लोकतन्त्र भर्सेज भोकतन्त्र

0

भेषराज घिमिरे

सायद कार्लमाक्र्सले नेपालको लोकतन्त्र देखेका भए उनी वर्ग संघर्षको सिद्धान्तलाई नयाँ शिराबाट व्याख्या गर्थे होलान्। पुँजीवादी शासन व्यवस्थाले आफ्नो खाल्डो आफैं खन्नेछ भन्नुको सट्टा जुनसुकै व्यवस्था पनि आफ्नै कारणले पतनको दिशामा जानेछ भनी पूरक व्याख्या आवश्यकता नै पर्ने थिएन। अरस्तुको क्रान्तिका सिद्धान्तहरू, प्लेटोको आदर्श राज्य, माओको सांस्कृतिक क्रान्ति र गान्धीको अहिंसावादी आन्दोलन त्यस समयदेखि अहिलेसम्मको सार्थक चिन्तन र वादहरू नै हुन् यद्यपि कुनै न कुनै रूपमा पूरक व्याख्याका लागि प्रतीक्षारत देखिन्छन्। नेपालको राजनीतिक प्रणालीका सन्दर्भमा पनि त्यो मनोदशा आकृष्ट भएको देखिन्छ। निरंकुश सत्तादेखि वर्तमान लोकतन्त्रसम्म यस्तै उद्देश्यका साथ जनताको बलिदानले स्थापना गरेको यो पद्धति राजनीतिक नेतृत्वका कारण जनतामाझ वितृष्णाजन्य हुन गइरहेको छ। लोकतन्त्रमा जनप्रतिनिधि जनता र संविधानप्रति जवाफदेही हुन पर्दैन ? लोकतान्त्रिक पद्धतिको दुरुप्रयोग कहिलेसम्म ?

कम्युनिस्ट सत्ता र भ्रम

नेकपा एउटा प्रभावशाली युवा नेता तथा मन्त्रीले संसद्मा भनेका थिए कि कम्युनिस्टको सरकार आएपछि नेपालका छोराछोरीले अघाउञ्जेल खानेछन्। भोकले मर्ने छैनन्। दिनमा ३–४ पटक मज्जाले खानेछन्। कति मीठा कुरा ती मन्त्रीज्यूको। उनै मन्त्री हुँदा किसान मल नपाएर हाहाकारमा परे। हुन त प्रायः नेताहरू सबै दलका उन्नत जीवनशैलीमा रमाएका छन्। त्यसमध्ये कम्युनिस्ट पार्टीका नेताहरू धेरै चिल्ला र नवधनाढ्य वर्गमा रूपान्तरण भइरहेको जोकोहीले अनुभूति गरेका छन्। संगत र उठ्बस ठेकेदारसँग तर पेसा राजनीति क्या काइदाको राजनीतिक संस्कृतिको विकास।

अझ भन्ने हो भने उनीहरूको भाषण र व्यवहारले जोकोही नेपालीलाई मूर्ख बनाइरहेको प्रस्ट हुन्छ। प्रायः कम्युनिस्ट नेताहरू भन्ने गर्छन्– जनजीविकाका सवालमा हाम्रो पार्टीेले क्रान्ति गर्छ, सर्वहारालाई सत्ताको मालिक बनाउँछ तर व्यवहारमा आफैं सामन्ती संस्कारको अभ्यास गर्छन्। अझ भन्ने हो भने आफ्ना पार्टी जनतासँग सधैं सँगै रहने भनी भाषण ठोकेर नथाक्ने कम्युनिस्टहरू खुलमखुला भ्रष्टाचारमा मुछिएका घटना दिनप्रतिदिन बाहिर आइरहेका छन् तर कार्यकर्तालाई आलोचना गर्न बन्देज लगाउँदैछन्। क्या, गज्जबको जनवादी केन्द्रीयता ?

पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्ने तर आफ्ना छोराछोरीको अमेरिकामा डीभी पर्दा ठूलाठूला फेसबुक स्टाट्स र गर्व गर्नेहरू कसरी कम्युनिस्ट हुन सक्छन् ? गाँस, बास र कपासको ग्यारेन्टी जनताका लागि हो कि पार्टी कार्यकर्ताका लागि ? अझै पार्टी नेताहरूलाई तलब दिने रे, कस्तो कम्युनिस्ट व्यवस्था जनताको चुलो बल्न छाड्यो तर नेताहरूको जीवनशैली युरोपियन शैलीको हुँदै छ। कम्बल ओडेर घिउ कहिलेसम्म खाइरहने ? सर्वहाराको पार्टी तर बालुवाटारका जग्गा ताक्ने कसरी कम्युनिस्ट हुन सक्छन् ?

