पर्म परेलीले धानेको रोपाइँ
स्मिता अधिकारी
पोखरा महानगरपालिका वडा नं ३१ बेगनासकी ५० वर्षीय भगवती कँडेलले आफ्ना छिमेकीसँग रोपाह साइनो (परेली ÷पर्म) गाँसेको ठ्याक्कै ३५ वर्ष बित्यो । १५ वर्षको उमेरदेखि उहाँको पर्मसम्बन्ध अहिले पनि उस्तै छ । बाल्यकालदेखि लत बसेको काम, छिमेकीले खेत रोप्न बोलाउँदा न नाइँ भन्न सक्नुहुन्छ न आफूसँग भएको खेतमा धान नरोपी बस्न सक्नुहुन्छ । कँडेल भन्नुहुन्छ – खेती नगरे पनि खान लाउन खासै गाह्रो छैन तर धान रोप्न भने छोडिएको छैन । छोराछोरी हुर्काइञ्जेल पूर्णरूपमै खेतीपातीमै भर पर्नुभएको थियो उहाँ । अहिले छोराछोरीले जागिर खान्छन्, आफ्ना पेशा व्यवसायमा व्यस्त छन् तर हरेक वर्ष वर्षायाम सुरु हुनेबित्तिकै उहाँको घरमा रोपाइँको पुरानै रौनक सुरु हुन्छ ।
स्थानीयस्तरमा अहिले रोपाइँको माहोल छ । स्थानीय किसानहरू अरूको रोपाइँमा खेतालाको रूपमा जानेक्रममा होस् या आफ्नो घरको रोपाइँमा उत्सवकै रूपमा मस्त, व्यस्त देखिन्छन् । रोपाहार भएर जानुपर्ने, आफ्नो खेत रोपाइँको दिन तोकेर सोही अनुसार परिवारका सदस्यको कार्यतालिका बनाउनु, रोपाइँका लागि खर्चको जोहो गर्नु र खेताला (हली – बाउसे) सँग आफ्नो खेतका लागि समय सुनिश्चित गर्नु उनीहरूको दिनचर्या हो । सुरु हुन्छ, रोपाइँ दैनिकी– बिहान आठ बजे भातभान्छा सकेर छिमेकीको खेततिर लाग्नु, मेलो भ्याएर बेलुका ६ बजे घर फर्कनु अनि भोलिका लागि आफ्नो पर्मसम्बन्ध भएका छिमेकीसँग समय सुनिश्चित गर्नु वर्षाभरको दिनचर्या हो ।
उत्ति–उत्ति दिनको मेलो, एक–एक गोरु, बाउसे र रोपाहार पनि समान हुने दुई परिवारले चाहिँ परेली लगाउँछन् । परेली सम्बन्धमा यी परिवारको रोपाइँ नसकेसम्म वा फुर्सदको दिन नमिलेसम्म अरूकहाँ अर्मपर्म गर्न जाँदैनन् । कुनै परिवारलाई अतिरिक्त श्रमशक्ति चाहिएको अवस्थामा अर्मपर्मबाटै काम चलाइन्छ ।
आर्थिक उपार्जनका अन्य विकल्प र बसाइँसराइसँगै जग्गाजमिनको मात्रा बर्सेनि घट्दै गएको छ तर धान रोप्ने तरिका धेरै ठाउँमा उही नै भेटिन्छ । रोपाइँका बेला छिमेकीसँग अर्मपर्मको सम्बन्ध तोड्न नसकेकाले प्रायः गाउँघरतिर धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । श्रम साट्ने प्रचलन जसलाई स्थानीय भाषामा (पर्म वा परेली) भनिन्छ को सम्बन्ध तोड्न स्थानीय किसानहरू चाहँदैनन् । यही सम्बन्ध दिगो भएकाले खेतीपातीबाट छुट्न नपरेको विश्वास गर्छन् उनीहरू । “सगोलका परिवारका सदस्य लाखापाखा लागेपछि, जग्गाजमिनको मात्रा घट्यो, अन्य खेतिपाती छोडियो तर पर्म सम्बन्धकै कारण खेत रोपाइँ भने छोड्नुपरेको छैन” भगवती कँडेल भन्नुहुन्छ । अर्मपर्मकै कारण पुस्तौँदेखिको छिमेकी सम्बन्ध आफ्नै परिवारसरह हुने गरेको उनीहरू बताउँछन् ।
