जहाँ महिलाले आफ्नो नाम भन्दा कुटिनुपर्छजहाँ महिलाले आफ्नो नाम भन्दा कुटिनुपर्छ

0

-महजुवा नाउरोजी

पश्चिमी अफगानिस्तानकी एउटी महिला (हामी उनलाई राबिया भनेर बोलाउने छौं) गम्भीर ज्वरोले ग्रस्त थिइन्। त्यसपछि उनी डाक्टरलाई भेट्न गइन्। चिकित्सकले कोरोना भाइरस (कोभिड- १९) संक्रमण भएको पुष्टि गरे।

निकै गाह्रो महसुस गरिरहेकी रबिया घर फर्किन् र औषधि किन्न चिकित्सकले दिएको प्रेस्क्रिप्सन पतिलाई दिइन्। प्रस्क्रिप्सनमा पत्नीको नाम उल्लेख भएको देखेपछि उनका पतिले बेस्सरी कुटे। कारण थियो- अपरिचित व्यक्तिलाई आफ्नो नाम बताएको।

रबियाको यो कथा (जुन उनका एक साथीमार्फत बीबीसीमा प्रसारण गरिएको थियो) अफगानिस्तानमा अनौठो भने होइन। अफगानिस्तानमा परिवारका सदस्यहरू त्यसमा पनि महिलालाई आफ्नो नाम परिवारबाहेक बाहिरका मानिसलाई जानकारी दिन बन्देज लगाइएको हुन्छ। चिकित्सकलाई समेत नाम उल्लेख नगर्न बाध्य पारिन्छ।

एक महिलाले सार्वजनिक रूपमा आफ्नो नाम प्रयोग गर्नुलाई अपमानका रूपमा लिइन्छ। धेरै अफगानी पुरुषहरू सार्वजनिक रूपमा आफ्ना बहिनी, पत्नी वा आमाका नाम बताउन हिच्किचाउँछन्। महिलालाई सामान्यतः तिनीहरूका परिवारका जेठा पुरुष सदस्यका आमा, छोरी वा बहिनी भनेर चिनिन्छ र अफगान कानुनले पनि जन्मदर्ता प्रमाणपत्रमा बुवाको नाम मात्रै रेकर्ड गर्न भनिएको छ।

जब एक केटीको जन्म हुन्छ, समस्या त्यहींबाट सुरु हुन्छ। उनलाई नाम दिनका लागि पनि लामो समय लाग्छ। महिलाको बिहेको निम्ता कार्डमा पनि उनको नाम लेखिएको हुँदैन। बिरामी भएर अस्पताल जाँदा प्रेस्क्रिप्सनमा उनको नाम हुँदैन। अनि जब उनी मर्छिन्; मृत्युको प्रमाणपत्रमा पनि उनको नाम उल्लेख हुन्न। न त उनको नाम ‘हेडस्टोन’ मा देखिन्छ।

यतिखेर केही अफगानी महिलाले स्वतन्त्ररूपमा आफ्नो नाम प्रयोग गर्न पाउनुपर्ने भन्दै अभियानै सञ्चालन गरेका छन्। उनीहरूको नारा छ, ‘मेरो नाम कहाँ छ ? ’ यो अभियान तीन वर्षअघि सुरु भएको थियो। लालेह उस्मानीले आफ्नो नाम सार्वजनिक गर्ने न्यूनतम अधिकारबाट महिलालाई वञ्चित गरिएको महसुस गरिन्। ‘जन्म प्रमाणपत्रमा आमाको नाम पनि उल्लेख गर्न अफगानी सरकारलाई मनाउन अभियान एक चरणको सफलता नजिक पुगेको छ’, २८ वर्षीया उस्मानीले भनिन्।

