संक्रमण घटेको भन्दैमा हेलचेक्‍य्राइँ गर्नु हुँदैन

0

डा. दिनेश न्यौपाने  

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा करिब १ करोड ५० लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ६ लाख २० हजार भन्दा बढीले यही संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिलेसम्म न यो संक्रामक रोगविरुद्ध खोप पत्ता लगाउन सकिएको छ, न त प्रभावकारी उपचार नै पत्ता लागिसकेको छ ।

नेपालमा मात्रै करिब १८ हजार संक्रमित पत्ता लागेका छन् भने ४२ जनाले ज्यान गुमाइसकेका छन् । गैरआवासीय संघ नेपालका अनुसार नेपालबाहिर रहेका १ सय ६० जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ ।

पछिल्लो समय संक्रमितहरूको संख्या उल्लेख्य रूपमा वृद्धि नभएको तथा निको हुनेको संख्या बढ्दै गएको र मृत्यु हुनेहरूको संख्या कम देखिएकोले धेरै जनाले यसलाई गम्भीर रूपमा लिन छाडेको जस्तो देखिँदै गएको छ । यी तथ्यांकलाई आधार मानेर हेलचेक्‍य्राइँ गर्नु हुँदैन । अहिले पनि कोरोन भाइरसविरुद्धको लडाइँ पहिलेभन्दा अझ सशक्त पार्दै लैजानुपर्ने देखिन्छ ।

नेपालमा अहिले पनि ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । यो रोग छोटो समयमै धेरै जनामा सर्ने भएकाले यो संख्यामा निमेषमा नै गुणात्मक रूपले धेरै वृद्धि हुन सक्छ । जति संक्रमित प्रयोगशाला परीक्षणबाट पत्ता लागेका छन् त्यो नै जम्मा संक्रमितको संख्या हो भन्ने बलियो आधार केही पनि छैन । अहिले नेपालमा औसतमा दैनिक करिब ५ हजार जनाको पीसीआर टेस्ट भएको छ । अहिलेको अवस्थामा यति संख्यामा मात्र टेस्ट गरेर हामी सबै संक्रमितको पहिचान गर्न सक्ने अवस्थामा छैनौं । अमेरिकामा पनि यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जम्मा पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित भएको भनेर अनुमान गरेको छ । हाम्रोमा पनि धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् ।

विश्वका अरू देशहरूको भन्दा नेपालमा मृत्यु हुनेको संख्या धेरै मात्रामा कम छ । तर यो किन भइरहेको छ भनेर बुझ्नका लागि हामीले कति मात्रामा प्रयोगशालामा परीक्षण गरेका छौं, कस्ता व्यक्तिहरूको परीक्षण गरेका छौं, कन्ट्याक्ट ट्रेसिङ कति प्रतिशतको गर्न सकेका छौं लगायतका विभिन्न आयामको सूक्ष्म विश्लेषण गर्नु जरुरी हुन्छ । अहिले नै हाम्रो खानपान, जीवन पद्धति र वैकल्पिक चिकित्सा विधिले गर्दा हाम्रोमा मृत्यु हुनेको संख्या कम भएको भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ । बरु यस्तो किन भइरहेको छ भनेर यसलाई घनीभूत रूपमा अध्ययन र अनुसन्धान गर्नु अहिलेको आवश्यकता देखिन्छ ।

हालसम्मको अवस्था हेर्दा कोरोना भाइरसका कारण मृत्यु हुनेहरू धेरै उमेर र कुनै न कुनै दीर्घरोगले पीडित भएकाहरू नै बढी मात्रामा छन् । हाम्रो जनसंख्याको संरचनामा धेरै युवा अवस्थाका भएकाले अन्य देशहरूको तुलनामा मृत्यु हुनेको प्रतिशत कम भएको अनुमान गर्न सकिन्छ । तर यसको अर्थ यो होइन कि हाम्रोमा कोरोना भाइरसले क्षति गर्ने जोखिम समूह नै सानो छ । नेपालमा अहिले पनि करिब १६ लाखजति जनसंख्या ६५ वर्षमाथिको छ । हरेक ४ जना वयस्क व्यक्तिमध्ये एक जनालाई उच्च रक्तचाप छ भने हरेक १० जनामा १ जनालाई मधुमेह रोग छ । उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगीहरूमा कोरोना भाइरसको मृत्युदर उच्च देखिएको छ ।

जस्तो नेपालमा अहिलेसम्म पत्ता लागेका संक्रमितहरूमध्ये ९० प्रतिशतभन्दा धेरै १५ देखि ५४ वर्षसम्मका छन् । यो समूहमा मृत्युको दर अरू देशमा पनि कम नै छ । साथै धेरै संक्रमितमा अरू प्रकारका रोग छैनन् । विकसित देशहरूमा कसैको मृत्यु भएमा मृत्युको कारण चिकित्सकद्वारा प्रमाणीकरण गरेर मात्र शवको दाहसंस्कार गरिन्छ । यसले गर्दा यी देशहरूमा संक्रमित सबैको पहिचान हुन नसके पनि कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको संख्या धेरै हदसम्म पत्ता लाग्छ । हाम्रोमा अहिले पनि अधिकांश मृत्यु घरमै भएको पाइन्छ । उनीहरूको दाहसंस्कारका लागि चिकित्सकले अनिवार्य रूपले मृत्युको कारण प्रमाणीकरण गर्नुपर्दैन । यसले गर्दा पनि हाम्रोमा मृत्यु हुनेको संख्या कम देखिएको हुन सक्छ ।

साथै, विदेशमा जस्तो ज्येष्ठ नागरिकलाई हाम्रो देशमा नर्सिङ होमहरूमा खासै राख्ने गरिँदैन । यसले गर्दा पनि यो रोग विकसित देशको तुलनामा हाम्रोमा उच्च जोखिम समूहमा बिस्तारै फैलिँदै गएको पनि हुन सक्छ । तर यसै कारणले गर्दा क्षति निकै कम होला भनेर भनिहाल्नसक्ने अवस्थाचाहिँ छैन । पछिल्लो संक्रमणले धेरै प्रभावित भएका भारतलगायत अरू दक्षिण एसियाली देशहरूको जनसंख्याको संरचना पनि लगभग हाम्रो जस्तै छ । यसैले अहिले कोरोना भाइरसको रोकथामलाई सबै पक्षले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

-डा. न्यौपाने अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत छन् ।

Kantipur

You might also like