गुरुपूर्णिमा, गुरु र गुरू मन्त्र

0

डा. नम्रता पाण्डे

असार २१, २०७७

यह तन विषकी बेलरी गुरू अमृतकी खान             सीस दिए जो गुरू मिले तो भी सस्ता जान !             -कविर सन्त कविर भन्नुहुन्छ वास्तवमा मानिसको शरीर त विषले भरिएको छ। विष अर्थात् अनावश्यक फोहोर,अनर्गल,नकारात्मक विचार,अहंकार र लोभ,मोहरूपी चाहना र अपेक्षा। गुरू पनि शरीरमा हुन्छन् तर उनको शरीरमा अमृतको खानी भेटिन्छ। अमृत अर्थात् आत्मज्ञानले भरिएको निर्मल, शुद्ध, पवित्र सोचाई र प्रेमपूर्ण भावना पनि गुरु हो । आफ्नो शिर नै चढाएर पनि सद्गुरू भेट्न पाए यो शिरको मूल्य पनि सस्तो नै पर्न जान्छ। यसको वास्तविक अर्थ यहि हो कि जुन जीवन हामीले बाँचेका छौं र जुन ज्ञान प्राप्त गरेका छौं त्यतिले पुगेको छैन। हाम्रो आन्तरिक ज्ञान आर्जनको लागि र यो रहस्यमय जीवनको सार थाहा पाउन सद्गुरूको मार्गनिर्देशन आवश्यक हुन्छ। मानिसको खोज के हो गुरू बताउन सक्छन् जीवन जिउने कला र शैली सबैका आ–आफ्नै हुन्छन्। आफ्नै जीवन र कर्मसँग दिक्दार हुनेहरूको संख्या पनि कम छैन। हाम्रो खोज, जीवनको उद्देश्य के होला त भनेर कसैलाई सोध्यो भने– नास्तिकले सीधा जवाफ दिन सक्छ– मेरो जीवनमा केहि खोज छैन। भएपनि केहि उद्देश्य छैन। आस्तिक व्यक्तिले अनेक प्रश्न र तर्क तेर्स्याउन सक्छ। मेरो भागदौड र जीवनमा पाउन चाहेको कुरा अर्थात् मेरो खोज के हो र यो सही छ कि छैन थाहा पाउन गुरूको सानिध्य आवश्यक पर्छ। कसैको भोगाइको कथाले मात्र पूर्ण हुँदैन। कतै नरोकिई निरन्तर केही प्राप्तिका लागि तन्मय हुनु नै खोज हो। भौतिक विकास होस् या विज्ञानको विकास कहाँ गएर टुंगिने हो भन्ने आँकडा निकाल्नै सकिन्न। मानिसले विज्ञानको सहाराले एकपछि अर्को के–के आविष्कार गरिसक्यो तर पनि थाकेको छैन। सृष्टि बदलेको छ मानिसले तर आफ्नो दृष्टि बदल्न सकेको छ कि छैन ? अहम् प्रश्न यहि होI शारिरीक आवश्यकता पूरा गर्न लागिपर्नु नै आफ्नो खोज हो कि भन्ने भ्रम धेरैलाई हुन सक्छ। यसले जीवनमा दु:ख निम्त्याउँछ। बुद्धले भन्नुभएको छ- मानिस गरिब छैन तर धनी बन्ने आकांक्षाले गरिव बनाउँछ। तृष्णा छुट्यो भने अमिरी अनुभव हुनथाल्छ। जीवनमा सबै कुरा प्राप्त गर्ने व्यक्तिहरू पनि खुसी र आनन्दित हुन सकेका छैनन् त्यसैले सांसारिक चाहना पूर्ति मात्र मानिसको खोजी होइन रहेछ। क्षणमै खुसी, क्षणमै दु:खी, क्षणमै गुनासो त क्षणमै तनाव यो त मानिसको स्वभाव होइनI यस्ता कुरालाई साक्षी भएर हेर्ने आफ्नो सत्य थाहा पाउनु मानिसको खोज हो। सद्गुरूले यसलाई अनुभवबाट पुष्टि गरेर व्याख्या गरेका छन्I ओशोले यहि खोजलाई एउटा बोध कथा मार्फत प्रस्तुत गरेका छन् – कुनै राज्यमा नागसेन नामका भिक्षु