कोरोनो आतंक र सन्देश

0

नरेन्द्रजंग पिटर


हरेकका नित्यकर्म अहिले फेरिए। तर के सोच्ने तरिका र पुराना मान्यता खज्बजिए त ? कोरोनाको सावधानी त जालो च्यात् ( ब्रेक द चेन) थियो। क्रमशः नभई क्रमभंगतामा मात्रै हुन सक्थ्यो। पुरानालाई छोड्न पनि नसक्ने, नयाँलाई पूर्ण स्वीकार गर्न पनि नसक्ने सांस्कृतिक विरासतले सामाजिक यथार्थ, गतिहीनता, जडता र प्रगतिशीलताबीच गम्भीर भिडन्त हुँदा पनि हामी परम्परामा हाँकिन अभ्यस्त छौं।

विश्वासको संकट

अहिलेको सबभन्दा ठूलो समस्या विश्वासको संकट हो। कसैले कसैलाई पनि विश्वासै गर्न सक्दैन। आफ्नै हात, परिवेशसँग आश्वस्त हुन नसकिने अदृश्य भयले चौतर्फी अविश्वास फैलायो। शासनका सुझाव, आदेश र सल्लाहलाई परिणामले लत्यायो। भ्रमका टकराहटसँगै मिडियाग्रसित समाज अन्योल छायो। मान्छे प्रियतम र सन्तानलाई उमंगले चुम्न भयग्रसित भयो। आपत–साहारा भगवान्, अल्लाह र ईश्वर मन्दिर, मस्जिद, चर्च खाली गरेर भागिसके तर कर्मकाण्डी हाम्रो सामाजिक विशेषता हो। सोह्र श्राद्ध र पर्वले छोपिसक्यो।

महामारीसामु खर्बपति र सडकपति समान भए। अणुबम र सम्पत्तिले कोरोना रोक्न सकेन। गरिबलाई ज्यान कसरी जोगाउने भयो। खस्किँदो हैसियत कसरी बचाउने मध्यम वर्गको पीडा। धनाढ्य र वर्चस्वशाली तप्का हैसियत नखस्कियोस् भन्ने जद्दोजेहादमा छ। आफ्नै योग्यता, क्षमता, दक्षता र आत्माविश्वास लड्खडाउँदा हरेक क्षेत्रमा विश्वासको संकट झेल्दै छ।

इतिहासबोध

हरेक शताब्दीमा महामारी आउने गरेका छन्। युरोपको महाप्लेगले चर्च र दरबारको शक्तिमा अंकुश मात्रै लगाएन, नयाँ चेतले औद्योगिक क्रान्ति, तर्कवादको विकासले अन्धास्थामाथि विज्ञान चेतको हस्तक्षेप, साहित्य, कला र संगीतमा पारेको प्रभाव, दर्शनको नयाँ तरिकाले परिभाषा र सोच्ने तरिका क्रमभंगता गरायो। युद्ध र महामारीको सामनासँगै अझ उन्नत हुँदै गए। समाज परिवर्तनले विपत्तिसँगै फट्को मार्ने गर्छ। संकटको सामना र समाधानको उपाय पत्ता लगाउँछ। यस्ता महामारीको पूर्वानुमान न ज्योतिषले गर्न सक्छन् न पात्रोमा उल्लेख। बरु धार्मिक पुस्तक या नस्त्रोदमको भविष्यवाणीलाई हित र क्षमताअनुसार व्याख्या भने हुने गरेका छन्।

असंख्य मित्र र शत्रु भाइरस हामीसँगै छन्। पर्यावरणको विनाशसँगै अन्य जीवमा रहेका भाइरसले नयाँ वासस्थान खोजे। कुनै अदृश्य शक्तिले हाम्रो रक्षा गर्ने हैन। गर्थे भने महामहन्थ नित्यानन्दले अयोध्या भारतमा राममन्दिर भूमिपुजन त प्रधानमन्त्री नरेन्द्र मोदीबाट गराएकै हुन्, स्वयं भने कोरोनाले भेन्टिलेटरमा पुगे। महामारीबाट कोही भागेर वा घन्टा बजाएर नभई सावधानीसँगै सामना गर्नु इतिहासको शिक्षा र सन्देश हो।

