अल्छीपना कसरी हटाउने ?

0
दिनानाथ पौडेल ,बर्दघाट १३  के कारणले अल्छी बनिन्छ ? यो प्रश्न कुनै न कुनै वेलामा हरेक मानिसको मस्तिष्कमा आउदछ । यस्तो प्रश्न उब्जनुको कारण हो हरेक मानिस कुनै न कुनै वेलामा आफूलाई अल्छी भएको महसुस गरेको हुन्छ । पैसाले पैसालाई तान्छ भने झैं आल्छीपनाले अल्छीपनालाई जन्माउछ ।  आज केहि  गर्न मन छैन बिस्तारामा सुत्ने हो भन्ने भनाईभित्र अल्छीपनाको विज अंकुराएको बुझ्न सकिन्छ । सक्रियता, जोश, जागर एवं  उमङ्गमा आउने कमीसंगै अल्छीपनाको जन्म हुन्छ । पढ्ने बिधार्थीदेखि पैसा कमाउने व्यापारीको जीवनलाई यसले नराम्रै असर पारेको हुन्छ । वा अझ भनौँ, मानीसको जीवन असफल हुनुको एक प्रमुख कारण अल्छीपना पनि हो । यसले उमङ्ग चुसिदिन्छ धेरै बेर काम गर्न बाध्य पारीदिन्छ । स्वावलम्बी नभई परनिर्भर बनाइदिन्छ । कुनैपनि व्यक्तिका पारिवारिक, शैक्षिक  पेशागत सम्बन्धलाई तोडिदिन्छ । सफलता चुम्नबाट मानिसहरुलाई रोक्ने अल्छीपनाबाट कसरी मुक्त हुन  सकिन्छ त भन्ने सवालमा धेरै मानिसहरुले आफ्ना आफ्ना बिचारहरु राखेका छन् । यहा भने पढाईप्रति रुची नदेखाउने वा भनौँ किताव पढ्न अल्छी गर्ने बिधार्थीहरुले यसलाइ पराजित गर्नका निम्ति अबलम्बन गर्नुपर्ने कुराहरुलाई बुदागत रुपमा व्याख्या गरिएको छ ।१    पढाईप्रति सकारात्मक सोच राख्न सकेमा अल्छीपनाबाट मुक्ति मिल्दछ । वास्तवमा भन्ने हो भने सकारात्मक सोच नै कुनैपनि कामको निम्ति उर्जा हो । यसले असम्भव जस्तो लाग्ने कुराहरुलाई पनि सम्भव बनाइदिन्छ । विधार्थीले अध्ययनपछि सुन्दर भविष्य हुने विश्वासकासाथ किताव पढ्नु पर्दछ । पढेर सफल भएका व्यक्तिहरुको जीवनबाट प्राभावित हुन् सकेमा पढाइप्रति जोस बढ्दछ, अल्छीपना हराउदछ । घरीघरी सकारात्मक आत्म सम्बाद गर्नु पर्दछ । पढाइको परिणाम हेर्नु पर्दछ ।  पढेर सफल भएका व्यक्तिहरुको जीन्दगी जस्तै आफ्नो जिन्दगी बन्ने कल्पनामा आफ्नो सुन्दर तस्विर सजाउन सक्नु पर्दछ । यसो गर्न सकेमा पढाइप्रतिको तिब्र इच्छा बढेर जान्छ ।

२    अध्ययनको लागि शान्त वातावरण हुनु अपरिहार्य हुन्छ । एकान्त ठाँउमा पढ्दा बुझिने हुदा पढ्न मन लाग्दछ । परिवारभित्रको वातावरण अशान्त छ भने बिधार्थीहरुलाई पढ्न मन लाग्दैन । आमाबुवाको सम्बन्ध राम्रो छैन भने सन्तानहरुले पढ्न सक्दैनन् । अभिभावकहरुले दिनमा थोरै समय भएपनि नियमित रुपमा किताव पढ्दा बच्चाहरुलाई पढ्न प्रेरणा मिल्दछ । पढ्दा असजिलो हुने गरी गरी कहिल्यै बस्नु हुदैन । बिस्तारामा बसेर वा सुतेर पढ्नु हुदैन । पढाइमा रुची राख्ने साथीहरुसंगको संगतले अध्ययनप्रति मोह बढाउदछ ।

