काठमाडौँ । नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ’नोट अफ डिसेन्ट’ लेखेका छन् । कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ ।शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए ।
अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन पार्टीको लाइन र म्याण्डेट विपरीत ‘राष्ट्रघाती कदम’ चालेपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा भाँडभैलो उत्पन्न भएको थियो । व्याख्यात्मक टिप्पणी घोषणाको नाममा आफ्नो हद दर्जाको दलाल तथा अवसरवादी चरित्र देखाएको र पार्टीको नीति र म्याण्डेटलाई लत्याएर आफूखुशी निर्णय गरेभन्दै प्रचण्डको घोर विरोध भइरहेको छ । र, पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।माओवादी केन्द्रको केही समयअघि सम्पन्न महाधिवेशन र संसदीय दलको बैठकले बिना संशोधन एमसीसी पास नगर्ने लाइन लिएको थियो । तर पार्टीका नेता र कार्यकर्ताहरुलाई बेवकुफ बनाउँदै प्रचण्डले कथित व्याख्यात्मक घोषणाको नाटक रचेर एमसीसी हुबहु पारित गरेपछि माओवादी केन्द्रभित्र राष्ट्रघाती दलालहरु र देशभक्त क्रान्तिकारीहरुको दुईधार (दुई लाइन) देखिएको शुक्रबारबाट जारी केन्द्रिय समितिको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।