भारत अमेरिका र काँग्रेस प्रमुख दुस्मन : मसाल

0

नवलपुर ः नेकपा (मसाल) ले नेपाली क्रान्तिको प्रमुख दुस्मन भारत र अमेरिका रहेको बताएको छ । देश भित्र नेपाली जनक्रान्तिको प्रमुख दुस्मन नेपाली काँग्रेस रहेको पनि नेकपा (मसाल) को दावी छ । नेकपा (मसाल) ले नेपालमा समाजवाद र समाजवादी क्रान्तिको कुनै भविष्य नभएको ठहर पनि गरेको छ । नेकपा (मसाल) को आठौं महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक गर्न कावासोतीमा गरिएको घोषणा सभामा नेकपा (मसाल) ले यस्तो दावी गरेको हो ।

त्यस्तै कम्युनिष्टको नाममा केही पार्टीहरुले कम्युनिष्टको बदनाम गर्न लागेको र काँग्रेस, राप्रपा, मधेषवादी जस्ता दलहरुले त्यसलाई टेकेर नेपालबाट कम्युनिष्ट सिद्धाउने षडयन्त्रमा कम्युनिष्टको विरोध गरेको कार्यक्रममा बताइएको थियो । वर्तमान सरकारको गलत काम कारवाहीको विरोध गरिए पनि यसलाई कम्युनिष्टको सरकार बताई देशमा प्रतिगमन निम्त्याउन नेपाली कांग्रेस, राप्रपा, मधेशवादी संगठनहरू लगायत देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको प्रयासबाट अलग भई उनीहरुको यस्ता क्रियाकलापको विरोध गर्नुपर्ने महाधिवेशनले निर्देशन गरेको छ ।
नेकपा मसालको आठौं महाधिवेशनले गरेको निर्णयहरू नवलपुर जिल्ला प्रवक्ता लेखनाथ शर्माले सार्वजनिक गर्नुभयो ।
मसालको महाधिवेशनले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई उपलब्धिको रुपमा लिएको छ ।
राजतन्त्रको स्थापनार्थ हिन्दू धर्मलाई हतियारको रुपमा प्रयोग गर्दै आइरहेको राप्रपा र भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न गठित मधेशवादी संगठनहरुलाई समेत उसले दुश्मन शक्तिहरुको रुपमा ठहर गरेको छ ।
महाधिवेशनले क्रान्तिकारी माओवादी, नेकपा (विप्लव), नेमकिपा, नेकपा (माले), नेकपा (नेकपा) आदि वर्गीय र रणनीतिक दृष्टिकोणले मित्रशक्तिहरू भएको ठहर गरेको छ ।
आठौं महाधिवेशनले तत्काल नेपालमा सशस्त्र संघर्ष वा जनयुद्ध शुरु गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै तत्कालको स्थितिमा शान्तिपूर्ण जनआन्दोलन नै अहिलेको संघर्षको प्रधान पक्ष हुने निष्कर्ष रहेको जनाएको छ ।
त्यस्तै नेकपा (मसाल) ले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने नीतिको विरोध गर्ने नीति लिएको छ ।
महाधिवेशनले साम्राज्यवादको विस्तार गर्न इसाई धर्मको प्रयोग गर्ने साम्राज्यवादी नीतिको विरोध गर्ने निर्णय गरेको नवलपुर जिल्ला प्रवक्ता लेखनाथ शर्माले जानकारी दिनुभयो ।
कावासोतीमा गरिएको घोषणा सभा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार राम प्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो । घोषणा सभामा बोल्दै जिल्ला अध्यक्ष दिपक पाण्डेले राष्ट्रिय कार्यदिशासँगै पार्टीले नवलपुरमा समेत आफ्ना अलग कार्यक्रम गर्दै लैजाने बताउनुभयो ।

You might also like