३    विधार्थीले म जत्तिको जान्ने अरु कोहि छैन भन्ने भावना त्याग्नु पर्दछ । कहिल्यै पनि आफू पूर्ण भएको घमण्ड गर्नु हुदैन । सदैव प्रतिस्पर्धी भावना राख्नु पर्दछ । जीवनमा धेरै पटक प्रतिस्पर्धाको मैदानमा उत्रनु पर्दछ भन्ने कुरालाई आत्मसात गर्नु पर्दछ । आफ्नो मेहेनत पुगेन भने अरु कसैले जित्न सक्छन भन्ने भाव राख्नु पर्दछ । यस्तो सोचले नियमित रुपमा पढ्ने बानीको विकास हुन्छ । नियमित पढ्दा मष्तिस्कका स्नायुहरु सक्रिय हुने हुदा अल्छी, आलस्यतापन हराएर जान्छ ।

४   पढाइप्रति अल्छी लाग्नुको एक प्रमुख कारण अध्ययन गर्नुपर्ने विषयवस्तुलाइ व्यवस्थापन गर्न नसक्नु हो । बिषयगत रुपमा गर्नुपर्ने गृहकार्य तथा अध्ययनको प्रस्ट योजना बनाइ पढ्दा सहज हुन्छ । पढ्नु पर्ने बिषयलाई क्रमशः सरलबाट जटिलतिर लैजानु पर्दछ । सरल बिषयवस्तुले मनमा खुसी पैदा गरिदिन्छ, अनि ध्यान पनि केन्द्रित हुन्छ । दिमागमा अनावश्यक दवाव पैदा हुदैन । अफ्ट्यारो लाग्ने विषयवस्तुबाट सुरु गर्दा अत्यास र वेचैनी हुन् सक्दछ । त्यसैले बिधार्थीहरुले गृहकार्य गर्दा आफूले जान्ने वा मन पर्ने विषयबाट सुरावात गर्नाले जाँगर बढेर आउदछ ।

५    प्राथमिकताका आधारमा कार्य विभाजन गर्न नसक्दा कतिपय बिधार्थीहरुले अपेक्षित सफलता प्राप्त गर्न असफल हुन पुग्दछन । असफलताले अल्छीपनाको जन्म दिन्छ । जतिपढेपनि आउदैन भन्ने भाव मनमा पैदा हुन पुग्दछ । परिणामस्वरूप, पढ्ने जागर मर्दछ, अल्छिपनाले जित्न पुग्दछ । यसर्थ, कुन बेलामा के काम गर्नुपर्दछ भन्ने कुराको हेक्का गरी प्राथमिकताको आधारमा अध्ययन गर्ने शैली अंगाल्द सफलता हासिल गर्न सकिन्छ । परीक्षाको वेलामा खेल्न जानु भन्दा कोठामा बसी अभ्यास गर्दा राम्रो अंक प्राप्त हुन् सक्दछ । अनि राम्रो अंकले बढी महेनत गरेर पढ्न हौसला दिन्छ । हौसलाले अल्छीपनालाई हराइ दिन्छ ।

६    मानिसको मष्तिस्क स्वभावैले विकेन्द्रित हुने प्रकारको हुन्छ । शरीर एक ठाउमा भएपनि मन अन्यत्रै पुग्दछ । पढदाखेरि बिधार्तीको ध्यान अन्यत्र जान पनि सक्दछ । परिणामस्वरूप, सिकाइ प्रभावकारी हुन सक्दैन । स्पस्ट अवधारणा बन्न सक्दैन । अस्पस्टताले मनलाई दोधार बनाउदछ । दोधारसंगै अल्छिपनाको जन्म हुन पुग्दछ । त्यसैले अध्ययन गर्दा एकाग्र भइ ध्यानलाई केन्द्रिकृत गर्न सक्नु पर्दछ । आँखा कितावमा हुने तर मन खेल मैदानमा हुदा सिकाइ राम्रो हुन् सक्दैन ।

