बर्दघाट नगरपालिकाले थाल्यो आगामी बजेटका लागि सुझाव संकलन

राजनैतिक दल संग सुझाव माग्दै

0

नवलपरासी २९ जेठ – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि बजेट तयारीको सम्बन्धमा सुझाव संकलन कार्य शुरु गरेको छ । नगरमा क्रियाशिल राजनैतिक दलहरुको सर्वदलीय बैठक आयोजना गरी नगरले सुझाव संकलन शुरु गरेको हो ।
विहीवारबाट शुरु गरिएको सुझाव संकलनलाई असार ८ गते सम्म जारी राख्ने बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । उहाँका अनुसार सामाजिक संघसंस्था तथा ब्यक्ति एंव सबै सरोकारवालाले नगरपालिकाको बजेटका लागि सुझाव दिन सक्ने जानकारी दिनुभयो ।
उहाँले आएका सुझावलाई प्राथमिकताका आधारमा ग्रहण गर्दै कार्यान्वयन गर्ने योजना रहेको बताउनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरले आन्तरिक रुप बजेटको तयारीका कामहरु गरेको र राजस्व परामर्श समिति तथा बिभिन्न समितिहरुका बैठक सम्पन्न भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष गोपाल पाण्डेले नगरपालिकाले दलहरुसंग सुझाव मागेकाले बैठकमा केही सुझावहरु दिइएको र बजेट ल्याउनू अघि दलहरुका तर्फबाट सुझाव दिने गरी छलफल भएको बताउनुभयो । बैठकमा बजेटमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बिषयमा समेत सुझाव दिइएको पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै नगरले विहीवार गरेको सर्बदलीय बैठकमा सुझाव संकलनको लागि दलहरुलाई प्रस्ताव गरेको र बैठकमा ७ दलका प्रमुख तथा प्रतिनिधि सहभागी भएको क्रान्तिकारी माओवादीका नगर सेक्रेटरी रामचन्द्र पोखरेलले बताउनुभयो ।
बैठकमा नेकपाका नगर अध्यक्ष ईन्द्र कुमार राना , नेपाली काँग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ, जनता समाजवादी पार्टीका गोपाल पाण्डे, राप्रपाका प्रकाश रायमाझी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम राना क्रान्तिकारी माओवादीका रामचन्द्र पोखरेल सहभागी हुनुभएको थियो ।

You might also like