टालटुल पारेर सकियो खेलमैदानको बजेट, कतै भैसीचरन, कतै धानखेती

0

सोमवार, आश्विन ५,

प्रदेश ५ सरकारले एक पालिका एक खेलमैदानको नारा अघि सारेर स्थानीय तहहरुलाई बजेट दियो। सबै स्थानीय तहमा पालिका स्तरको खेल मैदान होस् भन्दै प्रदेश सरकारले साढे ५५ करोड बजेट विनियोजन गरेको थियो।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका तीन वटा गाउँपालिकामा खेल मैदान बनेको त भनियो। गाउँपालिकामा आएको रकम खर्च पनि भयो तर खेलमैदानको अत्तोपत्तो छैन। बनाइएको भनिएको मैदानमा कतै चरन क्षेत्र, कतै भैंसीको आहाल देखिन्छ त कतै धान खेती छ। मैदानमा माटो मात्र पुरेर बजेट सिध्याइएको छ।

प्रदेश ५ का एक सय ९ वटै स्थानीय तहमा खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम अन्र्तगत सशर्त अनुदान गएको थियो। खेल प्रतियोगिता आयोजना, सार्वजनिक जग्गाको संरक्षण, स्थानीय प्रतिभाहरु प्रस्फुटन होस् भनेर प्रदेश ५ सरकारले २०७५/७६ मा प्रदेश सरकारले एक पालिका एक मैदान कार्यक्रम ल्याएको थियो।

गाउँपालिकामा ३६ लाख, नगरपालिकामा ७२ लाख रकम सशर्त अनुदानमा बजेट विनियोजन गरी पठाएपनि मर्चवारका स्थानीय तहहरुले रकममा थप गरेर स्तरीय मैदान बनाउनुको साटो अएको बजेट अनुसारको पनि काम गरेका छैनन्।

कोटहीमाईको खेलमैदानमा धान खेती
कोटहीमाई गाउँपालिकाले प्रदेश सरकारको एक पालिका एक खेलमैदान कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा मैदानको प्रारम्भिक काम गरेको छ। गाउँपालिकाको वडा नम्बर ७ कटैया पासी डिहमा रहेको ८ नम्बरी जग्गामा तारबार र माटो पटान गरिएको छ। यहाँ गाउँपालिका अध्यक्षकै छोराको निर्माण कम्पनीले काम गरेको थियो।

 

तर के कति खर्च भयो हिसाब किताब सार्वजनिक गरिएको छैन। हालै मात्र सरुवा भई आएका प्रमुख प्रशासकीय ऋषिराम अर्जेलले २०७५ सालको कार्यसम्पादन भएकोले यसबारे आफुलाई जानकारी नभएको बताए।
‘इन्जिनियरसँग फाइल छ, उहाँ गत साताबाट बिरामी विदामा हुनुहुन्छ, आएपश्चात मात्र जानकारी गराउनुहुन्छ’–उनले भने।

मैदान बनाउन माटोपटान र तारबार गरेपनि अहिले खेती भइरहेको स्थानीय रिंकु पासीले बताए। ‘पहिला खेती हुन्थ्यो, खोलाको तटबाट माटो माटो ल्याएर मैदान बनाइयो, तारबार पनि भयो’–उनले भने–‘अहिले फेरि तारबार तोडेर खेती भइरहेको छ।’

मैदान बनेको भनिएपनि अहिलेसम्म कुनै प्रतियोगिताहरु नभएको पासीले बताए। ‘हामी साथीहरु मिलेर कहिलेकाही क्रिकेट खेल्ने गर्छौ, फुटबल कमै खेलिन्छ’–उनले भने–‘अध्यक्ष ज्यूहरुलाई क्रिकेट पिच बनाउन भने पनि बीच भागमा फुटबलको लागि भनेर काम शुरु गर्नु भयो त्यो पनि पूरा भएको छैन।’

 

सो ठाउँमा स्थानीयले वषौँदेखि खाली जग्गामा खेती गर्दै आएका थिए, गाउँपलिकाले ३६ लाखको बजेटमा तरबार र केही माटो पुरेर बजेट सकेको छ। कुनै खेलहरु पनि नभएकोले स्थानीयले फेरी तरबार हटाइ ६ कठ्ठामा धान खेती गरिरहेको स्थानीय पिताम्बर अहिरले बताए।

मर्चवारीको खेलमैदान भैसी चरन
मर्चवारी गाँउपालिकाले पनि खेलमैदानमा ३६ लाख पूरै खर्च गरेको बताएको छ। २०७५/०७६ मा प्रदेश सरकारबाट आएको बजेटबाट मर्चवारी–२, अमवामा खेल मैदान तयार भएको हो। प्राचीन पोखरी नजिकै रहेको केही खाली ठाउँमा केही पोखरीको भाग मासेर मैदान बनेको भएपनि अहिले सो ठाउँ भैसी चरनमा परिणत भएको छ।

पोखरी पुरेर मैदान बनाउदा स्थानीयले विरोध गरेका थिए। गाउँपालिकामा अन्यत्र सुविधा नभएको भन्दै जबरजस्ती खेलमैदान बनाएको स्थानीयले बताए।

‘३६ लाख बजेट आएको सुनेका थियौं, केही पोखरीको माटो र केही बाहिरबाट माटो ल्याएर सम्याउनु भयो अरु त्यस्तो केही काम भएको छैन’–स्थानीय शशीदयाल चौधरीले भने–‘गाउँपलिका स्तरीय मैदान भएको भए कुनै प्रतियोगिताहरु आयोजना हुन्थ्यो तर केही भएको छैन।’

