डोजर चालक नै इञ्जिनियर, केही दिनको खुसी वर्षौंको पीडा

0

ओखलढुङ्गा, साउन २३ गते । जतिसुकै जटिल भूगोलमा भए पनि गाउँमा सडक पुगोस् भन्ने चाहाना सबैको हुन्छ । सरकारी विकास र बाटो कुर्दा सर्भे, टेण्डर, ठेक्कापट्टा गर्दा वर्षाैँ कुर्नुपर्छ भने काम सुरु हुनुअघि नै आधा खर्च सकिन्छ ।

त्यसैले अहिले स्थानीय तहको पहलमा गाउँमा आफ्नो बाटो आफैँ बनाउन स्थानीय बासिन्दा लागिपरेका छन् । यसरी स्थानीयवासी नै अग्रसर भएर निर्माण गरिने ग्रामीण सडकमा डोजर चालक नै ईन्जिनियर बन्छन् । यस्ता सडकहरू वर्षातको समयमा अभिसाप बन्दैगएका छन् । हरेक सडकहरूमा वर्षा लागेसँगै पहिरो जान्छ । पहिराेमा धेरै धनजन गुमाउनुपर्छ ।

ग्रामीण भेगमा रहेका हरेक बस्तीमा सडक पुगेपछि सडक पुगेको पहिलो वर्ष स्थानीय हर्षित हुने गरे पनि खुसीको सीमा केही महिनामा टुट्ने गरेको जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ का श्रीबहादुर स्वारली मगरको भोगाइ छ ।

मगरको घरमाथिबाट खनिएको सडकका कारण वर्षसँगै अन्यत्र गएर बस्नुपर्ने अवस्था आएको छ । घरमाथिबाट पहिरो खसेका कारण आफू विस्थापित भएर बेँसी घरमा बस्न बाध्य भएको उहाँले बताउनुभयो । विकासको पहिलो खुड्किलो नै सडक भएपछि ग्रामीण भेगमा हरेक गाउँ बस्तीमा सडक पगेपछि स्थानीयकाे खुसी वर्षा लागेसँगै पीडामा बदलिएको छ । गाउँस्तरमा खनिएका सडक मनोमानी खनिँदा पछिल्ला वर्ष सडक नै काल बन्दै गएपछि ओखलढुङ्गाका स्थानीय त्रसित भएका छन् । ग्रामीण सडकमा स्थानीयहरूबीच असहमति हुँदा चालक नै इन्जिनियर बनेर सडक निर्माण गरिएका हुन्छन् ।

हरेक सर्वसाधरणको घरपायक पुर्याउनुपर्ने भएका कारण सडक मापदण्डविपरीत खनिन्छन् र केही समयको खुसी एक दुई महिना नबित्दै पीडामा परिणत भएको लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तीकाराम मगरले बताउनुभयो ।

पहाडी भूगोलमा सडकहरू मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिरोको समेत उच्च जोखिममा रहेका छन् । कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेपछि कतिपय स्थानमा पहिरोसमेत गएका छन् ।

सर्वसाधारणको मनखुसी भएका कारण नै ग्रामीण बस्तीमा सडक मनोमानी र मापदण्डविपरीत भएको डोजरचालकहरू बताउँछन् । जसरी पनि भनेको ठाउँमा सडक पुर्याउनपर्छ भनेपछि आफूहरूले सडक भनेकै स्थानमा पुर्याउने गरेको एक चालकले बताए । सडककै कारण गएको पहिरोमा परी ओखलढुङ्गामा विगत दुई वर्षमा सात जनाले ज्यान गुमाइसकेका छन् । ईन्जिनियरिङ मापदण्डविपरीत निर्माण गरिएको सडकका कारण पहाडी भूभागमा पहिरोको खतरा बढ्दैछ ।

विशेष गरी सडक ग्रेडको उचाइ धेरै भएकाे प्राविधिक बताउँछन् । कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्रीसम्म हुनुपर्नेमा ३५ डिग्रीसम्म खनिएका छन् । यस्ता सडकमा गाडी चल्न मुस्किल हुने र दुर्घटना बढी हुने लिखु गाउँपालिकाका प्राविधिक रामकुमार बुढाथोकीले बताउनुभयो ।

सडक निर्माण उपभोक्ता समितिले निकै चुनौतीबीच सडक निर्माणको काम गर्नुपर्ने हुन्छ । प्राविधिक एस्टिमेटअनुसार सडक निर्माण गर्ने चहाना भए पनि स्थानीय जनताले सहजरूपमा आफ्नो जग्गामा सडक खन्न नदिँदा घुम्तीमा साँघुरो र सडक ठाडो हुने समस्या हुने गरेको छ ।

निर्माणका बेला आफ्नो जग्गामा बाटो जान नदिने ठूलो समस्या भएका कारण सुरुमा प्राविधिकले सडक खन्न नापेकोभन्दा अर्को तरिकाले खन्नुपर्दा धेरै समस्या आउने गरेकाे सम्बन्धित निकायहरू बताउँछन् । ओखढङ्गाका स्थानीय तहले हरेक वर्ष सडक निर्माणको लागि करिब ५० लाख बढी बजेट बजेट विनियोजन गरिरहेका छन् ।

Gorkha patra

You might also like