७    आत्मअनुशासन बिधार्थीको महत्वपूर्ण गहना हो । अनुशासीत भन्दा पनि आत्मअनुशासित बिधार्थीले सबैको माया र सम्मान पाउदछ । माया र सम्मानले पुरस्कृत भाव पैदा गर्दछ । पुरस्कारले पढ्न प्रेरित गर्दछ । त्यसैगरी आफूले गरेको कामको आत्मपुनरावलोकन वा आत्म परिक्षण गर्नु पर्दछ । यसो गर्दा बिगतमा भएका गल्ती दोहोराउन पर्दैन । मानसिक प्रशन्नता प्राप्त हुन्छ ।

८    सुपाच्य भोजनले अल्छीपना हटाउदछ । कार्वोहाइड्रेट, प्रोटिन, मिनरल प्राप्त हुने सन्तुलित भोजन खानु पर्दछ ।  प्रोटिन प्राप्त हुने खाद्य पदार्थ जस्तै बदाम, ओखर, अण्डा आदिले  रक्तसंचारमा मद्दत गर्दछ भने गुलियो चिल्लो खानाले आलस्यता पैदा गर्दछ । आहार अनुसारको बिचार र स्वभाव हुने हुदा भोजनमा बिशेष ध्यान दिनु पर्दछ । खाने कुराहरु चिनेर खाने गर्नाले अल्छीपनाबाट मुक्ति पाउन सकिन्छ भन्ने कुरालाई मनन गर्नु पर्दछ । त्यसैगरी,नियमित कसरत, योग्याभ्यास  गर्नु पर्दछ । विहानको समयमा दैनिक रुपमा गरिने पैदल यात्रा, साइकल यात्राले सिकाइलाई उर्जावान बनाउदछ । झन्डै तीन लिटर पानी पिउनु पर्दछ । बिहान उठ्ने बित्तिकै मनतातो दुइ गिलास पानी पिउनु राम्रो मानिन्छ ।  एकैचोटी पानी पिउनु भन्दा समय समयमा थोरैथोरै पानी पिउनाले अल्छीपन, आलस्यता र झेउ लाग्नबाट बचिन्छ ।

९    पुस्तकालय सम्भव भएसम्म नियमित रुपमा जानु पर्दछ । पुस्तकालयमा जवानदेखि वृद्दहरुसमेतले एकाग्र भइ पढेको दृश्यले पढ्न अभिप्रेरित गर्दछ । भनिन्छ पढ्न मनै नभएकाहरु पनि पुस्तकालय गएपछि पढ्न थाल्छन । त्यसैगरी,  मानिसहरुले काम गरिरहेको ठाउमा जाने गर्दा पनि आफ्नो कार्यप्रति सम्मान भाव जागृत हुन्छ । मेहेनती हुन सिकाउदछ । पढ्न मन लाग्दछ ।

१०     सबेरै सुत्ने र सबेरै उठ्ने बानीले जोश, जागर र फुर्तिलोपन बढाउदछ । नियमित कम्तीमा ७ घण्टा सुत्नु आवश्यक हुन्छ । ठिक समयमा सुत्ने, उठ्ने, आराम गर्ने, खेल्ने, पढ्ने गर्नु पर्दछ । रिस, डाह, मोह, क्रोध जस्ता कुराहरुमाथिको  नियन्त्रणले सुखी र सन्तुष्टि बन्न सकिन्छ । खुसीले अल्छीपनामाथि सहजै बिजय हासिल गर्दछ ।

अल्छीपनाको लडाइमा कसैले चाडै बिजय प्राप्य गर्छ । कसैलाई केहि समय लाग्छ । हामी सबैले विश्वास गर्नु पर्छ यसलाई पराजित गर्न सकिन्छ । माथी भनीएका कुराहरु पालना गरौ अल्छीपना सन्चो भैसकेको बिगतको घाउ मात्र हुनेछ । सबै विधार्थीले ख्याल गरौं ।dautarifm

 

 

You might also like