यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी

0

नेपालको यू-१८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ ।

यसपल्ट यू-१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ । लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ ।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक टिम भारतसँग खेल्ने नेपाली टिमको तयारी भने निकै फितलो छ । नेपालले फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण सुरु गरेको हो । प्रारम्भिक सूचीमा परेका ४० मध्ये एक साताको तयारीपछि ३० जनामा झारिएको छ । टिमले लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको मैदानमा प्रशिक्षण गरिरहेको छ । दर्शन भक्तराज लावत र राष्ट्रिय टोलीकी पूर्व भगवती भगवती थापाले प्रशिक्षण दिइरहेका छन् ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो । कोरोना महामारीका कारण सन् २०२० मा प्रतियोगिता हुन नसकेपछि एक वर्षपछि यू-१९ साफ च्याम्पियनसिपको नाममा आयोजना भयो । राउण्ड रोविन प्रणालीमा पाँच देशबीच प्रतिस्पर्धा हुँदा नेपाल तेस्रो भयो । फाइनलमा पुग्न सकेन । यसपालीको समेत गरी तीन संस्करणमा साफले तीन फम्र्याटमा प्रतियोगिता आयोजना गर्न लागेको छ ।

यू-१८ टिमबीचको प्रतिस्पर्धालाई नै निरन्तरता दिइँदा नेपाली टोलीमा प्रिती राईबाहेक अघिल्ला दुई संस्करण खेलेका सिनियर राष्ट्रिय टिमका खेलाडी टिममा छैनन् । यसको अर्थ नेपाली टोलीमा अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका खेलाडी अत्यन्तै न्यून छन् । एक महिनाको तयारी पनि नहुँदा ठूला प्रतिस्पर्धीसामू नेपाली टिमलाई चुनौति धेरै छ ।

नेपालको कप्तानी संहाल्ने तयारी गरेकी प्रिती राईलाई कम समयको तयारीका कारण आफूहरु अरु दुई टिमभन्दा कमजोर देखिने हो कि भन्ने चिन्ता छ । ‘हाम्रो लागि यो प्रतियोगिता महत्वपूर्ण छ । तर प्रशिक्षण अवधि धेरै थोरै भयो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘टोलीका हरेक खेलाडीले आफ्नो हिसावबाट पहिलादेखि नै तयारी गर्दै आएका कारण अहिले केहि सहज भएको हो । नत्र यति थोरै समयले यो प्रतियोगिता खेल्न सकिन्नथ्यो ।’

प्रशिक्षक भगवती थापा भने यसपाली टिमले राम्रो प्रदर्शन गर्ने दावी गर्छिन् । ‘अहिलेका बहिनीहरु निकै मिहिनेती छन् । अघिल्ला पुस्ताको तुलनामा यो टोली अनुशासित छन् । छोटो समयमै राम्रो सिकेका छन्,’ प्रशिक्षक थापालाई तयारी समय कम भएकाले उपाधि जित्ने लक्ष्य पूरा हुँदैन कि भन्नेमा शंका छ ।

प्रतियोगिताका लागि नेपालले हतारमा टिम घोषणा गरेको थियो । टिमका सबै खेलाडीको क्षमता पहिल्याएर अन्तिम टिम बनाउने समय पनि नपाउँदा प्रशिक्षकहरु चिन्तामा छन् । ‘विपक्षीहरु बलिया छन् । हाम्रो तयारी अपर्याप्त छ । खेलाडी छनोट गरेर प्रशिक्षण गर्न पाएको भए राम्रो हुन्थ्यो । हामीले अझै अन्तिम टोलीको छनोट गरेका छैनौं । प्रतियोगितालाई पुग्ने जति तयारी भएको छैन,’ थापाले थपिन् । नेपाल फागुन २८ गते भारत प्रस्थान गर्नेछ ।

चुनौतीपूर्ण यात्रा

गत पुस पहिलो साता आयोजित यू-१९ साफको फाइनलमा पुग्न नसक्दा नेपाली टिममा ६ जना राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए । त्यतिबेला नेपालले बंगलादेशसँग बराबरी खेलको थियो भने भारतसँग पराजित भएको थियो ।

