बालमनोस्वास्थ्यमा बन्दाबन्दीको असर

0

प्रेमनारायण भुसाल

कोरोनामहामारीका कारण विश्वका अन्य देशमा जस्तै नेपालमा पनि सरकारले बन्दाबन्दी घोषणा गरेको ८० दिन पूरा भइसकेपछि यसलाई केही खुकुलो बनाइएको छ । लामो समय बितिसके पनि सङ्क्रमणको दर र त्रास भने कम हुन सकेको छैन । यसले सर्वसाधारणको आर्थिक, सामाजिक र दैनिक क्रियाकलापमा कठिनाइ सिर्जना गरेको छ । महामारीले समाजका हरेक पक्षलाई कुनै न कुनै रूपमा नकारात्मक असर पारेकाले बालबालिका यसको प्रभावबाट मुक्त रहन सकेनन् । नियमित क्रियाकलाप गर्न नपाएकाले प्रत्यक्ष रूपमा महामारीबाट अभिभावकहरू प्रभावित देखिए पनि यसको अप्रत्यक्ष र दीर्घकालीन असर बालबालिकाको मनोविज्ञानमा परेको छ । परिवारका सदस्यहरूका गतिविधि र सञ्चारका माध्यम आएका अनेकथरि सूचनाका कारणले यस समयमा बालबालिका मानसिक रूपमा र त्रसित बनेका छन् । जसको बाह्य प्रकटीकरण आगामी दिनमा उनीहरूका व्यवहार, सिकाइ तथा असामान्य गतिविधिका माध्यमबाट हुन सक्ने आँकलन गर्न सकिन्छ भने केही असरहरू अहिले नै देखापर्न थालिसकेका छन् । यसैले आमनागरिक र बालबालिकाको मनोसामाजिक स्वास्थ्य सन्तुलित र सुरक्षित राख्ने कार्यमा समयमै प्रयास गर्नुपर्ने देखिन्छ ।
बन्दाबन्दीको सुरु अवस्थामा बालबालिका घरेलु वातावरणमा अभिभावक तथा परिवारका सदस्यहरूसँग सँगै बस्न पाएकाले यसलाई परिवारसँग बस्ने अवसरका रूपमा लिइएको थियो । आमाबाबुसँग बस्दा परिवारप्रतिको लगाव स्वाभाविकै हो तर असामान्य अवस्थामा लामो समयसम्म घरमा बस्दा र घरका सदस्यहरूको रोजीरोटी तथा आम्दानी गुमेको अवस्थामा उनीहरूबाट अभिव्यक्त भएको उदासी र निराशा बालबालिकामा स्थानान्तरित भएको छ । अभिभावकका असन्तोष, परिवारका सदस्यबीचको आपसी द्वन्द्व एवम् मनमुटाव र केही हदसम्म बच्चाले देख्न नहुने गतिविधिसमेत देखेका बालबालिकाको परिवारलाई हेर्ने दृष्टिकोणमा विचलन आएको अनुमान गर्न सकिन्छ । आर्थिक स्थिति कमजोर भएका परिवारमा आधारभूत आवश्यकता पूर्ति गर्नका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था यतिखेर देखाप¥यो भने दुःखसुख गरेर बालबालिकालाई सुखी राख्ने ध्येय लिई काममा खटिरहने अभिभावकहरू बेकामे बनी घरमा बसिरहनुपर्दाको पीडा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनीहरूका व्यवहारमार्फत बालबालिकामा सरेकोे छ । यसले बालबालिकाको सोच्ने तरिका, जीवनलाई हेर्ने दृष्टिकोण समाज एवम् साथीभाइहरूसँगको सम्बन्धमा समेत परिवर्तन ल्याइदिएको छ । बन्दाबन्दीले बालबालिकामा मूलतः निम्न क्रियाकलापमा असर पारेको देखिन्छ ः

एकलासेपन र स्क्रिन डिसअर्डर
बालबालिका स्वभावैले चञ्चल किसिमका हुन्छन् । लामो समयसम्म घरमा थुनिएर बस्नुपर्दा र आफ्नो उमेरका साथीहरूसँग भेटघाट गरी कुराकानी गर्न र अनुभूतिको आदानप्रदान गर्न नपाउँदा उनीहरूमा एककिसिमको मानसिक तनाव छ । नियमित तालिकामा काम गर्ने बानी परेका बालबालिका यतिखेर पूरै स्वतन्त्र हुँदा समय व्यतीत गर्ने उपयुक्त माध्यमसमेत प्राप्त गर्न नसकी ग्याजेट अथवा अन्य सामाजिक र मानसिक स्वास्थ्यमा क्षति पु¥याउने गतिविधिमा परनिर्भर भएका हुन सक्छन् । परिवारका सदस्यसँगै बसे पनि सबैजना एकाएक ग्याजेटहरूमा संलग्न भइदिँदा बालबालिकाले परिवारभित्रै पनि म एक्लो छु भन्ने अनुभव गर्छन् । यस किसिमको अनुभवको गम्भीर असर आगामी दिनमा देखिन सक्छ ।
साथीहरूसँग लामो समयसम्म भेटघाट गर्न नपाउनु तथा प्रौढ व्यक्तिसँग मात्र लामो समयसम्म बस्नुपरेकाले उनीहरूले आफ्नो भावना र अनुभूति बुझ्न सक्ने व्यक्तिको अभाव महसुस गर्न सक्छन् । निर्वाध रूपमा इन्टरनेटको पहुँच हुनेहरूले इन्टरनेटमा हेर्न हुने नहुने सबै किसिमका साइटहरू हेर्दा उनीहरूको मस्तिष्कीय रसायनको संरचनामा समेत असन्तुलन बढ्दै जाँदा ‘स्क्रिन डिसअर्डर’को समेत बालबालिका सिकार भएका हुन सछन् । ‘भर्चुअल’ गतिविधिलाई वास्तविक मान्ने र वास्तविक जीवनका स्वाभाविक घटनाहरूलाई महसुस गर्न नसक्ने एककिसिमको मानवीय संवेदनाहीन असामान्य मनोवृत्ति बालबालिकामा विकास भएको हुन सक्दछ ।

