कर्मशील जिन्दगी बगिरहने नदी,जहाँ रोकिन्छ त्यहीँ सकिन्छ

0

जीवन केही गर्नका लागि हो। यसर्थ, सधैं कुनै न कुनै काममा तल्लिन रहनुपर्छ। कुनै अवसर आइपुग्नुअघि नै त्यो अवसरका लागि आफू योग्य बनिसक्नुपर्छ। यसैले भोलि तयारी गरौंला भन्नु हुँदैन। आजको समय हाम्रो हातमा छ, जसको भरपुर उपयोग गर्नुपर्छ। भनिन्छ, समय आउँछ फर्किंदैन, बगेको खोला फर्किंदैन। कामले कर्मयोगी शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ। केटाकेटीलाई प्रकृतिसँग रम्न दिँदा छिटो सिक्दछन्। उनले व्याक टु नेचर भन्ने पुस्तकमा यस्को व्याख्या गरेका छन्। पानीले रुझिन्छ। आगोले पोल्छ भन्ने कुरा सिकाएर भन्दा अनुभव गरेर छिटो सिकिन्छ। यसर्थ हामीले ‘लर्निंङ वाई डुइङ’को सिद्धान्तअनुसार गर्दै गएपछि सिक्दै जाने हो। हात बाँधेर बस्नेले सिक्ने कुरै छैन। यसर्थ, काम गरे कर्मयोगी भइन्छ। कर्मयोगीका गुण अर्का शिक्षामनोविद् प्याभलवले गल्तीबाट प्रभावकारी सिकाइ हुने अवधारणा अघि सारेका छन्। भनिन्छ, गल्ती त्यसैले गर्दैन, जस्ले केही गरेकै छैन। कर्मप्रधान गीताले पनि यस जीवनमा गरेको कुनै पनि कार्य व्यर्थ हुँदैन, यसर्थ सदैव कर्ममा जुट्नुपर्छ भन्ने सन्देश दिएको छ। यर्थाथमा गल्ती होला कि भनी काम नगर्नेहरू सफलताको हकदार हुनै सक्तैनन्। प्रस्तुत सन्दर्भमा केही विद्वानका भनाई अति नै मननीय छन्। उदाहरणका लागि शिक्षाविद् किम्बलले मानिसले अन्तरदृष्टिबाट सिक्छ भनेका छन्। यसर्थ, हरेक मानिसले आफूभित्र रहेको उत्साहलाई कामको माध्यमद्वारा प्रकट गर्नुपर्छ। अर्का शिक्षाविद् यङले प्रेरणाले मानिसले सिक्ने कुरा बताउनु भएको छ। यसका लागि हामीले अन्य व्यक्तिको सफलताका कथा पढेर आफू पनि कर्ममा तल्लीन हुन सकिन्छ। यसैगरी, एलिस क्रोले पनि आन्तरिक प्रेरणाबाटै मानिसले सिक्ने कुरा  बताएका छन्। साथै, शिक्षाविद् पेस्तालोजीले सिक्ने व्यक्तिको जागरुकताले मात्रै सिक्न सकिने कुरा बताए भने बान्दुराले शिक्षक प्रशिक्षकको रोलमोडलबाट सिकाई प्रभावकारी हुने धारणा राख्छन्। यसरी हामी केही गर्न अग्रसर भएपछि पाइलैपिच्छे सिक्दै जान्छौं र कर्मयोगी कहलिन्छौं।

अंग्रेजीमा एउटा भनाइ छ, म्यान मेड फरफेक्ट वाई प्राक्टिस्। अर्थात् काम गरेपछि नै मानिसमा निखार आउँछ। काम गरेपछि बानी पर्छ र काम गरिरहन मन लाग्छ। यसलाई अंग्रेजीमा ह्याविट्स कम फ्रम ह्याविट्स पनि भनिन्छ। काममा पारखी हुने सूत्र काम गर्ने नै हो। कामले प्रभाव जमाउँछ हरेक मानिसको लागि वर्तमान समय अत्यन्त मूल्यवान हुन्छ। यसर्थ, कुनै पनि अनावश्यक काममा संलग्न हुने वा व्यर्थमा स्पष्टीकरण दिएर आफ्नो उर्वर समय नष्ट गर्नु हुँदैन। भनिन्छ, हजारौँ माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ। यसर्थ, हरेक व्यक्तिले पहिलो पाइलामै सफलता चुम्नुपर्छ। नत्र, पहिलो गाँसमै ढुंगा हुन्छ। जसकारण हरेक मानिस पहिलो पाइला चाल्न र पहिलो वक्ता हुन वा शब्द निकाल्न डराउने गर्छन्। खोलोमा फड्के प्रयोग गर्दा एउटा खुट्टा मचक्क टेकिएपछि मात्रै अर्को खुट्टा उचाल्नुपर्छ। मानिसको व्यक्तित्व पहिलो पाइलाबाटै आँकलन गरिन्छ। यसलाई अंग्रेजीमा मर्निङ सोज द डेज पनि भनिन्छ। नेपालीमा, खुट्टा देख्दैमा कस्तो नाच्लिन् भन्ने अनुमान गर्न सकिन्छ भन्ने भनाई अघि सारिन्छ।