यसपल्ट कम अनुभवी र नयाँ खेलाडीको साथमा नेपालले त्यही टोलीलाई हराएर प्रतियोगिता जित्ने लक्ष्य राखेको छ । नेपालको अन्तिम टिम घोषणा भइसकेको छैन । अहिले बन्द प्रशिक्षणमा रहेका ३० जनामध्ये यसअघि यू- १९ टोलीमा परेका ११ खेलाडी छन् । तीमध्ये धेरैसँग खेलको अनुभव छैन ।

‘भारत एकदमैै बलियो टोली हो । यस पटक हामी विजयी मानसिकतामा जानेछौं । हामी पनि सक्षम छौं भन्ने लाग्छ । दुवै टोली हामी बराबरकै हो । तर, हामी अवसरमा चुक्नु हुँदैन,’ प्रशिक्षक थापाले भनिन्, ‘यो प्रतियोगिता नै जुनियरको हो । राष्ट्रिय टोलीकै स्तरको प्रदर्शन खोज्नु हुँदैन । तर हामी हाम्रो शतप्रतिशत दिने प्रयासमा हुनेछौं ।’ साविक विजेता बंगलादेशका राष्ट्रिय टोलीका धेरै खेलाडी यस प्रतियोगितामा पनि दोहोरिनेछन् ।

आक्रमक शैलीको तयारी

कप्तान र प्रशिक्षकको आत्मविश्वासअनुसार नेपालले आक्रामक फुटबलको रणनीति लिएको छ । ‘अहिले भएका खेलाडीमा पनि हामीले जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ उसैले अन्तिम २३ मा मौका पाउनेछ,’ प्रशिक्षक थापाका अनुसार खेलाडीको क्षमता र टोलीको आवश्यकताअनुसार टिम छनोट हुनेछ ।

कप्तान प्रितीले पनि विपक्षीको स्तर विर्सेर आक्रामक र आत्मविश्वासी प्रर्दशन गर्न सके सकारात्मक नतिजा आशा गर्न सकिने बताइन । ‘हामी आफ्नो स्थानमा बलियो बन्नेछौ्रं । आक्रामक शैलीको विकास र रक्षापंक्ति चुस्त बनाउनुपर्नेछ । अहिले त्यसैको तयारी हुँदैछ,’ उनले थपिन् ।

पहिलोपल्ट टिमको कप्तानी अवसर पाएकी प्रितीले आफ्नो अनुभवका आधारमा बलियो रणनीति बनाउने बताइन् । भन्छिन्, ‘राष्ट्रिय टोलीको अनुभव देखाउने समय हो । फुटबलमा कप्तान र अन्य खेलाडी समान हुन्छन् । मैदानमा सबैले आफ्नो शतप्रतिशत दिने हो ।’

यू-१९ को छनोट आधार- उपमेयर कप

उमेर समूहको प्रतियोगिता नभएका कारण एन्फाले यसपल्ट यू-१८ राष्ट्रिय टिमका लागि गत कात्तिकमा आयोजित उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगितालाई बनाएको थियो । सो प्रतियोगितामा सिनियर टोलीको सहभागिता रहे पनि त्यसमा खेलेका १८ वर्षमूनिका उत्कृष्ट खेलाडी बन्द प्रशिक्षणमा बोलाइएका हुन् ।

प्रशिक्षक थापा भन्छिन्, ‘धेरैजसो खेलाडी उपमेयर कपबाट छानिएका छन् । त्यसबाहेक जिल्लासँग समन्वय गरेर जिल्लामा राम्रो खेलिरहेका केहि खेलाडीलाई राख्यौं ।’

हाल बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीको फिटनेस परीक्षण भइसकेको छ । टिमका कसैको पनि चोट वा फिटनेसमा समस्या छैन । ‘मेडिकल टिमबाट भएको फिटनेस लेभल टेष्ट र स्किल टेष्टमा सबैजना पास भएका छन्,’ उनले थपिन्, ‘हरेक खेलाडीले आफ्नो पोजिसनमा राम्रो खेलिरहेका छन् । प्रतियोगिताको बीचमा खेलाडी घाइते हुनु टोलीको लागि दुभाग्र्य जस्तै हो । हाम्रो खेलाडीको अहिलेको फिटनेस हेर्दा ती समस्या आउने छैनन् ।’ कप्तान प्रितीले पनि सबै खेलाडीको फिटनेस राम्रो भएकाले प्रतियोगितामा थप सहज हुने बताइन् ।onlinekhabar

You might also like