सधैं मस्त, आनन्दमा रहन्छन्। उनलाई कुनै लोभ लालच पनि छैन, न त कुनै चिन्ता, संधैं प्रसन्न छन् रे भन्ने कुरा राजाले थाहा पाएपछि, सधैं राज्य जित्ने चिन्तामा रहेका राजालाई नागसेनसँग भेट्ने इच्छा भएछ। राजाले मन्त्रीलाई नागसेनकहाँ गएर एकदिन राजालाई भेट दिनु रे भनेर अह्राए। मन्त्री नागसेन कहाँ पुगे र प्रणाम गर्दै नागसेनलाई सोधे– हजुर नै हुनुपर्दछ नागसेन भिक्षु। नागसेनले भने म नागसेन होइन। मन्त्री अलमलमा परे। नागसेन उनै हुन् तर होइन भन्छन्। मैले राजाको तर्फबाट निम्तो दिएँ, अब नागसेन होइन किनभने त्यो कुरा दरवारमा गएर राजालाई नै बिन्ती गर्नुपर्ला भनी मन्त्री नागसेनबाट बिदा भए। दरवारमा पुगेर नागसेनसँग भएका सबै कुरा बताए। राजाले पनि ठिकै छ किन म नागसेन होइन भनेछन् भेटमै सोधौँला भने। मन्त्री र सिपाही समेत रथ लिएर नागसेनलाई लिन गए। दरवारमा प्रवेश गरेपछि बस्न आग्रह गर्दै राजाले भने –नागसेन तपाईंको बारेमा मैले धेरै सुनेको छु। तपाई बडो आनन्दले सन्त जीवन बिताई रहनु भएको छ रे। तपाईंलाई सबैले नागसेन नामबाटै चिन्छन्। तर तपाईंले म नागसेन होइन भन्नुभएछ। किन त्यसो भन्नुको कारण के हो ? नागसेनले राजालाई अनुरोध गरे –महाराज त्यो रथ तान्ने घोडा फुकाएर यहाँ ल्याउन मिल्छ ? राजाले भने किन नमिल्नु, अवश्य मिल्छ। सिपाहीले घोडा अगाडि ल्याएर राखिदिए। नागसेनले राजालाई सोधे –महाराज यो रथ हो ? राजा हाँस्दै भने –यो कसरी रथ हुनु यो त रथ तान्ने घोडा हुन्। नागसेनले रथको छाता ल्याउन भने र छाता देखाएर सोधे– महाराज यो रथ हो ? राजाले भने– यो त रथमा लगाइएको छाता हो। क्रमशः पांग्रा, बस्ने कौच, सजावटका सामान सबै अलग अलग ल्याउन लगाएर हरेकलाई देखाएर सोधे– यो रथ हो ? राजा आश्चर्य मान्दै जवाफ दिइरहेका थिए– यी सब रथका सामान हुन्। तब नागसेनले राजालाई बताए म पनि नागसेन होइन किनकी म शरीर होइन, मन होइन, विचार होइन, बुद्धि होइन र अहंकार होइन। देखिने र प्रष्फुटन हुने सबै कुरा म मा छन् तर ति चिज म होइन। म भित्रको निराकार, चैतन्य, छु र हूँ भन्ने बोध मात्रै म हूँ महाराज। यो मेरो, त्यो मेरो, पद, धन सबै मेरो भन्नुको कुनै तुक छैन। ति सबैलाई अलग गरेर हेर्यो भने के बाँकी रहन्छ हजुरको ? राजा नतमस्तक भए, जुन कुरा मेरो र मैले आर्जन गरेको भन्ठानेका थिए त्यो त केवल बाहिरी आर्जन रहेछन्। आफू हुनुको वोध, होश, जागरण र अन्तर आकाश नै म भन्ने चिज रहेछ। कथा बुझ्न सजिलो या कठिन दुबै हुन सक्छ तर वास्तविक सन्देश यहि हो कि म हो हूँ ? यी सब प्रपन्च म के हात पार्नको लागि गर्दैछु। हात परेपछि पनि मेरो जीवन आनन्दित छ या फेरि दु:खी ? यो कुराको बोध गर्न सक्नु जीवनको ठूलो उपलब्धी हुन