कञ्चनगढीको पूर्वाधार विकासमा बर्दघाट नगरपालिका

0

बर्दघाट – बर्दघाट नगरपालिका–५ मा रहेको ऐतिहासिक तथा धार्मिक स्थल कञ्चनगढीको संरक्षण तथा विकासमा नगरपालिका लागि परेको छ । वि.स.२०४७ सालमा स्थानीय परमेश्वर चौधरीले पत्ता लगाएको कञ्चनगढीको संरक्षण विकास र प्रचारप्रसार जनप्रतिनिधि आएपछि हुन थालेको हो । स्थानीय तहको निर्वाचन अघि त्यहाँका गाँउवासीलाई मात्र थाहा भएको यो ऐतिहासिक कञ्चनगढीबारे अहिले भने स्थानीयस्तरमा बहस तथा चर्चा हुन थालेको छ । गढीको संरक्षण,विकास र प्रचारप्रसारमा बर्दघाट नगरपालिका लागेपछि त्यहाँ विकासका पूर्वाधार बन्न थालेको हो । बर्दघाटस्थित त्रिवेणीचोकबाट बाढीपिडित चोक हुदै सखुवानीबाट उत्तरतर्फ दुई चुरे पहाडको काखमा मनोरम कञ्चनगढी अवस्थित छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कञ्चनगढीको संरक्षण विकास र प्रचारप्रसार गर्न आफूहरु लागि परेको बताउनुहुन्छ । नगर प्रमुख बस्यालले नगरपालिकाले बिकट चुरे स्थल कञ्चनगढीमा विकासका आधारभूत पूर्वाधारहरुका संरचना निर्माणका गरेको बताउनुभयो । यसैबर्ष बिजुली बत्ती बाल्नका लागि तीब्र गतिमा बिद्युतीकरणको काम भइरहेको नगर प्रमुख बस्यालको भनाई छ । कञ्चनगढीको विकासका लागि गुरुयोजना निर्माण भएको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । यसैबर्ष बिजुली बाल्ने योजना छ ,पोल टांग्ने काम भइरहेको छ –उहाँले भन्नुभयो ।। यहाँ ढुंगामा कुदिएका बिभिन्न आकृति, स्वस्तिक चिन्ह , ओखल आकारमा ढुंगाहरु र ढुगाँबाट बनेका प्राचीन इट्टाहरु देख्न सकिन्छ । गढीमा हाल गढी पुग्ने खुडकिला, वनभोज स्थल मन्दिर तथा बिभिन्न संरचनाहरु बनाइएका छन् । बर्दघाट ५ मा वडाध्यक्ष रेश्मीराज भट्टराईले आफूहरु निर्वाचित भएर आएपछि संखुवानीबाट बाटो ग्राभेल गरेर सहज रुपमा कञ्चनगढी पुग्न सक्ने बनाएको बताउनुभयो । हामी आएपछि ग्रोभल भयो –उहाँले भन्नुभयो – अहिले राम्रै प्रचार पनि भएको छ । स्थानीय परमेश्वर चौधरी आफूले २०४७ सालतिर सपनामा मूर्ति देखेपछि त्यस स्थलमा गएर खन्दा केही मूर्ति र पर्खालजस्तो भग्नावशेष देखेपछि त्यसको संरक्षण गर्नुपर्छ भनेर लागि परेको बताउनुभयो । पहिले भन्दा जनप्रतिनिधि आएपछि गढीको विकास भएकोमा उनीले आफू खुसी भएको उहाँको दावी छ । कञ्चन गढीको भग्नाबशेषहरुको अध्ययनका लागि उत्खनन गर्नुपर्ने चौधरी सुझाव दिनुहुन्छ । जे भयो अहिले भएको हो – उनले भने – अझ धरै विकास गर्नुपर्ने छ । उत्खनन भए राम्रो हुन्छ । हामी खुसी नै छौ । बर्दघाट नगरमा यस्ता थुप्रै ऐतिहासिक तथा पर्यटकीय स्थल छन् । यहाँ मनोरम सौन्र्दयको धनी संसारकोट , ऐतिहासिक बुद्धमंगलताल, त्रिनेत्रेश्वरधामलगायतका स्थलहरु छन् ।

You might also like