निरीह प्रशासनमा भाले नेतृत्व

म्याक्स वेवरको कर्मचारीतन्त्र नेपालका लागि लेखिएको सिद्धान्त होइन रहेछ जस्तो लाग्दैछ। उनले त लेखेका थिए कि नैतिकवान्, क्षमतावान् विज्ञहरूको जमात ब्युरोक्रेसी हो भनेर तर नेपालको सन्दर्भमा कर्मचारीतन्त्र अल्छी संगठनको पर्यायवाची बनिरहेको छ। कुनै सिर्जनशीलताको नामै छैन। उत्साह र जाँगर पनि नभएका, सुविधाभोगी सुकिलामुकिलाहरूको संगठन भएको छ कर्मचारीतन्त्र। यसरी सांगठनिक बदनाम गर्ने श्रेय तिनै संगठनका नेतृत्वहरूमाथि जान्छ। आफ्नै दैनिक लाभलाई प्राप्त गर्न राजनीतिक हस्तक्षेपलाई खुलमखुला आमन्त्रण गरिरहेका छन्।

भाले नेतृत्व भनेको एउटा यस्तो संस्कृति हो, जसले संगठनलाई निरीह बनाउँदै छ र त्यस्तो नेतृत्व आफैं राजनीतिक गोटी बनिरहेको हुन्छ किनकि रिटायर्डको एक दिनअगावै राजदूत, आयोगको अध्यक्ष या कुनै महत्वपूर्ण लाभ प्राप्त गर्न ऊ तल्लीन रहेको हुन्छ। पुँजीगत खर्च गर्न नसक्ने, सुव्यवस्था बिग्रँदो, महिला हिंसा बढ्दो समग्र समाज अधोगतितिर अनि के औचित्य छ यस्तो प्रशासनको ? जनतालाई लाइनमा राखेर थकाउने र गलाउने एउटा सञ्जालजस्तै भएको छ कर्मचारी प्रशासन। प्रिय प्रशासकहरू दुईथरी कुरा नगर्नुस् किनकि तपाईंले गरेको व्यवहार एउटा पक्कै गलत हो। तपाईंले परीक्षामा लेखेका कुरा र तपाईंको कार्यशैली किन एउटै हुन सक्दैन ?

अबको प्रश्न तपाईंहरूप्रति पनि निरन्तर आइरहने छ। भिन्सेन्डी गोर्नेले तपाईंहरूको प्रवृत्तिविरुद्ध लगाएको आरोपलाई चिरफार गर्ने कि सत्यताको पुस्ट्याइँ गर्ने ? सायद थोरै समयले तपाईंहरूलाई पर्खिरहेको हुन सक्छ। जनताको स्वीकारोक्तिसँग औचित्यता पुस्ट्याइँ गर्दै कार्य गर्नु होला अन्यथा आफ्नो संगठन बद्नाम हुने अनि तपाईंचैं सम्मानित पदाधिकारी व्यक्ति हुने भन्ने नै हुँदैन।

भुईंमान्छेहरूका कथा

अहिले सर्वसाधारणको अवस्था चटकेले भालु नचाएर तमासा देखाएजस्तो छ। कामको खोजीमा बिदेसिएका नेपाली कोभिड महामारीका कारण आफ्नो देश भन्दै पराई भूमिबाट महाकाली नदीमा हाम फालेर नेपाल प्रवेश गरे तर विडम्बना सरकारी संयन्त्रले नांगै बजार घुमायो। भेडाबाख्राजस्तै विद्यालयमा थुनेर राखियो तर घरमा चुलो बल्न छाडेको, छोराछोरीको फी तिर्न नसक्दा, बिरामी हुँदा औषधिमूलो नपाएर लाचार भई कर्मभूमि भारततिर दिनहुँ प्रस्थान गरिरहेका छन्। टीभीका समाचार हेर्दा गौरीफन्टा नाकामा भारततिर जानेको लावालस्कर देखिन्छ। उनीहरूका काखमा ससाना नानीहरू पिठ्युँमा झोलाहरू। धिक्कार छ सरकारलाई। जसले उनीहरूलाई यस विषम परिस्थितिमा पनि देशमा रोक्ने प्रयत्न गरेनन्। अझ उनीहरूको घेरा फाटेको शिरको टोपी देखिन्छ त्यसका साथै लगत्तै अर्को समाचार आउँछ, झलनाथ फाउन्डेसनलाई सत्तरी करोडको सर्प पाल्न अनुदान।