संकट र समाज

महामारीले महामन्दीसँगै ल्यायो। समुदायमा निराशता फैलिँदो छ। राज्य अभिभावक हैन, व्यवस्थापकसमेत बन्न सकेको छैन। धरती अत्यन्तै राम्रो छ, धनप्यासाले लुटे, चिथोरे, कोपरे, ध्वस्त बनाउँदै घर जलाउँदै आगो ताप्न थाले। सत्ता मतियार बन्यो। तब पर्यावरणको विद्रोह भाइरस बनेर प्रत्याक्रमणमा उत्रियो। अनावृष्टि, अतिवृष्टि, बाढी र पहिरो झेल्यौं नै। अब त सुक्खा पहिरोसमेत जान थाले। आत्महत्या तीन हजार पाँच सय नाघ्यो।

मित्र वा दुस्मन पनि समान हैसियतमै हुन्छ। हैसियतसँगै औकात र सम्बन्धका परिभाषा फेरिँदै जान्छन्। यस अवधिमा अत्यन्तै महत्त्वाकांक्षी मध्यम वर्गका कैयन् टावर ढले, थलिँदै गए। घरबाट फ्ल्याटमा फ्ल्याटबाट डेरामा सर्ने असंख्य भए। रातारात पसल छाड्नेको संख्या बढ्यो। गाडी चढ्ने मोटरसाइकलमा झरे, टुलेटका बोर्डले घर सजिन थाले। सपना बोकेर बिदेसिने ध्वस्त सपनासहित देश फर्कंदै छन्। स्वप्न मात्रै ध्वस्त भएको थिएन, कसरी नयाँ जिन्दगी सुरु गर्ने प्रश्न तेर्सिए। जीवन स्तरलाई घटाउँदै लग्यो। आसामीलाई लकडाउन भए पनि ब्याजको रेस थामिँदैन। ग्रेट इकोनोमिकल डिप्रेसमा फसेको एसियन टाइगरको अवस्था झैं अहिले सेल मार्केट, दुब्लाएका पत्रिका, रोजगार गुमेका चेहरा र चुलोमा देखिँदो छ। सेलमा गाडी र मोटरसाइकल थपिँदै छन्। जग्गाको भाउ घट्यो, कोठाभाडामा ग्राहक घटे। सन्तानलाई महँगा स्कुलबाट मध्यम, मध्यमबाट सस्ता स्कुलमा सार्ने त छँदै थिए, विदेशमा सन्तान पढाउनेले पैसा पठाउन सकेका छैनन्। उता रोजगार छैन। आर्थिक हैसियत खस्कँदै जाँदा वर्ग हैसियतमै उथलपुथल भयो। तुजुगमा इज्जत खोज्ने समाज औकात धान्न नसकेर छट्पटियो। अझ विलासिताका सामान र टीभी, फ्रिज लिलाममा देखिएका छैनन्। सामाजिक डिप्रेस एकैपटक ह्वात्त बढ्यो।

तलबाट माथि जाँदा संघर्ष हुन्छ, चुचुरो चुम्ने आशाले जोस रहन्छ। जब पुराना हैसियत खस्कँदै जान्छन् मान्छेमा डिप्रेस छाउँछ। प्रश्न ठिंग उभियो– जीवन रोज्ने कि जीविका ?