सामाजिक विभेदको चोट
बालबालिकाका लागि घरपरिवार पहिलो विद्यालय हो । विचार, संस्कार र नैतिक चेतनाका लागि परिवार नै पहिलो र अन्तिम महŒवपूर्ण विद्यालय मानिन्छ । बच्चाको मन मस्तिष्कमा जस्तो दृष्टिकोण बन्यो आगामी दिनमा त्यही किसिमले अगाडि बढ्ने भएकाले मनोवैज्ञानिकहरू तथा नैतिक दार्शनिकहरू बालबालिकालाई सामाजिक विकृति र विसङ्गतिबाट टाढा राखी असल, नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने कुरामा जोड दिन्छन् । कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई खराब बनून् भन्ने चाहँदैन । आफूले दुःख सहेर पनि बालबालिकाको आत्मसम्मानमा चोट नपुगोस् भनी उनीहरू खटिरहेका हुन्छन् । यसपटकको लामो समयको बन्दाबन्दीले कोमल बालबालिकाको सुकोमल मस्तिष्कमा समाजले सिर्जना गरेको आर्थिक विभेदको कहालीलाग्दो पीडाको छायाँ पा¥यो । सरकारी र निजी स्कुलमा पढ्ने विद्यार्थी आफ्ना अभिभावकको क्षमताका कारणले गर्दा आफू त्यस स्कुलमा पढ्नुपरेको कुरामात्र बुझेको अवस्थामा यसपटक एउटै विद्यालयमा पढ्ने विद्यार्थी पनि आर्थिक असमानताका कारणले उनीहरूले नै बुझ्न सक्नेगरी आफू पीडित भएको अनुभूति गरे । जसका कारणले उनीहरूमा एककिसिमको ईष्र्या, क्षोभ र असन्तोषको ज्वाला दन्किन थाल्यो । यी सबैको प्रभावस्वरूप बालबालिकाले असामान्य गतिविधि प्रदर्शन गर्न थालेका छन् ।

