पुर्याएको  योगदानलाई ठीक ढंगले बुझ्ने साझा सूत्र हो, आँखा खोल्नु ।

आजका प्रचण्डको मात्र कुरा हैन, गौतम बुद्धलाई पनि तत्कालीन समाजले कहाँ चैनका साथ बाँच्न दिएको थियो र ! उनलाई पनि समाज भाँडेको आरोप लागेकै हो । उनका बिरुद्ध पनि तमाम षड्यन्त्र रचिएकै हो । भलै, समय क्रमसँगै गौतम बुद्धको देवत्वकरण गरियो र आज उनका ठूल्ठूला स्ट्याचु बनाइएको छ । उनका स्ट्याचुमा पूजा गरिन्छ । गौतम बुद्धको सामाजिक न्यायको मुद्दालाई त अहिले पनि मानिसले बुझ्न सकेकै छैनन् । हो, प्रचण्डले हिँडेको बाटो पनि बुद्धकै बाटो हो । सिर्फ, आन्दोलनको विधि र प्रकृया मात्र फरक हो, उद्देश्य एउटै हो । 

हामी सबैलाई कुनै न कुनै ढंगले थाहा भएको तथ्य हो, मानिस कुनै बेला गिठ्ठा भ्याकुर खान्थे, ओडारमा बस्थे ! यति स्मरण भएपछि अब आफूले आफैंलाई प्रश्न गरौं, त्यस्तो आदिम मानिस आज कसरी विज्ञान र प्रविधिको युगमा आइपुग्यो ? यसको तथ्यसंगत जवाफ हो, मानिस यहाँसम्म आइपुग्नलाई तत्कालीन समाजका सचेत मानिसले आम मानिसको विश्वास र मान्यताका बिरुद्धमा विद्रोह गरे । एउटा हैन, दुईवटा हैन, त्यस्ता विद्रोह र आन्दोलनहरु पटक–पटक र निरन्तर भए, जसको परिणाम नै आज स्मार्ट फोन हातहातमा बोक्ने अवसर हामीले पाका हौं ।

प्रचण्डजस्ता युग बदल्ने परिवर्तनकारी पात्रलाई दुत्कार्नु भनेको आज हामीले पाएको सहज जीवनप्रति असहमत हुनु हो । यसको अर्थ, हामीलाई आदिम ढुंगे युगकै मानव जीवन ठीक थियो भन्ने हुन जान्छ । के त्यसो हो त ? त्यो त पक्कै हैन होला ! समस्या प्रचण्डजस्ता परिवर्तनकारी नेता हैनन्, उनीहरु त समाधान हुन । समस्या त हाम्रो चेतनामा छ । किनकि, हाम्रो ज्ञानको स्रोत नै ठीक छैन ।
हाम्रो ज्ञानको स्रोत धर्मशास्त्रले एउटा मानिस बराबर अर्को मानिसको परिकल्पना गरेकै छैन । कि त धनी कि त गरिब ! कि त ठूलो कि त सानो । कि त श्रेष्ठ पुरुष कि त तुच्छ महिला ! यदि हाम्रा ज्ञानका स्रोत धर्म शास्त्रहरूले मानवजातिका बीचमा समानता र बराबरीको परिकल्पना गरेको भए आजको मानिस कम्तिमा ४ हजार वर्ष अगाडि पक्कै हुन्थ्यो । यो भनेको आजभन्दा ४ हजार वर्षपछिका हाम्रा सन्तानले जस्तो जीवन पाउँछन्, हामीले आज त्यही जीवन बाँचिरहेका हुन्थ्यौं ! 