पछिल्लो दुई सातायता यो अभियान सफलताको नजिक पुगेको छ। अफगानी राष्ट्रपति असरफ घानी निकट उच्च स्रोतका अनुसार उनले ‘केन्द्रीय नागरिक दर्ता प्राधिकरण’ लाई कानुन संशोधनका लागि निर्देशन दिइसकेका छन्। राष्ट्रपति घानीले बच्चाको जन्मदर्तामा आमाको नाम पनि उल्लेख गर्न निर्देशन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार कानुन संशोधन भएर राष्ट्रपति कार्यालय पुगिसकेको छ।

अफगानी पूर्वसांसद एवं महिला अधिकारकर्मी फाउजिया कोफीले आमाको नाम उल्लेख गर्ने विषयमा कानुन संशोधन भइरहेकोमा स्वागत गर्दै भनिन्, ‘यो धेरै वर्षअघि भइसक्नुपथ्र्याे।’ ‘राष्ट्रिय परिचयपत्रमा महिलाका नाम समावेश गर्ने कुरा केवल महिला अधिकारका विषय मात्र होइनन्, यो कानुनी अधिकार हो र मानव अधिकार हो।’ उनले भनिन्, ‘यो संसारमा अस्तित्वमा रहेको हरेक व्यक्तिको पहिचान हुनुपर्छ।’

तर यो अभियानलाई सार्थकता दिन सहज भने छैन। अभियानकर्ताहरूलाई डर छ कि उनीहरूले कट्टरपन्थी सांसदहरूको कडा विरोधको सामना गर्नुपर्ने हुन्छ। कतिपय सांसदले आफ्ना असन्तुष्टि व्यक्त गरिसकेका छन्। अधिकारकर्मी उस्मानीले राष्ट्रपतिको संशोधन आदेशलाई स्वागत गर्दै भनिन्, ‘तर भने यो लडाइँको अन्त्य होइन।’

उस्मानीले तीन वर्षअघि आफ्नो अभियान सुरु गरेलगत्तै अफगान सेलिब्रेटीहरूले भित्रभित्रै समर्थन गर्न थाले। गायक र संगीतकार फरहाद दरिया र गायक÷गीतकार आर्यना सइदलगायतले सहयोग गरे।

महिला अधिकारकर्मी र अफगानिस्तानका प्रसिद्ध गायकमध्ये सइदले भनिन्, ‘महिलाहरू स्वतन्त्र पहिचानको हकदार थिए।’ एक महिला सबै मानिसमा अगाडि हुन्छिन् र त्यसपछि मात्रै तपाईंकी श्रीमती, बहिनी, आमा वा छोरी हुन्छिन्। महिलालाई उनको पहिचानबाट चिनिन पाउने अधिकार छ’, उनले भनिन्। तर उनलाई त्यतिबेला यो अभियानले यति चाँडै सार्थकता पाउलाजस्तो लागेको भने थिएन।

यो अभियानमा समर्थनका साथसाथै उस्मानीले सामाजिक सञ्जालमा धेरै आलोचना खेप्नुपर्‍यो। कतिपय पुरुषले कतिसम्म आरोप लगाए भने उनी सन्तानको परिचय पत्रमा आफ्नो नाम लेखाउन चाहन्छिन् किनकि उनलाई आफ्ना सन्तानका बुवा को हुन् भन्ने थाहै छैन। धेरै महिलाले यो अभियानमा दिएका छैनन्। ‘जब मलाई कसैले मेरो परिचय माग्यो भने मैले मेरा भाइ, बुबा र आफन्तको इज्जतबारे सोच्नुपर्छ’, हेराट प्रान्तकी एउटी महिलाले भनिन्। ‘म मेरा बुवाकी छोरी, मेरा भाइकी बहिनी भनेर चिनिन चाहन्छु’ उनले भनिन्, ‘भविष्यमा मेरा पतिको नाम र त्यसपछि छोराको आमाका रूपमा।’

