त्रिवेणी उपवितरण केन्द्रका ३ जना कर्मचारी घुस रकम सहित पक्राउ

0

नवलपरासी, ३० श्रावण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण नवलपरासीको त्रिवेणीमा रहेको त्रिवेणी उपवितरण केन्द्रका ३ जना कर्मचारी घुस रकम सहित पक्राउ गरेको छ ।
टोलीले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुुुख विजय महरा, चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मीलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४६ हजार ५ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो । दुई जना कर्मचारीले घुसबापतको रकम लिइसकेको अवस्थामा निजहरूलाई कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

You might also like