आजको नेपाली समाजका कतिपय मानिसले प्रचण्डलाई गाली गर्नु र तत्कालीन समाजले बुद्धलाई समाज भाँडेको आरोप लगाउनु वा चर्च र पादरीले इसाई विश्वासका बिरुद्ध खगोल विज्ञानको अवधारणा अगाडि सार्ने ग्यालिलियो ग्यालिलियो होस् वा ईश्वरीय सृष्टिको धार्मिक मान्यताका बिरुद्ध जीव विकासको विकासवादी तथ्य अगाडि सार्ने चाल्स डार्बिनलाई गाली गर्नुका बिचमा तात्विक भिन्नता छैन । ग्यालिलियो ग्यालिलियोजस्ता वैज्ञानिकलाई तत्कालीन समाजले वैज्ञानिक खोज अनुसन्धानमा निरुत्साहित नगरेको भए, कल्पना गरौं त त्यसबेलै कति धेरै मानिस वैज्ञानिक खोज–अनुसन्धान कर्ममा सामेल हुन्थे होला ?

मानवजातिको अग्रगतिका लागि एन्टिथेसिस् जरुरी हुन्छ । यो भनेको क्रमभंगताको नियम हो । अर्थात्, आज जहाँ र जस्तो छौं, भोलि त्यही र त्यस्तै नरहने भनेको हो । मानवजातिको अग्रगतिका लागि एन्टिथेसिस् अर्थात् क्रमभंगता अनिवार्य सर्त हो । बुद्धदेखि ग्यालिलियो ग्यालिलियो हुँदै चल्स डार्बिनदेखि नेल्सन मण्डेला मात्र हैन, बिपी, पुष्पलालदेखि प्रचण्डसम्मले प्रयोग गरेको नियम भनेकै क्रमभंगताको नियम हो ।

परिवर्तन र अग्रगतिको अनिवार्य निमयम क्रमभंगता, क्रमभंगताको अनिवार्य नियम हो, असहमति, युद्ध र आन्दोलन, युद्ध र आन्दोलनको अनिवार्य नियम हो, धनजनको क्षति । यही प्रकृयाबाट गुज्रिँदै मानिसले आज मंगल ग्रहमा रकेट बसाउन सक्ने अवस्थामा पुगेको हो । नेपाल मात्र हैन, परिवर्तनकारी आन्दोलनको विश्व इतिहास हेर्ने हो भने हालसम्म लाख हैन करोडौं मानिसले बलिदान गरिसकेका छन् । अतः जातीय एवं पुरुष श्रेष्ठताको अहंकारबाट मुक्त भएर महिला, मधेशी, दलित, आदिवासी जनजाति, थारु, गरिब, किसान, सुकुम्वासीलगायत समानता र बराबरीको कोणबाट प्रचण्डलाई हेरौं त, प्रचण्ड हत्यारा हुन् कि महान नेता ?

खैर, समाज रुपान्तरणको आम प्रकृया र सैद्धान्तिक कुरा छोडेर माओवादी आन्दोलनकै कुरा गरौं । माओवादीले जनयुद्धको अन्वेषण मात्र गरेन, शान्ति प्रकृयामा आएसँगै देश विकासमा पनि इतिहास रचेको छ । माओवादी आन्दोलनकै परिणाम स्वरुप नेपालको संविधान जारी भयो । तर, यथास्थितिवादी दलहरूसँगको सम्झौतामा संविधान ल्याउनुपर्ने माओवादीको वाध्यतासँगै आन्दोलनमा अभिव्यक्त न्यायको भावना जस्ताको तस्तै संविधानमा सुनिश्चित हुन सकेन । यही हो, देश चुकेको ।

आज विश्वको विकसित मध्येको एक देश हो, जापान । जापानको इतिहास हेरौं त ! मेजी क्रान्ति (बाकुमात्सु) पश्चात् सन् १९४७ मा जापानले नयाँ संविधान जारी ग¥यो । उक्त संविधानले मेजी क्रान्तिमा अभिव्यक्त भावनालाई शतप्रतिशत संविधानद्वारा संस्थागत ग¥यो । जापानको नयाँ संविधानले आधुनिक जापानको नक्सा कोर्न सफल भयो । यसले जापानको राजनीतिक र सामाजिक संरचनामा ठूलो परिवर्तन मात्र ल्याएन एउटा युगकै अन्त्य ग¥यो । सामाजिक–राजनीतिक परिवर्तनसँगै शान्त जापानले औद्योगिक विकासको नीति अख्तियार गर्यो । अन्ततः ऊ आज विश्वको ठूलो र सफल अर्थतन्त्र बन्न सक्यो ।

