रुपन्देही ५ मा बासुदेवको चुनावी कमाण्डर बने खिमलाल

0

रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार बासुदेव घिमिरेको चुनावी कमाण्डर खिमलाल भट्टराई भएका छन् ।

पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

यो क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले सुरुमा घिमिरेलाई टिकट दिएका थिए । पछि घिमिरेको टिकट रद्द गरेर भट्टराईलाई उम्मेदवार तोकेका थिए । तर घिमिरेले पहिले उम्मेदवारी दर्ता गराएका कारण भट्टराई एमालेको अधिकारिक उम्मेदवार बन्न सकेनन् । अहिले उनै भट्टराई घिमिरेको चुनावी कमान्डर बनेका हुन् ।

बिहीबार आयोजित भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टिकट वितरणमा देखा परेको समस्याको उचित समयमा समीक्षा हुने बताए ।

पोलिटब्यूरो सदस्य भट्टराईले अब आफूले विगत बिर्सेर पार्टीका उम्मेदवार घिमिरेलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । पार्टी राजनीतिमा व्यक्ति प्रधान नहुने बताउँदै उनले राष्ट्रियता र लोकतन्त्र बचाउन एमालेको जित आवश्यक रहेको बताए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले विगतमा आफू तिलोत्तमाको नगर प्रमुख हुँदा नगरपालिकालाई मुलुककै उत्कृष्ट बनाएको उल्लेख गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे । onlinekhabar

You might also like