‘अफगानिस्तान एक पितृसत्तात्मक सोच हावी छ, जहाँ पुरुष सम्मानका लागि महिलाहरू आफ्नो शरीर लुकाउन मात्र नभई उनीहरूका नाम लुकाउन बाध्य हुन्छन्’, अफगानी समाजशास्त्री अली काभले भने। अफगानी समाजमा सबैभन्दा सभ्य महिला नै ती हुन्, जसलाई देख्न र सुन्न पाइँदैन।’ एउटा भनाइ नै छ- सूर्य र चन्द्रमाले उनलाई देखेको हुँदैन।

कट्टर र कडा पुरुष भएको समाजमा सबैभन्दा सम्मानित र सम्माननीय पनि पुरुष नै हुन्। उनीहरूको परिवारका महिला सदस्य उदार छन् भने पुरुषहरू आफू अपमानित र बेइज्जत भएको महसुस गर्छन्।

ब्रिटेनमा रहेको सरे टेक्नोलोजी सेन्टरमा कार्यरत अफगानी मेडिकल फिजिकविज्ञ साकारोखत जाफरीले भनिन्, ‘अफगान महिलालाई स्वतन्त्र पहिचानका लागि आर्थिक, सामाजिक र भावनात्मक स्वतन्त्रता र देशको संसद्को सहयोग चाहिन्छ।’ महिलालाई आफ्नो पहिचान दिन इन्कार गर्नेहरूविरुद्ध सरकारले कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।

अफगानमा दुई दशकअघि तालिवानी शासनको पतनदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले महिला अधिकारका विषयमा विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। तर अहिले पनि राबियाजस्ता महिलाले चिकित्सकलाई आफ्नो नाम बताएकोमा पतिबाट कुटिनुपरेको छ र यसविरुद्ध बोल्न उत्तिकै जोखिमपूर्ण छ।

अफगानिस्तानमै महिलालाई उनीहरूको सार्वजनिक पहिचानमा बन्देज लगाइए पनि अफगानिस्तान छाडेका महिलाका लागि भने सहज छ। फरिदा सदातले बालबिहे गरिन्। १५ वर्षको उमेरमै उनले पहिलो सन्तान जन्माइन्। उनका पति पछि अलग भए। अहिले उनी आफ्ना चार सन्तानसँग जर्मनीमा बस्दै आएकी छन्।

सदातले आफ्ना सन्तानको जीवनमा उनका पतिको शारीरिक वा भावनात्मक कुनै उपस्थिति छैन। त्यसैले उनी चाहन्छिन्- अफगानिस्तानमा उनका सन्तानको परिचयपत्रमा पतिको नाम होइन; उनको नाम उल्लेख होस्।

‘मैले नै बच्चालाई हुर्काएँ। पतिले मलाई सम्बन्ध-विच्छेद गर्न इन्कार गर्नुभयो। त्यसैले म अर्काे बिहे गर्न सक्दिनँ’ उनले भनिन्, ‘म अफगान राष्ट्रपतिलाई कानुन परिवर्तन गर्न र जन्म प्रमाणपत्र र परिचयपत्रमा आमाको नाम राख्ने व्यवस्था गर्न आह्वान गर्छु।’

स्विडेनमा शरणार्थी जीवन बिताइरहेकी सहर नाम गरेकी एक अफगान महिला जो पहिला स्वतन्त्र पत्रकारका रूपमा काम गर्थिन्; उनी अहिले एक नर्सिङहोममा कर्यरत छिन्। उनी अभियानको सुरुदेखि नै कट्टर समर्थक थिइन्। जब उनले पहिलोपटक यस अभिायनबारे सुनिन्, उनले तत्कालै सामाजिक सञ्जालमा लेखिन्, ‘मेरो नाम सहर हो भनेर लेख्न पाउँदा मलाई गर्व छ। मेरी आमाको नाम नसिमेह हो। मेरी आमाकी हजुरआमाको नाम सहजाद हो र मेरा बुवाका हजुरआमाको नाम फुखराज हो।’

Annapurna post

You might also like