तथ्यहरुले स्पष्ट गर्छन्, समृद्धिको अनिवार्य सर्त आर्थिक विकास हो, आर्थिक विकासको अनिवार्य सर्त, स्थायी शान्ति हो भने स्थायी शान्तिको अनिवार्य सर्त समाजिक, आर्थिक र राजनीतिक न्याय हो । तर, हामी न्यायको प्रश्न छोडेर समृद्धिको सुगारटाइ गरिरहेका छौं, जुन मूर्खताको पराकाष्ठा हो । परन्तु,  नीतिगत र प्रणालीगत प्रतिकूलताका बाबजुद पनि माओवादी पार्टी र माओवादी सरकारले अन्य पार्टीको तुलनामा सयौं उल्लेखनीय काम गरेको छ । जसमध्ये यहाँ केही प्रतिनिधि उदाहरण हेरौं ।

नीतिको नेतृत्व 

सामाजिक, आर्थिक र राजनीतिक न्यायको कुरा गर्दै गर्दा हामीले आज देशमा अभ्यास गरिरहेको समावेशि–समानुपातिक प्रतिनिधित्वको मुद्दा प्रमुख मध्येको एक हो । जुन माओवादी आन्दोलनकै उपलब्धी हो । यो नीतिले सबै नभए पनि केही हदसम्म न्यायको ढोका खोलेको छ । आज राज्यको मात्र हैन, विगतका परम्परावादी पार्टीहरू राप्रपा, कांग्रेस र एमालेसमेत समानुपतिक–समावेशिताको माओवादी नीतिबाट अलग हुन सक्ने अवस्था छैन ।

माओवादीले अगाडि सारेको समावेशी–समानुपातिकको नीति अनुसार नै आज हजारौं वर्षदेखि राज्यबाट बहिष्करणमा परिएको क्षेत्र, वर्ग, लिङ्ग र जातको नीति निर्माण र निर्णय तहमा प्रतिनिधित्वले सबैमा ‘देश मेरो पनि हो’ भन्ने भावना जागृत भएको छ । नागरिकको आत्मसम्मान र स्वाभिमानको पक्षमा वकालत गरेर माओवादीले अपराध गर्यो  ?

गणतन्त्र र संविधान 

माओवादी आन्दोलनको वलमा २४० वर्षदेखिको एकात्मक राजतन्त्रको अन्त्य भई गणतन्त्र आयो । संविधानले नागरिकका मौली हक सुनिश्चित गर्दै राजा महाराजमा निहित सार्वभौम सत्तालाई नागरिकको हातमा फर्कायो । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन ११ पौष २०७८ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका थिए, –‘प्रचण्डले गर्दा नै अहिलेको राजनीतिक परिवर्तन र संविधान आउन सम्भव भएको हो । के देशमा गणतन्त्र र संविधान ल्याएर माओवादीले अपराध गर्यो  ?’

सडक विस्तार

देशको राजधानी काठमाडौंका सडक विगत १० वर्ष अगाडि कस्ता थिए ? राजधानीका सडकमा भैंसी आहाल बस्न मिल्थ्यो । तर, माओवादी नेतृत्वको सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा राजधानी काठमाडौंको मात्र होइन, देशै भरका सडक चौडा बनेकाले आज प्रायः सडक सेल्फी खिच्न लायक बनेका छन् । सडक विस्तारले शहरको सुन्दरता मात्र हैन मुलुकको अर्थतन्त्र विकासमा ठूलो योगदान पुगेको छ । के यो सब गरेर माओवादीले ठूलो अपराध गर्यो  ?