आउँछI भित्रको परम चेतनाको वोधमय रहस्य गुरूद्वारा खुल्दछ जसको ज्ञान कुनै अंकगणितसँग जोडेर आउन सक्दैन। गुरूबाट प्राप्त हुन्छ अलौकिक ज्ञान लौकिक अर्थात् देखिने ज्ञान, शैक्षिक ज्ञान, धन, पद, सम्मान, राम्रो, नराम्रो, विज्ञान, आविष्कार यो त मानिसले गरेर प्रमाणित नै गरिसकेI यति पाएपछि त जीवनमा अब सबै कुरा पुग्नुपर्ने ! अहँ, त्यस्तो भएको छैनI जति सांसारिक ज्ञान र सुविधा प्राप्त गर्यो त्यति अतृप्ति र द्विविधाले मानिसलाई छोडेको छैनI त्यसैले मानिसलाई अलौकिक ज्ञानको पनि खाँचो छ र त्यो गुरूबाट मात्र सम्भव हुन्छI अलौकिक अर्थात् नदेखिने केवल बोध गर्न सकिनेI बुद्धिमान मानिसलाई लाग्न सक्छ जुनकुरा देखिंदैन त्यो ज्ञान किन चाहियो त ? बाहिरी ज्ञानले यति सम्मान, अहंकार मिलेको छ, केहि छ भन्ने महसुस भएको छI यसकै आधारमा जीवनको महत्व आएको छI हो, संसारी र सन्यासी अर्थात् गुरूमा यही अन्तर छI प्रशंग अर्को बोधकथाको एउटा राजालाई आफूले कुशलतापूर्वक राज्य संचालन गर्न सकेकोमा धेरै गर्व थियोI सबै प्रजाले पनि उनको प्रशंसा गर्थेI बेलामौकामा राजाको सम्मान स्वरूप जुलुस, नाराबाजी भेला भाषण चल्थ्योI त्यहि नजिक एक सन्त बस्थेI तर यिनलाई कुनैं कुराले कुनै प्रभाव पार्दैनथ्योI एकदिन प्रसंगवश मन्त्रीले ति सन्तको कुरा उठाएI कस्ता रहेछन् तिनी जो सबै जानेबुझेको जस्तो गर्दछन् तर जीवन त्यति सरल तरिकाले बिताई रहेका छन्I जीवन एकनासले चलेको छI रमाइलो, खुसी, दु:ख, लोभ, फाइदा, घाटा कुनै मतलव छैनI सन्तलाई दरबारमा बोलाउन राजाले मन्त्रीलाई आदेश दिएI सन्त दरबारमा हाजिर भए। राजालाई अभिवादन गरे र भने- महाराज मबाट मद्धत मिल्ने के कुरा होला र हजुरलाई ? राजाले सन्तलाई भने- मैले तिम्रो बारेमा धेरै सुनेको छुI त्यो अलौकिक ज्ञान के हो म पनि जान्न चाहन्छु। ठिक छ महाराज म प्रयास गर्नेछु- सन्तले जवाफ दिएI राजाले भने म ३ वटा प्रश्न गर्न चाहन्छुI १. भगवान भन्दा पहिले यो सृष्टिमा के थियो ? २. भगवान छन् भने किन देखिंदैन ? ३. भगवानले के गर्न सक्दछन् ? सन्तले यसका लागि मलाई तपाईंको पनि सहायता चाहिन्छ भनेर राजाको सहायता मागेI उनले राजालाई १ देखि ३ सम्म गन्न आग्रह गरेI राजाले १, २, ३ भनेI सन्तले भने- महाराज गिन्ती ठिक तरिकाले भएन फेरि गर्नुस् त ! राजा अचम्म परे र फेरि भने १, २..ती सन्तले बिचैमा रोके र भने फेरि मिलेन, फेरि शुरू गर्नु तर ठिक तरिकालेI राजा गन्न थाले १..