भन्न त मन लाग्छ ए सर्वहाराहरू हो कति लाचार भएका अब त बोल न, कति सहन्छौ ? संघर्षका लागि पटकपटक नेताको पछि लाग्यौ अब त आफ्ना लागि संघर्ष गर। तिम्रो जिन्दगी कुल्ली र दरबान भई भारतमा बित्यो। तिम्रो जबानी खाडीमा भेडा चराउँदै बित्यो के तिमी सधैं दास बनिरहनका लागि हौ ? तिमीहरू आफैं हेर त ? आफ्ना परिवारका सदस्यहरूको औषधिमूलो कति महँगो छ ? विद्यालयको फी बढ्दो क्रममै छ तर तिमीहरूलाई थाहा छ कि छैन शिक्षा र स्वास्थ्यमा व्यापारिक लगानी तिमीले भोट हाल्ने नेताहरूकै छ। त्यसकारण त उनीहरू शिक्षा र स्वास्थ्य पूर्णरूपमा सरकारी बनाउन चाहँदैनन्। गोविन्द केसीले कहिलेसम्म तिम्रा लागि अनशन बसिरहने ? अब त बोल। प्रश्न गर किन यति धेरै फरक ? पटकपटक प्रश्न गर। जहाँ देख्छौ त्यहीं प्रश्न गर तपाईंका ती चिल्ला गाडी कहाँबाट आए। त्यस्तो धनसम्पत्ति कसरी सम्भव भयो नेताज्यू ? अब ढिला नगर। तमासा कहिलेसम्म ?

भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे भई कहिलेसम्म तमासा देखाइरहने हो नेपाली राजनीतिक प्रणालीले। भोकले जनता पिरलिरहेका छन् तर शासकहरूको सुखसयल बढ्दो छ। पार्टीका नाममा जनता लडाउने अनि सत्ताको मालिक बनिरहने दाउमा नेपालको लोकतन्त्रले पदचाप पछ्याइरहेको छ। आफ्नो देशको रैथाने संस्कृति भत्काउने अनि पैसाको बलमा पश्चिमी संस्कृतिको अनुकरण गर्दै आधुनिक बन्ने होडमा नेतृत्व रहेसम्म सर्वसाधारणको आर्थिक अवस्थामा सुधार आउने देखिँदैन। अकारण महिला जिउँदै जलाइरहन्छन् तर शासक–प्रशासक रमिते बन्छन्। कस्तो लोकतन्त्र स्थापित गर्‍यौं हामीले ?

राजनीतिका नाममा ठेकेदारहरूको हालीमुहाली रहेको छ। कुनचाहिँ नेता र कुनचाहिँ बिचौलिया छुट्ट्याउनै मुस्किल छ। अब त बोल, प्रश्न गर कि हाम्रो पसिनाको मूल्य खोइ ? हाम्रो कुषिउपजको ग्यारेन्टी किन हुँदैन ? संविधानमा लेखिएजस्तै शिक्षा, स्वास्थ्य निःशुल्क खोइ ? जुन दिन यी प्रश्न सम्पूर्ण सर्वसाधारणले गर्नेछन् त्यसपछि नेपालको राजनीतिक परिदृश्यमा बदलाब आउनेछ र नेपालको लोकतन्त्रले आफ्नो भोकतन्त्रप्रति जवाफदेही बन्नेछ अनि डा. गोविन्द केसी पुनः अनशन बस्नुपर्ने छैन। अब गोविन्द केसी मात्र होइन, आम नागरिक सरकारविरुद्ध भोक हड्तालमा बस्नुपर्ने दिन आएको छ। किनकि नागरिकको उपचार गर्न सक्दिन भनेर पन्छिएको छ। सिंगो मुलुक महामारीको चपेटामा परेका बेला त्यसको समाधानमा सिंगो शक्ति र बजेट खर्चनुपर्नेमा उल्टो नागरिकप्रतिको दायित्वबाट हात झिक्ने सरकार कसरी कम्युनिस्ट हुन सक्छ ? कतै यस्तै गैरराजनीतिक र अनैतिक क्रियाकलाप दोहोर्‍याएर व्यवस्थाको वदनाम त गरिँदै छैन ?…Annapurna post

You might also like