कावासोतीमा साहित्यकारहरुको वनभोज

0

कावासोती – संगम, नवलपुरको नियमित मासिक कार्यक्रम अन्तर्गत माघ महिनाको पहिलो शनिवार साहित्यिक वनभोज कार्यक्रम कावासेती १२ राजरत्न ताल तथा पिकनिक पार्कमा भएको छ । साधन संगमका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता र कवि दीपक सोतीको प्रमुख आतिथ्यतामा वन भोज कार्यक्रम भएको हो । प्रत्येक महिनाको पहिलो शनिवार हुँदै आएको कार्यक्रम मध्ये यो ३७ औं श्रृंखला हो । कार्यक्रममा युवा गजलकार सरोज उजाडको बजार नामक हाईकू संग्रहको पनि बिमोचन भएको थियो । कार्यक्रममा साहित्यकार दीपक सोतीले युवा स्रष्टाहरूलाई समसामयिक, राष्ट्रिय प्रेमले भरिएको र बेथितिको राजनीतिलाई सुधार्ने किसिमको रचनाहरू सिर्जना गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका काव्यकार कृष्णादेवि शर्माले सिर्जना गर्ने कार्यलाई निरन्तरता दिने हो भने मात्रै पनि कसैको सिर्जना नमर्ने बताउनुभयो । कार्यक्रमका समालोचक सदानन्द अभागीले जिल्लामा यस्ता कार्यक्रमलाई सफल पार्न नयाँ पुस्ताहरू लागिरहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा छन्देली कवि लोकनाथ खरेल, नारी हस्ताक्षर लीला राना, युवा गजलकारहरू सरोज उजाड, लेखराम सपकोटा, विजय विश्वकर्मा, बिक्रम ढकाल, हेमराज दाहाल, शृषा शाही, किशोर रिमाल, एकनारायण चापागाई, टीका सापकोटा, घनश्याम सुवेदी लगायत २ दर्जन स्रष्टाहरूले रचना वाचनसंगै नाचगान गर्नुभएको थियो । । कार्यक्रमको सहजीकरण युवा गजलकार तथा सञ्चारकर्मी आदर्श शुसिलले गर्नुभएको थियो ।

You might also like