उनले फेरि रोके र भने महाराज मिलेनI १ भन्दा पहिले के आउँछ त्यहाँबाट गन्ती गर्नुस् न ! राजाले भने- कस्तो अचम्मको कुरा गर्छौ तिमी ! १ भन्दा अगाडि त केहि पनि हुँदैन, शुन्य हुन्छI सन्तले भने हो महाराज, भगवान त्यहि नं. १ हुनुहुन्छI भगवान भन्दा पहिले कोहि थिएनन्I राजाले भने- अब मेरो दोस्रो प्रश्नको जवाफ देऊI सन्तले राजालाई सोधे- महाराज एउटा भाँडोमा दूध राखेर ल्याउन मिल्छ ? राजाले भने- सन्त ! तिमी राजाको दरवारमा छौ, एक भाँडो दूध तिम्रो अगाडि ल्याउन कुनै आपत्ति छैनI एउटा भाँडोमा दूध ल्याएर राजा र सन्त अगाडि राखियोI सन्तले सोधे- महाराज यो दूधमा नौनी देख्नुहुन्छ ? राजा थोरै आक्रोशित पनि भए- कस्तो कुरा गर्छौ नौनी देखिन त यसलाई मथेर मोहीबाट छुटाएर बल्ल नौनी तयार पार्नुपर्छI सन्तले भने- यहि दूध भित्रै छ नि छनत ? राजाले स्वीकृति जनाएI सन्तले भने- दूधमै नौनी छिपेजस्तै भगवान पनि हामी भित्रै हुनुहुन्छI उहाँ हुनुहुन्छ तर देखिनुहुन्नI उहाँलाई देख्न अन्तर्ज्ञान, आत्मज्ञान चाहिन्छI जे छ तर देखिदैन, बोध मात्र गर्न सकिन्छ यहि त अलौकिक ज्ञान हो महाराज ! राजाले भने- मेरो तेस्रो प्रश्नको जवाफ त दिनै बाँकि छI सन्त मुस्कुराउँदै भने- महाराज मैले २ वटा प्रश्नको जवाफ दिएर हजुरको चित्त बुझाएँI म एउटा बिन्ति गरौँ ? तपाईंको सिंहासनमा बसेर तेस्रो प्रश्नको जवाफ दिन मन लाग्यो, मलाई एकैछिन बस्न दिनुस्, तपाईं भुइँमा बस्नुस् हुन्छ ! राजा अवाक भएI तर तुरुन्तै हुन्छ भने र सिंहासन छोडिदिएI सन्त सिंहासनमा बसे, राजा भुईंमा बसेI तेस्रो प्रश्न के थियो रे ? सन्तले सम्झाए, नदेखिने भगवानले के गर्न सक्छन् त राजाले प्रश्न गरे ? सन्त मजाले हाँसे र भने- भगवानले चाहे के गर्न सक्दैनन् ? एउटा साधुसन्तलाई सिंहासनमा राख्न र एउटा राजालाई भुईंमा राख्न सक्छन्I सिंहासनबाट ओर्लेर सन्त बाटो लागेI आत्मज्ञान पनि गुरूबाट मात्रै प्राप्त हुन्छ शब्दमा मानिससँग शरिर मात्रै होइन आत्मा पनि छ भनेपनि यो कुरा बिर्सेका हुन्छन्I आत्मा के हो ? जो जागरूक छ, अकम्प छ, प्रभावरहित छ, केवल साक्षी र बोध छI संसारको भोग, आवश्यकतालाई पूरा गरेको छ। अन्तस्करणमा पनि रहेको छI ध्यान, योग, आध्यात्मिक प्रवचन द्वारा जीवन सिद्ध अनुभवलाई गुरूले आफ्ना शिष्यलाई आत्मज्ञानको मार्ग प्रशस्त गर्दछन्I आत्मज्ञान प्राप्त भएपछि मात्र मानिसमा जागरूकता, साहस, प्रेम, दया, शान्ति, करूणा र स्वीकार फलित हुन्छ। जीवनलाई साधनाबाट अनुभवमा उतारेका हाम्रा गुरूहरूले सत्–चित्–आनन्द (सत्.=जीवन,सत्य, चित=.मानवीय चेतना, आनन्द=मौलिक खुसी) नै आत्मज्ञान हो भनेर मार्गनिर्देश गरेका छन्। जीवनका सबै विधामा सन्तुलन कायम राखी प्राकृतिक जीवनशैली अपनाउने र भित्र शान्ति र आनन्द प्राप्त गर्ने चाहना सबैको हुन्छ। तर व्यवहारिकतामा यसो हुन सकेको पाइदैन। त्यसैले गुरूको सानिध्यता, सत्संग र देशनाको सधैं जरूरत हुन्छ।
Thaha khaber

You might also like