जीवनप्रतिको उदासी र आत्महत्या
बाल्यावस्था समस्यै समस्याका बीचमा पनि मुस्कुराउन सक्ने अवस्था हो । विगतका कुराहरूसँग वर्तमानका उपलब्धिको तुलना नगर्ने तथा भविष्यका बारेमा सोचेर चिन्तित नहुने भएकाले यस समयलाई निस्फिक्री अवस्थाको समय मानिन्छ । तुरुन्तै रिसाउने र आँखाको आँसु नसुक्दै हाँस्न थाल्ने अत्यन्त स्वाभाविक र प्राकृतिक अवस्था बालबालिकामा पाइन्छ । यसैले दुःखद घटनाहरूलाई पनि उनीहरू तुरुन्त बिर्सन सक्दछन् । सञ्चारका माध्यमहरूको विकास र ग्याजेटहरूका माध्यमबाट अहिलेका बालबालिका बालसुलभ क्रियाकलापमा मात्र होइन, प्रौढ व्यक्तिले मात्र गर्ने र महसुस गर्ने कुराहरू कलिलो अवस्थामै अनुभव गर्न थालेका छन् ।
शारीरिक र बौद्धिक परिपक्वता प्राप्त नहुँदै उनीहरू वर्तमानमा नरमाउने र भविष्यका बारेमा चिन्तित हुने अस्वाभाविक क्रियाकलाप देखाउन थालेका छन् । यसैले उपलब्ध वस्तुबाट सन्तुष्ट नहुने र अर्पाप्त वस्तुको खोजीमा असन्तुष्ट र असन्तोषी बन्ने स्वभाव बालबालिकामा देखापर्ने गरेको छ । यसैले बालबालिका निकै संवेदनशील देखिन थालेका छन् । उनीहरूलाई प्रयोग गरिने शब्द र दिइने मान–मर्यादामा निकै चनाखो हुन थालेका छन् । बालबालिकाको सङ्गत, ‘जङ्क’ खाना र प्रविधिका कारणले उनीहरूमा हर्मोनहरूको परिवर्तन तीव्र रूपमा देखापर्न थालेको छ । यसले गर्दा मस्तिष्कमा ‘डोपामाइन’ र ‘सेराटोनिन’ जस्ता संवेगात्मक सन्तुलन र खुसी बढाउने रसायनको उत्पादन कम हुन थालेको छ ।
पछिल्लो समय बालबिज्याइँ र बालदुराचारका घटना बढ्दै गएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा बालयौन दुराचारका २१९ घटनाहरू प्रहरीमा दर्ता भएका थिए । दुराचारका घटनामा शक्तिशाली र सामाजिक प्रतिष्ठाप्राप्त व्यक्तिहरू संलग्न भएको देखिन्छ । आफन्त र छरछिमेकीबाट बलात्कृत भएका बालबालिकाको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ । विश्वास गर्नुपर्ने व्यक्तिले नै विश्वासघात गर्दा सामाजिक मूल्य–मान्यता कमजोर हुँदै गएका छन् । यिनको अप्रत्यक्ष प्रभाव बालमनोविज्ञानमा परेको देखिन्छ । यसैले कल्पनासम्म गर्न नसकिने १०–११ वर्षका कलिला बालबालिकाले आत्महत्या गरेका घटनाहरू प्रकाशमा आउन थालेका छन् ।
बन्दाबन्दीले पारेको मानसिक असरका कारणले आगामी दिनमा विश्व स्वास्थ्य सङ्गठनले भनेझैँ आत्महत्याका घटनाहरू बढ्ने देखिन्छ । नेपालमा केही वर्षदेखि आत्महत्याका घटना निकै बढेका छन् भने बालबालिका समेत यस समस्याबाट ग्रस्त भएको पाइएको छ । नेपाल प्रहरीले बन्दाबन्दीको एक महिना अगाडि र बन्दाबन्दीको सुरुको एक महिनाको समयमा भएका आत्महत्याको घटनाको अध्ययन गरेको छ । यसको नतिजा निकै कहालीलाग्दो देखिन्छ । सुरुको एक महिनामा बालिकाहरूको आत्महत्या दर ४५ प्रतिशतले र बालकहरूको ४६ प्रतिशतले बढेको छ ।
बन्दाबन्दीको समयमा मानसिक तथा आर्थिक समस्याका कारणले प्रौढहरूको आत्महत्या दर बढ्नु स्वाभाविकै भए पनि परिवारसँगै रहेकाले बालबालिकाको आत्महत्या कम हुनुपर्ने हो तर छोटो समयमै यति ठूलो बृद्धिलाई सामान्य आँकलन गर्नुहुँदैन । बालबालिकाले आत्महत्या गर्नुका कारण तत्कालीन आवेश भए पनि महामारीका कारणले सिर्जना गरेको त्रास र बन्दाबन्दीको पट्यारलाग्दो अवस्थाले उनीहरूमा निराशा र निरीहताबोध भएको छ, जसका कारणले कलिला बालबालिका जीवनबाट विरक्त भई मृत्युवरण गर्न पुगेका छन् ।
विभिन्न समयमा भएका अध्ययनअनुसार बालबालिकाको आत्महत्या र अस्वाभाविक गतिविधि (बलात्कार, बालबिज्याइँ र लागूपदार्थ सेवन)को मूल कारण क्षणिक आवेश, निराशा, असहाय भएको अनुभव र प्रविधिको कुप्रभाव हो भन्ने देखिएको छ । लामो समयसम्म बन्दी अवस्थामा बसेका बालबालिकाको मानसिक अवस्था कुनै न कुनै रूपमा असामान्य बनेको वर्तमान सन्दर्भमा घरपरिवारमा बालबालिकाका कुरा सुनिदिने, विद्यालयलाई बालमैत्री बनाउने एवम् सामाजिक र नैतिक मूल्य–मान्यताहरू जागृत हुने कामलाई महŒव दिनुपर्ने देखिन्छ ।
प्रविधिको छाडा प्रयोग, अराजकता र नैतिक मूल्यमा आएको ह्रासलाई नियन्त्रण गर्न नसक्ने हो भने आगामी दिनमा ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’का कारणले बालबालिकाको विक्षिप्तता र आत्महत्या दर बढ्दै जाने देखिन्छ । यसैले मनोवैज्ञानिक परामर्श र मनोवैज्ञानिक प्राथमिक उपचार प्रदान गर्ने दिशामा सरकार तथा सम्बन्धित निकाय सक्रिय हुनुपर्दछ । विश्व स्वास्थ्य सङ्गठनले भनेझैँ मानसिक स्वास्थ्यका क्षेत्रमा सचेत नहुने हो भने महामारी साम्य भएको वर्षौंपछिसम्म पनि संसारभरका मानिसलाई मानसिक समस्याले सताइरहनेछ । बालबालिकालाई तनावमा काम गराउने वा उनीहरूका अगाडि उदासी व्यक्त नगरी जीवनप्रतिको आशा र सुन्दर भविष्यको आशावादी सन्देश दिँदै बालबालिकाको मानसिक स्वास्थ्यलाई संरक्षण गर्ने दिशामा सबै सचेत हुनुपर्दछ ।Gorkha patra

You might also like