 

गाउँपालिकामा आएको बजेटबाट ४ विघा अन्यत्र जग्गा किनेर नै गाँउपलिका स्तरीय खेलमैदान बनाउन सकिने चौधरीको भनाइ छ। ‘त्यसो गरेमा ऐतिहासिक सगरा भन्ने स्थानको पहिचान पनि कायम रहन्थ्यो’–उनले भने।
स्थानीयले सिचाईँको काम गर्ने सो पोखरीमा मैदान बन्दा मर्कामा परेका छन्। गाउँपालिकाका अध्यक्षले खेलमैदान बनाएर चारवटा कुनामा सिचाईका लागि ट्युबेल जडान गर्ने प्रतिबद्धता जनाएपनि २ वर्षसम्म त्यसको सुरसार नभएको स्थानीयको भनाइ छ।

सीमा क्षेत्रमा ल्याएर बनाइएको खेलमैदान गाउँपालिकाको लागि उपयुक्त नभएको र खेलकुद प्रतियोगिता हुन नसकेपछि भैसीचरन नै रहेको चौधरीले बताए।
खेलमैदान बनाउन ३६ लाख नै खर्च भएको गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ बताउँछन्।

२०७६/०७७ मा अध्यक्ष कप प्रतियोगिता गराउने योजना भएपनि कोरोना महामारीले प्रतियोगिता हुन नसकेको उनको भनाइ छ। मैदान बनाउँदा प्राचीन पोखरी भने नमासेको बानियाँले बताए। ‘त्यो जग्गाको लालपूर्जा र नक्सा छ, अलि खाल्डो थियो स्थानीयले माटो निकालेर घर घरमा इट्टा बनाउने गरेकोले पोखरी भएको हो’–उनले भने–‘पोखरी नै छ छेउको खाल्डो जमीन सहितमा खेलमैदान बनाएका छौ।’

सम्मरीमाईको खेलमैदान वडा स्तरको पनि छैन
सम्मरीमाई गाउँपालिकाले पनि पालिकास्तरको मैदान बनाएको छ। प्रदेश सरकारबाट आएको कार्यक्रम अन्तर्गत सम्मरीमाई–५, चक्कीमा करिब १ विघा क्षेत्रफलमा मैदान बनेको छ।
नदीको बहाव परिवर्तन भएपछि बन्जर ८ नम्बरी जग्गा धेरै नै खाल्डो रहेको र त्यसमा माटो पटान गरी खेलकुद मैदान बनाएको गाउँपलिकाले जनाएको छ। धेरै समयदेखि जग्गा नपाएपछि गाउँपालिकाले चक्कीमा नै खेल मैदान बनाउने निर्णय गरेको थियो।

मैदान निर्माणमा कति खर्च भयो भन्नेबारे फाइल हेर्नुपर्ने गाँउपालिका इन्जिनियर रामदेव गुप्ताले बताए। ‘३६ लाख बजेट आएको थाहा छ, कार्य सम्पादन भई कति खर्च भयो भन्ने जानकारीका लागि फाइल नै हेर्नु पर्छ’–उनले भने ।

 

गाउँपालिका स्तरीय मैदान भनिएपनि मैदानको आकार सानो छ। नदी छोडेको थप भाग पटान गरी केही संरचनाका लागि छुट्याउने र बाँकी भागमा मैदान बनाएमा उपयुक्त हुने स्थानीय निरञ्जन पाठकले बताए। ‘किनारको केही क्षेत्र नै नदीले ठाउँ छोडिसकेको छ, प्रविधिकहरुले व्यवस्थापन गर्न सक्छन्’–उनले भने–‘गाउँपलिकाले उपभोक्ता समिति गठन गरेर काम गराएको हो, अख्तियारले पनि यसको निरीक्षण गरेको थियो।’

मर्चवार क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले मर्चवार क्षेत्रका ३ वटै खेलमैदानबाट आफू सन्तुष्ट नभएको बताए।

‘प्रदेश सरकारको लगानीबाहेक स्थानीय सरकारबाट पनि केही लगानी गरेर तारबार गर्ने, संरक्षण गर्ने, खेल प्रतियोगिताहरु आयोजना गर्नु पर्ने हो’–उनले भने–‘खेलमैदान भनेर माटो पुरेर मात्र भएन प्रदेश सरकारको लगानीमा स्थानीय सरकारको पनि निगाह पुग्नुपर्छ तर पुगेको छैन।’

गाउँपालिकाले आफ्नो पैसालाई प्राथमिकता दिएपनि प्रदेश सरकार र संघीय सरकारबाट आएको बजेटलाई पछाडि पार्ने गरेको देखिन्छ।

कोल्ड स्टोर, सभाहल, खेलमैदानलगायतका प्रदेश सरकारको जुनसुकै कार्यक्रम आएपनि यहाँ सन्तुष्ट हुने खालको काम नभएको पाठकको भनाइ छ। ‘आखिर जुन बजेट भएपनि नेपाल सरकारकै पैसा हो, हामी सबैले दिएको कर हो, यसलाई स्थानीय सरकारले पनि चासो दिनु पर्छ’–पाठकले लुम्बिनी टाइम्ससँग भने।……..Lumbini times

You might also like