जान्नेले गर्छ एउटा विश्वविख्यात सत्य छ, मूर्खहरू सोचेर बस्छन्, तर बुद्धिमानहरू जिज्ञासा प्रकट गरेर काम गर्छन्। यर्थाथमा आफ्ना कमजोरी थाहा पाउनु ज्ञानको एक चरण पार गर्नुसरह नै हो। जस्ले प्रश्न सोध्छ, उ तत् समयको लागि मूर्ख ठहर्छ। तर, जसले प्रश्न सोध्दैन, ऊ जीवनभरि मूर्ख नै रहन्छ। साच्चै भन्नुपर्दा, पढ्नु दुःखको सामना गर्नु हो। तर,अवलोकन गर्नु सिकाइको आधार तयार गर्नु हो। प्रयोग  गर्नु भनेको आफूमा भएको ज्ञान र सीपलाई प्रमाणीकरण गर्नु पनि हो। यसर्थ, हामीले जानेर पुग्दैन गरेर देखाउनुपर्छ। कर्मको फल एउटा नीति कथाअनुसार एक नौजवानले घाटमा लास जलाउने नोकरी पायो। ऊ आफ्नो काममा यत्ति दत्तचित्त थियो कि साविकमा लास खरानी हुन् ५।६ घण्टा लाग्थ्यो। सो केटोको कामको लगावले लासहरू २/३ घण्टामा खरानी हुन थाले। मृत आत्माहरूले पनि आफू आधा समय मात्रै आगोमा पालिनु परेकाले सो नौजवानलाई स्यावासी दिन थाले। सो केटोको स्याबासी स्वर्गमा समेत चर्चाको विषय बन्यो र कर्मकै फलस्वरूप ऊ सोझै स्वर्ग पुग्यो। यसर्थ, जो जे काममा छ, उसले सोही काम इमान्दारीसाथ सम्पादन गर्ने हो। कामको धर्म नै यही हो। कर्म मार्ग प्रत्येक मानिसको सत्कार्य सधै ठीक ठाउँमा पर्छ। यसर्थ, सत्विचारले काम गर्दा गल्ती होला कि भन्ने शंका लिनु पर्दैन। हिमालबाट शुरु भएको खोला बाटो नसोधी हिँड्दा पनि समुद्रमा पुग्छ।

कर्मले मानिसलाई व्यवस्थित हुन सिकाउँछ। जीवनको मुख्य रहस्य नै कामको व्यवस्थापन हो। एउटा भनाइ निकै मननीय छ, मानिस पैसा नभएर गरिब हुने होइन, आफ्नो सम्पत्तिको उपयोग गर्न नजानेर गरिब हुन्छ। यसर्थ, मानिस काम नपाएर बेरोजगार हुने वा काम नपाएर दुःखी हुने होइन, उपलब्‍ध काम नगरेर चिन्तित हुने हो। भनिन्छ, सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे हुन्छ। यसैगरी व्यस्त रहन काम गर्नुपर्छ। काम गरेपछि आर्जन हुन्छ। आर्जन, कहिले नगदमा, कहिले प्रतिष्ठामा र कहिले आत्मसन्तोषमा विम्बित हुन्छ। सक्ने काम गर्ने हो काम सानो ठूलो हुँदैन। सबै कामले अपेक्षित परिणाम ल्याउने पनि होइन। तथापि काम गर्नुपर्छ। अन्यथा, प्रकृतिको नियम उल्लंघन हुनेछ। एउटा कथाअनुसार गाउँमा भीषण आगलागी भएछ। मानिसहरू आगो निभाउन थालेछन्। एकजना वृद्धा सकी नसकी बाल्टिनको सट्टा गिलासमा पानी लिएर आगो निभाउँदै थिइन्। एउटा अल्छी तर हल्का बिरामी भएको युवकले यो देखेर सोध्यो, तपाईंको गिलासको पानीले आगो निभ्ने हो? वृद्धाले भनिछन्, यो गाउँको आगो निभेपछि यसको समीक्षा हुनेछ। यसमा कसले आगलागी गरायो? भनी खोजी हुनेछ। सो बखत हाल मैले गिलासको पानी हालेबापत समाजले यस वृद्धाले आगो लगाएकी होइनन्, आगो निभाउन लागिपरेकी थिइन् भन्ने सूचीमा मेरो नाम दर्ज गर्नेछ। यसका लागि पनि यत्तिखेर मैले जे गर्न सक्छु सो गर्नुपर्छ, भनिछन्। अल्छी केटोले समय र कामको महत्व बुझेछ। ऊ बाल्टिनमा पानी लिएर आगो निभाउन कुदेछ। हामीले पनि जीवनभरी काम गरिरहनुपर्छ। कामले हामीलाई कुदाइरहन्छ। जीवनको स्वर्गीय आनन्द यही कामभित्र छ। स्वर्ग खोज्न कहीँ जानु पर्दैन। आफूलाई तोकिएको काम तन, मन र वचनले गर्ने व्यक्ति सधैँ यसै पृथ्वीमा रहेको स्वर्गमा रजगज गरिरहन्छ। त्यसैले भनिन्छ कर्मशील जिन्दगी बगिरहने नदी हो। जहाँ रोकिन्छ जीवन सकिन्छ।

Thaha khaber

You might also like