रोपाइँका दिन पोखरामा प्रायः किसानका घरमा एउटै रौनक देखिन्छ– घरका जहान बिहानै उठेर नुहाइधुवाइ गर्छन् । कोही घर सफा गर्नतिर लाग्छन्, कोही प्रसाद पकाउन, कोही फूलअक्षता तयार गर्नतिर लाग्छन् । यी सबै क्रियाकलाप रोपाइँको पूर्वसन्ध्यामा कुलदेवता वा आफ्नो खेतबारीमा पुर्खाले स्थापना गरे विशेष देवताको पूजाआजाका लागि गरिन्छ । परिवारको एक जना सदस्यले देवताको पूजा आराधना गरेपछि सबै खेतालालाई अक्षता लगाइदिन्छन् । त्यसपछि खेताला खेतमा पस्छन् । ‘कुलदेवतालाई सम्झिने मुख्य उत्सव नै रोपाइँ हो हाम्रोमा’, पोखरा महानगरपालिका वडा नं ३० मोहोरियाकी किसान ६५ वर्षीय बाटुली सापकोटा भन्नुहुन्छ । सापकोटाको अनुभवमा, छिमेकीसँगको पर्म सम्बन्ध नभएको भए, यो जमानामा खेतबारीमा काम गर्ने ज्यालादारी खेताला पाउन मुस्किल नै हुनेथियो ।
पोखरा बेगनासकै अर्का किसान ६० वर्षीय राजकुमार त्रिपाठीले वर्षायाममा कम्तीमा १५ दिन रोपाइँको मेलापातलाई छुट्याउने गर्नुभएको छ । उहाँसँग पाँच हल अर्थात् करिब १२ रोपनी खेत छ । यो खेतको रोपाइँ भ्याउनका लागि उहाँले लगभग उत्ति खेत भएका चारवटा घरसँग ‘पर्म’ लगाउनुभएको छ । वर्षमेलोका लागि छुट्याएको समय ती सबैको खेतको मेलो आलोपालो गर्नमै बित्छ । उहाँले चाहने हो भने खेताला झिकाएर दुई दिनमै आफ्नो खेतको रोपाइँ भ्याउन सक्नुहुन्छ तर अहिलेसम्म त्यसो गर्नुभएको छैन । “पुस्तौँदेखि पर्म चल्दै आएको हाम्रो गाउँमा हत्तपत्त ज्यालादारी खेताला खोजिएको छैन” त्रिपाठीले सुनाउनुभयो । सामान्य मजदुरीका लागि सरकारले तोकेभन्दा बढी दर प्रायः गाउँमा गाउँलेहरूले निर्धारण गरेका छन् । तैपनि ज्यालादारीभन्दा अर्मपर्म नै गाउँलेहरूले रुचाएका छन् । कास्कीको ढिकुरपोखरीका ५० वर्षीय किसान ऋषिराम अधिकारी भन्नुहुन्छ– पुस्तैनी पद्धतिकै रोपाइँ माहोल रुचाउने परिपाटी छ हाम्रोमा ।
करिब १५ वर्षको उमेरदेखि मेलापात गर्न सुरु गर्नुभएकी कास्कीको अन्नपूर्ण गाउँपालिका शेराचौरकी ४९ वर्षीया लक्ष्मी अधिकारीले दुईपटक बाहेक अहिलेसम्म ज्यालादारीमा मेलापात गर्नुभएको छैन । उहाँको विचारमा पुस्तैनी घर खेतको ‘लच्छिन’ भनेको धान रोपाइँ हो । सार्वजनिक खरिद ऐन अनुरूप मजदुरको दैनिक ज्याला कानुनले नै तोकिदिएको छ । कृषिको हकमा पनि दक्ष तथा प्राविधिक अर्थात् हली र बाउसेका लागि एक हजार ५० रुपियाँ र रोपाहारका लागि रु. ७०० तोकिएको छ तर कतिपय गाउँमा खेताला मुस्किलले पाइने हुँदा योभन्दा बढी दर राखिएको छ । यद्यपि स्थानीय किसानहरूको करिब ८० प्रतिशत रोपाइँ अर्मपर्ममै चलेको भेटिएको छ ।
गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत ज्योति क्षेत्रीले भन्नुभयो ‘ज्यालादारीभन्दा आपसी मेलमिलापमा अर्मपर्म नै बढी चलनचल्तीमा रहेको विभिन्न अनुगमनका क्रममा हामीले भेटेका छौँ ।’
(लेखक पत्रकार हुनुहुन्छ ।)
GOrkha patra