कल्पनाको रोइला

0

लोकदोहोरी फाँटमा पछिल्लो छिमलकी गायिका हुन्, कल्पना काफ्ले । मूलत ः गण्डकी भेकको रोइला गायनमा उनको दख्खल रहेको छ । स्टेज चढेपछि उनी रोइला गायनमै रमाउँछिन् ।

करिब ८ वर्षअघि रोइला गीत ‘तामे गाग्री…’बजारमा ल्याएकी थिइन्, कल्पनाले । यो गीतमा उनलाई स्वरमा साथ दिएका थिए, तेजस रेग्मीले । त्यतिबेला यो गीत निकै मन पराइयो । हुन त, उनी त्यसअघि नै लोकदोहोरी गायनमा नचिनेकी भने होइनन् । तर, रोइलामा स्वर बढी खुलेको र श्रोताले पनि बढी मन पराएपछि उनी रोइलामै व्यस्त हुन थालिन् । यसपछि विष्णु बञ्जाडेसँगको गायनमा अर्को रोइला गीत ‘भएँ भन्थ्यौ बिसकी…’ बजारमा आयो । यो गीत पनि उतिकै रुचाइयो । यसपछि भने कल्पनाले रोइला गायनलाई नै निरन्तता दिन थालेकी हुन् ।

पहिलो रोइला गीत ‘हिट’ भएपछि यतिबेला उनी त्यसको दोस्रो शृंखलाका रूपमा ‘तामे गाग्री २’ गीत बजारमा तयारीमा छिन् । यसैसाता श्रोेतामाझ आउन लागेको यो गीतमा पनि उनलाई तेजसले नै स्वरमा साथ दिएका छन् ।

कल्पनाका बढीजसो गीत तेजस रेग्मीसँग युगल स्वरमा बजारमा आएका छन् । ‘रै’छौ नि गफी गफी…’, ‘जादु मन्तर…’, ‘पञ्चे बाजे…,’ जस्ता थुप्रै लोकदोहोरी गीत उनले तेजससँगै बजारमा ल्याइसकेकी छन् । जसमध्ये ‘पञ्चे बाजे…,’ रत्यौली तेजससँग एक महिनाअघि रिलिज भयो । तेजससँगै कल्पनाले राजु परियार, कुलेन्द्र विक, रमेश क्षत्रीलगायतसँग युगल स्वार दिइसकेकी छन् ।

पर्वत पैयुँ गाउँपालिकामा जन्मेकी कल्पनाको बाल्यकालदेखि नै गायनमा रुची थियो । गाउँघरमा हुने पुजा, विवाह, ब्रतबन्धजस्ता कार्यक्रममा लुकीलुकी गाउन पाएपछि उनी सबैकुरा बिर्सिन्थिन् । त्यसक्रममा एसएलसी गरेपछि उनलाई ‘गायिका’ बन्ने रहर जाग्यो ।

प्लस टु पढ्न स्याङ्जा वालिङ आएपछि तत्कालै उनले लोकगायनसम्बन्धी प्रतियोगिता ‘स्याङजा लोकतारा अवार्ड’मा भाग लिने अवसर पाइन् । सो प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफलसमेत भइन् । तर, भोटका कारण उनले बाहिरिनुप¥यो । मिठो स्वरकै कारण तत्कालै आँधीखोला एफएमले उनलाई लोकदोहोरीसम्बन्धी रेडियो कार्यक्रममा अनुबन्धित ग¥यो । गीत गाउँदै सो कार्यक्रम एक वर्ष चलाएपछि कल्पनालाई विष्णु माझीसँग गाउने अवसर मिल्यो ।

‘सोही क्रममा म उहाँसँग गाउन काठमाडौं गएँ तर मेरो स्वरको लेबल उहाँसँग नमिलेपछि गाउने अवसर पाइनँ र निकै दुःख लाग्यो,’ उनी सम्झिन्छिन् । तर, विष्णु माझीको गीति संग्रहमा उनको नाम गायिकाका रूपमा भने आयो । यसपछि त सबैले उनलाई ‘कहिले गीत गाउने ?’ भनेर हुटहुटी चल्न चल्यो । एफएममै कार्यक्रम चलाउँदा उनको थुप्रैसँग चिनजान भइसकेको थिए । कुलेन्द्र विश्वकर्मासँग उनले गाउने अवसर नै पाइन् ।

‘त्यसपछि फेरि काठमाडौं आएर कुलेन्द्र विश्वकर्मा दाइसँग ‘बस्दाखेरी एक्लै टोलाएर गएँ…’ गीत रेकर्ड गर्न पाएँ, यो गीत चलेपछि पनि स्याङजा नै थिएँ,’ कल्पना भन्छिन्, ‘अनि, प्लस टु सकेर गायिका बन्ने लक्ष्यसहित काठमाडौं आएँ ।’ कुलेन्द्रसँगै पछि अर्को लोकदोहोरी ‘दुनियाँले मुटु जलाए…,’ बजारमा आयो । यो पनि सर्वाधिक रुचाइयो । एकल स्वरमा पहिलो गीत २०६८ सालमा रेकर्ड गरेको उनी सम्झिन्छिन् । ‘रुँदारुँदै भिज्यो सिरानी…,’ श्रव्य गीति संग्रहकै रूपमा बजारमा आयो । यो एल्मबलाई अविरल म्युजिकले बजारमा ल्याएको थियो । यो गीतपछि उनको व्यवसायिक गायन यात्रा सुरु हुन्छ । अहिलेसम्म आधा दर्जन तीजगीत बजारमा आइसके ।

आफूलाई स्थापित गरेकी गायिका कल्पनाले दुई दर्जनभन्दा बढी लोकदोहोरीमा स्वर दिइसकेकी छन् । हालसम्म ‘रुँदारँदै भिज्यो सिरानी’, ‘रै’छौ नि गफीगफी’, ‘तामे गाँग्री’, ‘काँचो काँचो बेल’, ‘जादुमन्तर’, ‘बारुले कम्बर’, ‘पञ्चे बाजा,’जस्ता गीतिसंग्रह उनले बजारमा ल्याइसकेकी छन् । अब भने उनी ‘ताम्रेगाग्री २’ ल्याउँदै छिन् ।

कल्पनालाई लोकभाकाका सबै प्रकारका गीत मन पर्छन् । राजु परियारसँग गाएको दसैं गीत ‘आउन पाइनँ घर फर्केर…’ उनलाई निकै मार्मिक लाग्छ । यो गीत पाँच वर्षअघि दसैंमा ल्याइएको थियो ।

कोरोना महामारीअघि उनी मेला–महोत्सवमा व्यस्त थिइन् । अहिले बल्ल ‘स्टेज कार्यक्रम’ सुरु भएको उनले सुनाइन् ।

कतार, कुवेत, भारतको दिल्ली, मुम्बईजस्ता सहरमा उनले स्टेज कार्यक्रम गरिसकेकी छन् । अब चाँडै नै जापानमा ‘म्युजिक कन्सर्ट’ जान लागेको उनको कथन छ । आगामी दिन पनि रोइलालाई महत्व दिने बताउने कल्पना ‘लोकदोहोरी’ आफ्नो परिचय नै भएको सुनाउँछिन् । ‘तर, मौलिताका हिसाबले रोइला बढी मनपर्छ,’ उनको निष्कर्ष छ ।rajdhanidaily

You might also like