हवाई क्षेत्रमा सिर्जित परिस्थिति र दीर्घकालीन योजनाको आवश्यकता
कोभिड- १९ अर्थात् कोरोना भाइरस महामारीका कारण अहिले हजारौं वैज्ञानिक, अध्ययनकर्ता, चिकित्सकलगायतको निन्द्रा हराम भएको छ । उनीहरू महामारीबाट सिर्जित समस्याको समाधानमा जुटिरहेका छन् । उनीहरूको मात्रै होइन, महामारीका कारण विश्वका तमाम नागरिककाे पनि चैन हराएकाे छ । अन्योलका बीच सबै कोरोनासँग पौठेजोरी खेलिरहेका छन् ।
महामारीले एकातिर मानवलाई आक्रमण गरिरहेको छ भने अर्कोतिर विश्वको अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाइदिएको छ । शक्तिशाली अर्थतन्त्र भएका मुलुकदेखि बामे सर्दै गरेका नेपालजस्ता मुलुकको अर्थतन्त्र उठ्न गाह्रो पर्ने अवस्थामा पुगेको छ ।
विश्वव्यापी कोरोना भाइरसका कारण हवाई उडानको क्षेत्र नराम्ररी थलिएको छ । मुलुकको अर्थतन्त्रको एउटा हिस्सा बोकेको उडान क्षेत्रमा लामो समयसम्म प्रतिबन्ध लगाइनु मुलुक र सम्बन्धित संचालकका लागि दुर्भाग्य हो । हालै विकसित मुलुकहरुमा भएको २०औँ हजार मानिसहरु कोभिडविरुद्ध सडकमा निस्कनुले पनि एउटा सन्देश दिएको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा चैत ११ देखि नेपाली आकाशमा उडान प्रतिबन्धित छ । उडानमाथि प्रतिबन्ध कोरोना समस्या समाधानको एउटा पाटो भए पनि अर्थतन्त्रका लागि भने अभिशाप बन्न पुगेको छ । सरकारले पनि नागरिक बचाउन भन्दै पटकपटक प्रतिबन्धको समयसीमा थप्दै गएको छ । यसले समस्यामाथि समस्या पैदा गरेको छ । एकातिर वर्षायामको समय, अर्कोतिर कोरोना महामारी । दुबैका कारण नागरिकहरु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । त्यसैले पनि सरकारले आन्तरिक उडानलाई विमानस्थल र स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सबैले पालना गर्दै उडान सुचारु गर्नु नै बुद्धिमत्ता हुनेछ ।
उडान नियमित बनाउनु आवश्यक
आज भारतलगायत युरोप, अमेरिकाजस्ता मुलुकले पनि नागरिक र अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक उडानलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले बाह्य उडानलाई आंशिक बनाएर आन्तरिक उडानलाई बढावा दिएका हुन् । छिमेकी मुलुक भारतमा पनि कोरोना महामारीसँगै बन्द आन्तरिक हवाई उडान दुई महिना अघिदेखि नै सुरु भइसकेको छ । यस्तै कोरोनाको इपिसेन्टर मानिएको चीन, युरोपियन मुलुकहरु जर्मनी, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन लगायतका धेरै मुलुकमा आन्तरिक उडानहरु निर्बाध रुपम संचालनमा छन् । यसैले पनि नेपाल सरकारले यथाशीघ्र हवाई उडानलाई नियमित बनाउनु आवश्यक छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली हवाई क्षेत्रको विकासका लागि अघि सारेका नयाँ हवाई नीतिले पनि आगामी दिनमा हवाई क्षेत्र थप बलियो हुन्छ भन्ने प्रशस्त आधारहरु छन् । आन्तरिक उडानमा साथ दिएका नेपाल एयरलाइएन्स, यति, बुद्ध, श्री, तारा, सीता, समिट लगायतका एअरलाइनसलाई सुरक्षा सतर्कता अपनाएर उडान भर्न दिन आवश्यक छ । कम्पनीको खस्कँदो आर्थिक घाटा र यात्रुको आवश्यकतालाई सरकारले ध्यानमा राख्नुपर्छ ।
यस्तै हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुको पनि उत्तिकै योगदान र जिम्मेवारी छ । यस्तो विषम परिस्थितीमा हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले विशेष खालका प्याकेज ल्याएर राज्य र नागरिकलाई थप सेवा प्रदान गर्नुपर्ने बेला आएको छ । यसका लागि राज्यले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुलाई ‘रेस्क्यु’ उडानमा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने, रेस्क्यु उडानका लागि उडान अनुमति दिने, जटिल प्रक्रियालाई थप सहज र सरलीकरण जस्ता काम गर्न आवश्यक छ ।
हवाइ यात्रा बढी सुरक्षित
विगतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए । तर कोरोनाका कारण यात्रु अभाव भने हुने पक्का छ । जसका कारण त्यसमा ठूलो कटौती हुने आशंका भने कायमै छ भने अन्तर्राष्ट्रिय तर्फ, नियमित उडानलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार covid -19 standard operating procedure अनुसार उडान संचालन र आन्तरिक तर्फको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आन्तरिक अभ्यास covid- 19 operation rehearsal र aviation safety risk management अनुसार नै यथाशिघ्र हवाई क्षेत्र खोल्न उपयुक्त हुनेछ।
हवाई यात्रा गर्दा WHO approved spray, उडान पश्चात जहाजको disinfection तथा यात्रा अवधिभर mask/face shield को प्रयोगले सडक यातायातबाट यात्रा गर्नुभन्दा धेरै सुरक्षित हवाई यात्रा मानिन्छ । हालको अवस्थामा गाडीमा यात्रा गर्दा ८/१० घण्टा लाग्दा सङ्क्रमण हुने जोखिमभन्दा गन्तव्य स्थानसम्म १ घण्टामा नै पुग्न सकिने हवाई मार्ग ज्यादै सुरक्षित देखिन्छ। जुन खुसीको विषय पनि हो ।
उडान नहुँदा विभिन्न शुल्क तिर्नुपर्ने बाध्यतामा रहेका वायुसेवा कम्पनीहरु आन्तरिक उडान खुला गरिए हालको अवस्थाबाट मुक्ति पाउनेछन् । समस्याका चाङलाई पन्छाएरै भए पनि राज्यले हालै घोषणा गरेको नयाँ मितिबाट सबै हवाई सेवा प्रदायक कम्पनीलाई विशेष तयारीका साथ आन्तरिक तथा बाह्य उडान गर्दा अर्थतन्त्र चलायमान बनाइराख्न सहज हुनेछ र हजारौ श्रमिकको आयश्रोत र आश्रित परिवारमा परेको क्षतिमा टेवा पुग्दछ ।
भविष्यमा पनि अन्य संक्रमण दोहोरिन सक्ने संभावनालाई मध्यनजर गर्दै हाल चरणबद्ध रोकथामको योजना र दीर्घकालिन नीतिको आवश्यकता देखिन्छ ।(लेखक हेलिकप्टर प्रशिक्षक पाइलटका साथै उद्धार उडान र हिमाली क्षेत्रको विज्ञका रुपमा चिनिनुहुन्छ)….News24nepal