लोडसेडिङ अन्त्य 

नेपालमा पञ्चायती व्यवस्थाले एक छत्र तीस वर्ष शासन चलायो । नेपालमा पञ्चायती व्यवस्था चलिरहेकै बेला हो, विश्वले विकासमा फड्को मारेको । तर, राजतन्त्रले त्यो मौकाको उपयोग गर्न चाहेन । बहुदलीय व्यवस्था आएपछि कांगे्रस–एमालेले देशमा धेरै समय शासन गरे । परन्तु, विगत ५ वर्ष अगाडिसम्म पनि देशमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।

उद्योग कल कारखाना डामाडोल प्रायः थियो । मानिसको दैनिक जीवन कष्टकर बन्यो । तर, प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जा मन्त्री भएको माओवादी नेतृत्वको सरकारले लोडसेडिङ सदाका लागि अन्त्य गरी झिलिमिली शहर बनायो । के लोडसेडिङ हटाएर माओवादीले अपराध गर्यो  ?

उत्कृष्ट शासनको नमुना  

राष्ट्रिय प्रकृति स्रोत तथा वितीय आयोगले २०७८ फागुन १८ गते प्रकाशन गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकन सूचकांक प्रतिवेदनका अनुसार ७५३ पालिकामध्ये उत्कृष्ट काम गर्ने देशका पाँचवटा पालिकामा प्रथमसहित तीनवटा त माओवादीले जितेका पालिका छन् । उत्कृष्ट हुनेमा अजयमेरु गाउँपालिका, डडेल्धुरा, धुर्कोट गाउँपालिका, गुल्मी र कैलारी गाउँपालिका, कैलाली हुन् । अतः स्थानीय सरकारमार्फत देश र नागरिकको पक्षमा उत्कृष्ट काम गरेर माओवादीको अपराध गर्यो  ?

 एमसीसीको व्याख्यात्मक घोषणा

इतिहास साक्षी छ, माओवादीले राष्ट्रिय हित विपरीत कुनै पनि सन्धी–सम्झौता गरेको छैन । अपितु, २०७८ माघ २६ गते अमेरिकी परियोजना एमसीसी माओवादीको समेत संलग्नतामा संसदबाट अनुमोदन भयो । यो प्रकृयाबाट माओवादी अलग भएको भए झनै एमाले र कांग्रेस मिलेर झण्डै दुइ तिहाई बहुमतबाट एमसीसी पारित हुने निश्चित थियो । तर, माओवादी लागयतका देशभक्त राजनीतिक शक्तिको अडानले कम्तिमा एमसीसीको व्याख्यात्मक घोषणा त आयो । एमसीसीका विषयमा माओवादीले संघर्ष गरेर अपराध ग¥यो ?

गरिब किसान र सुकुम्वासीलाई जग्गा वितरण, कोभिड प्रभावित गरिबलाई राहात, २० युनिटसम्म बिजुली निशुल्क, सहिद परिवारलाई महिनाको तीन हजार मासिक भत्ता, प्राणघातक रोगको निशुल्क उपचार, शिक्षक अस्पताल निर्माण इत्यादि काम देश र नागरिकको पक्षमा गरेको माओवादीले नै हो । के नागरिकको पक्षमा काम गरेर माओवादीले अपराध ग¥यो ?

अन्तमा, रुसोले भनेका छन्, बाटो खोज्दै हिँड्ने कि आफू पहिले हिँडेर बाटो बनाउने ? सफल हुन वा परिवर्तन ल्याउन आफैँ हिँडेर बाटो बनाउनुपर्छ, अरुले खनेको बाटो हिँडेर परिवर्तन आउँदैन । यो नै दुनियाँलाई अगाडि धकेल्ने सूत्र हो ।

परन्तु, मलाई आँखा चिम्लिएर, मुठी कसेर दुनियाँले सुने गरी चिच्याएर भन्न मन लागेको छ, नागरिकले परिवर्तनको नियम नबुझेपछि देशले दुःख पाउँछ । अहिले भैरहेको पनि यही हो । देशको प्रगतिका लागि ‘मास थिङकिङ’ अर्थात् आम नागरिकको परिवर्तनकारी आन्दोलन र नेतालाई हेर्ने दृष्टिकोण, सोच्ने तरिका र गर्ने व्यवहारमा परिवर्तन आउन अपरिहार्य हुन्छ । तर, अहिले यसको ठीक उल्टो भइरहेको छ ।ratopati

You might also like