काेराेनाबाट निकाे भएकी ६१ वर्षीया वृद्धाकाे अनुभव- ‘काेराेना लाग्दैमा मरिँदैन, हौसला दिनुपर्छ’

0

तनहुँकाे व्यास- १ घर भएकी उनी पित्तथैलीको शल्यक्रियाका लागि पोखरा जाँदा कोरोना परिक्षणकाे रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनी एम्बुलेन्स चढेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेनमा पुगिन् । दुई दिनसम्म त सम्हालिन गाह्रो पर्यो । त्यसपछि बानी परिन् । अनि ९ दिन आइसोलेसन बसेपछि निको भएर घर फर्किइन् ।

अस्पताल जाँदा पीडाको आँसु झारेकी ती ६१ वर्षीया वृद्धा घर फर्किँदा उनका आँखाबाट खुशीका आँसु झरे । कोरोनालाई जितेर घर फर्किएकी वृद्धालाई कोरोनाले झट्ट मान्छे मार्दाे रहेनछ भन्ने बाेध भयाे । ‘कोरोना लाग्नेबित्तिकै मान्छे झट्ट मर्दाे रहेनछ’, उनले भनिन्, ‘सबैले माया गर्नुपर्छ, भेदभाव गर्नुहुँदैन- कोरोना लागेको मान्छेलाई ।’

‘म पोखराको आईशोलेसनमा बसेँ । त्यहाँ ९ दिन राखियो । स्वास्थ्यकर्मीले जे–जे भन्नुभयो, त्यो पालना गरेँ । पानी तताएर खाएँ । आयुर्वेदिक दबाइ खाएँ’, उनले अनुभव सुनाइन्, ‘आफन्तबाट सल्लाह-सुझाव पाएँ । सबैले हौसला बढाइदिनुभयो । आत्मबलले जित्न सकिँदो रहेछ कोरोना ।’  उनलाई कोरोना संक्रमण भएपछि परिवारका अन्य सदस्यमा परीक्षण गर्दा उनका छोरा-बुहारी र नाति-नातिनीलाई समेत संक्रमण भएको थियो ।

अरू पनि निकाे भए

कोभिड–१९ बाट संक्रमित भएका तर आइसोलेशनमा बसेर निको भएका संक्रमितको संख्या बढ्दै जान थालेको छ । तनहुँकै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले पनि कोरोनालाई जितेका छन् । होम आईशोलेसनमा रहेका पौडेलको बुधबार आएको रिपोर्टले नेगेटिभ देखाएको हो ।

अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने बताए । उनले भने, ‘कोरोना सङ्क्रमण भएको थाहा पाएपछि स्वास्थ्य मापदण्ड पालना गर्दै घरमै छुट्टै स्थानमा सुरक्षित रुपमा बसेँ । खासै लक्षण पनि देखिएको थिएन । ६ दिन होम आइसोलेसनमा बसेँ, कुनै औषधी प्रयोग गरिनँ । परिवारको सहयोगमा बेसार-पानी, कागतीपानी र बाफ लिने गरेँ, निकाे भएँ ।’

सोही दिन कोरोना सङ्क्रमित भएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए ।

देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको थियो ।

हालसम्म तनहुँमा २३१ जना कोरोना संक्रमित फेला परेकाेमा १८८ जना उपचारपश्चात निको भइसकेका छन् ।

News24Nepal

You might also like