डिपे्रसको औषधि महामारी–भय, रोजगार–त्रास, गिर्दो आर्थिक हैसियतले व्याकुल बनाएको समाज ग्रेट–डिप्रेसमा फसेको छ। राजनीतिक परिवर्तनले एक फट्को त मार्‍यो तर सँगसँगै समाजमा अनौठो महत्त्वाकांक्षा पलाए। ती पूरा हुन नसक्दा त्यसै स्तरमा कुण्ठा देखिनु स्वाभाविकै हुन्छ। अर्कातर्फ क्रान्ति र परिवर्तनले बनाएका र भएका नायकले ओजन धान्न नसक्दाको राजनीतिक संकटले पनि डिप्रेसलाई मलजल गर्छ। महामारीसँगै ती छरप्रस्ट भए। एकाचर्फ चुप्पी संस्कृति बढ्यो भने अर्कातर्फ गाली गर्ने, कुण्ठाको आदर्शको बर्कोले छोप्ने, निकासको पहल नलिने र नजोडिने कुण्ठाग्रसित समूह पनि देखा पर्दै गए। ऊ मनका भडास उकेल्ने गालीमा सन्तोष खोज्दै छ। निकास सामाजिक सञ्जाल, जुम मिटिङ सकार र नकार भावना साट्ने र पहिचान खोज्ने मञ्च बन्दैछन्। जागृत सडक भने सुनसान छ। भावना, विचार, सोच र सपना साट्ने र चासो, चिन्ता र सपनी व्यक्तिने यस्ता मञ्चमा ‘बौद्धिकता, मानवता र राष्ट्रको चासो र चिन्ता, सरोकार र संलग्नताको’ बाढी नै आए। धेरैजसो यस्ता मञ्चमा देश, समाज ध्वस्त भइरहेको ‘चिन्ता’ व्यक्तिन्छ। क्षमता प्रदर्शन वा दायित्व प्रतिबद्धताभन्दा पनि यस्ता ग्रुप संवादमा एकातर्फ केही गरौं भन्ने हुटहुटी अर्कातर्फ रिटायर्ड मस्तिकका बुद्धिविलास, कुण्ठा निकास वा विविध प्रकारका सक्रियता भने देखिन्छन््। यो आफैंमा पहिचानको खोजी पनि हो। मूलतः सूचना प्रविधि उपयोग गर्दै यो डिप्रेस औषधि भने बनेको छ।

सत्ता सोच

युद्ध र महामारी संकटग्रस्त सत्ताको सञ्जीवनी बुटी बनिदिन्छ। सत्ताधारी सर्वज्ञानी ठान्छन्। आफ्नै हुकुममा समय र संकट हाँकिएको सोच्छन्। तर, समय मार्ग कसैको आदेशमा चल्दैन। संकट र दुर्घटना भने सावधानी, योजना, पहलकदमीले टार्न सकिन्छ। शासकको मूर्खता र अक्षमताको दण्ड त्यस मुलुकले भोगिरहेको हुन्छ भन्ने कुरा कोरोनाको राजनीतिक सन्देश बन्यो। शासकहरू मूर्खता जतिपटक दोहोर्‍याउँछन् त्यति नै आपूmलाई थप बुद्धिमान सोच्छन्। सिङ चिलाएपछि, जुध्यौ, जुध्यौ त हुन्छ तर कूटनीतिक सक्रियतामा भने सिंहभन्दा नजिकको बिरालो नै मुसालाई खतरा हुन्छ भन्ने हेक्का राख्दैनन्। जबसम्म अहंकार भत्किएर सो ठाउँ दायित्वले लिँदैन तबसम्म सत्ताधारीका घोषणा कूटनीतिक दाउपेच मात्रै भनेर बुझे हुन्छ। गम्भीर विषय विषयान्तर गर्ने र समय घर्काउँदै शक्ति सञ्चयका खेल भने धेरै दिन टिक्दैन।

जुत्ताले खुट्टा र मान्छेले मन दुखाउन थाले आफ्नो रहने भनेर बुझे भो। रक्सी थपिँदै गएपछि नसा चढ्दै जान्छ त्यस्तै मूर्खताले पनि समर्थन पाएपछि हौसिँदै जान्छ। मूर्ख, बौलाहा र जड्याहामा फरक हुन्छन् तर समान चरित्र भनेको आफू कुन अवस्थामा छु भन्ने सोच्दैनन्। जसले उसको अवस्था सम्झाउाछ त्यसलाई महादुस्मन सोच्ने गर्छन्।

राजीनामा घोषणा गर्दै ‘उग्र राष्ट्रवादी’ जापानी प्रधानमन्त्री सिन्जो आबेले तीतो यथार्थ व्यक्त गरे– राजनीतिमा मुख्य कुरा नतिजा देखाउनुपर्छ, सकिएन भने पदमा बसिरहन हुँदैन। मेरो स्वास्थ्य अहिले राम्रो छैन। स्वास्थ्य ठीक नभएको व्यक्तिले राम्रो निर्णय गर्न सक्दैन। त्यसैले मैले त्यति राम्रो काम गर्न सक्दिन भन्ने निर्णय गरें। ‘अस्वस्थ प्रधानमन्त्री पद सम्हालिरहन हुँदैन’ जापान त्यसै र एकै दिनमा बनेको हैन। रोगी शासकले चलाएको मुलुक रोगी बन्छ, रोगीले देश, समाज र संकटभन्दा पनि पहिला आफ्नै रोगको चिन्ता गर्छ भन्ने उनको भनाइ अन्य कति रोगी शासकहरूले शिक्षा लेलान् ?

निकास के ?

आलोचनात्मक चेत नभई वास्तविकतासँग भेट हुँदैन। शारीरिकभन्दा पनि मानसिक गुलामीले आशा र त्रासमा लतारेपछि नायक पैदा गर्नु, पूजा गर्नु नित्य कर्म बन्दिन्छ। व्यक्तिपूजा गर्नेको आत्मविश्वास कम भएर सोचकर्म अरूलाई जिम्मा दिएर थप्पडी मार्ने भीडमा फेरिन्छन्। व्यक्तिपूजाको सबभन्दा खतरा भनेको नायकलाई गलत तरिकाले सोच्न उक्साउनु हो। त्यसबाट जोगिनु र जागाउनु पहिलो कर्म हो।

अन्य भाइरसजस्तै कोरोना पनि एउटा हो। जीवन रोज्ने कि जीविकाको जवाफमा अब नित्यकर्ममा यससँगसँगै जीवन यात्रा गर्ने हो। यो आफैंमा कुनै रोग नभई हामीसँग रहेको अन्य रोगको बुस्टर मात्रै हो। प्रतिरोधी क्षमता कम भएपछि यसले रोगलाई तीव्रगति दिने रहेछ। यसलाई भयावह नबनाएर जीवन साथीको स्वाभाविक रूपमा लिनुपर्छ।

संकटग्रस्त शासकहरू कृत्रिम भय तयार गरेर सुरक्षित बंकर सोच्छन्। यसलाई चिर्न आवश्यक छ। अहंकार त्यागेर तुजुग प्रदर्शनबाट जोगिनु। फेरिएको आर्थिक हैसियतको तीतो यथार्थ सगोलमा पारिवारिक सल्लाह गर्दै स्वीकार गरेर कम खर्चमा जीवन धान्नु। नदीले अवरोध छिचोल्न सकेन भने शक्ति सञ्चय गर्न केहीबेर थुनिएर बस्न स्विकार्नुपर्छ। जब बाँध र पहाडले थुनिन्छ तब या ऊभन्दा या त अग्लो बन्छ या कमजोर थलो खोतलेर शक्तिशाली बाँधलाई भत्काइदिन्छ, पहाड पहिरो लडाउँछ नसके अर्को बाटो पहिल्याउँछ। तर जमेर भने बस्दैन, गति खोजिरहन्छ। तर खहरेको नियति भनेको जति गड्गडाए पनि या त ऊ नदीमा मिसनुपर्छ या बीचैमा सुक्नु। नदी र खहरेमा फरक यही हो। समस्याले आफैंसँग निकास लिएर आएको हुन्छ, चिन्नु वा नचिन्नु त्यो व्यक्तिको क्षमतामा भर पर्छ। असक्त र अक्षमले भ्रममुक्त हुँदै सक्षमलाई बाटो छोड्दिनुपर्छ नछाडे गलहत्याउन सक्नुपर्छ। सिंहलाई बाटो दिइन्छ, रोकिँदैन।..Annapurna post

You might also like