महान् र त्यागी कम्युनिष्ट नेता पुष्पलाल

0

मथुरा प्रसाद श्रेष्ठ

पुष्पलाल! उहाँ मेरो पहिलो राजनीतिक गुरुहरूमा पनि प्रमुख। २००७ सालको मंसिर अन्ततिर हुनुपर्छ जुलुसमा झण्डै गोली लागेको हल्ला सुनेर बा आउनु भएर हामीलाई बन्दीपुर लानुभयो। त्यति बेलाभन्दा पहिले हामीलाई गौरीभक्त प्रधान, बासुदेवान्द वैद्य आदिले मार्क्सवादी साहित्य पढ्न र मनन गर्न लगाइसक्नु भएको थियो। बन्दीपुर पुगेपछि मार्क्सवादी अध्ययन कायम राख्‍न दाजु कदम र कृष्णलालले सघाउनु भयो। पुष्पलाल पनि त्यहीँ भूमिगत बस्नु भएकोले उहाँले द्वन्द्वात्मक भौतिकवादको अध्ययन सुरु गराउनुभयो। बुझ्न सजिलो गर्न उहाँले लिनु भएको ब्रम्हाण्ड र मानव विकासको प्रवचनको श्रृंखला धेरै रोचक र अविस्मरणीय थियो।

केही दिनपछि पुष्पलाललाई सिपाहीहरूले खोजेको भनी बसेको डेन (भूमिगत स्थल) सार्ने दाजुहरूसँगको निर्णयअनुसार झिसमिस बिहानै पुष्पलालसँग हिँड्ने मौका पाएँ। कसैले शंका नगरोस् भनी दुवैजना हिँड्यौँ। बाटो मलाई थाहा नभए पनि उहाँलाई थाह रहेछ। जंगल खोल्सा हुँदै मेरो निम्ति कहाँ पुगियो पुगियो जस्तो लाग्यो। करिब १० बजेसम्मै हिँडिरह्यौं। ‘भोक लाग्यो?’ भनी उहाँले सोध्नु भो। हो भनें जंगलमा के पाइन्छ मनमनै निराश भएर। राजनीतिमा भोक प्यास र सबै खाले समर्पणको आवश्यकता बारे छोटो तर बिर्सनै नसक्ने गरी सम्झाउनु भयो। केही छिनपछि एउटा खोलामा माछा मारिरहेको दुई माझी देखियो। अलिकति झिँगे माछाहरू पारिसकेको थियो। बेच्न पहिला त मानेको थिएन तर पुष्पलालले केही छिन अनुरोध गरेपछि मान्नुभयो। सुका पैसा भाउ लगाउनु भो। उहाँले तिरेपछि परेको सबै जिउँदै झिँगे माछो पातमा राखिदिनु भयो। मलाई बोक्न दिनुभयो र फेरि बाटो लाग्यौं। करिब एक घण्टा अरू हिँडेपछि एउटा गोठ देखियो र त्यतै लागियो।

कुनै वस्तु बाँधिएको थिएन। कोही मानिस पनि देखिएन। माथिल्लो खुला तलामा पराल, ओइलिसकेको केही घाँस, सानो चुलो, केही दाउरा र सानो पुरानो सन्दुक जस्तो काठको बाकस रहेछ। साँचो नलागेको बाकस खोली हेर्दा काठको कटौरामा थोरै तर रहेछ। उहाँले आफ्नो खल्ती छाम्नुभयो खाली रहेछ। तब, ‘ए मथुरा, तिमीसँग कति पैसा छ?’ उहाँले सोध्नुभयो। मसँग पनि सुका मात्र रहेछ, दिएँ। पुष्पलालले एउटा चुरोटको खाली बट्टाको खोल खोलेर भित्रपट्टि चिठ्ठी लेख्न थाल्नुभयो गोठ मालिकलाई, ‘माफ गर्नु होला, कोही नभएकोले बाकस खोली अलिकति घिउ बनाउने तर, ताप्के र दाउरा चलाएँ, भोक मेट्न। बापतमा एक सुका छोडेको छु। अन्यथा नलिनु होला – विवश बटुवा’ भनी चिठ्ठी लेखी त्यसैमा सुका पैसा पोको पारी राखी सन्दुक बन्द गर्नुभयो। त्योभन्दा पहिले मैले झिँगे माछा देख्या थिइन। कालो र खैरो रङको वालावाला चली रहेको झिंगेको पोका देख्दा घिन मान्दै ‘कसरी खान सकिन्छ?’ भनेपछि मीठो हुन्छ भनी सम्झाउँदै तातो तरबाट निस्केको घिउमा तार्न थाल्नुभयो पुष्पलालले। एकछिनपछि झिँगे

माछा रातो, आकर्षक र मीठो बास आउने भयो। पाकेपछि त्यही भाँडोमा आधा आधा छुट्याई क्वापक्वाप खाने हो भन्दै सिकाउनुभयो। खान थालेपछि कस्तो लाग्यो भनी सोध्नुभयो। मीठो रहेछ भन्दै खान थालें।​ पुष्पलालले एक दुई मात्र खानु भई ‘मलाई पेट दुखेकोले यति मात्र खान्छु। बाँकी तिमी सबै खानु’ भन्दै मलाई कर गरी सबै खुवाउनुभयो। पछि मलाई लाग्यो, सानो बच्चै छ, मेरो पेट भरिँदैन भनी उहाँले त्यो बहाना बनाएको हुनुपर्छ भनी। त्यस्तो महान् र त्याग गर्न सक्ने हुनु हुन्थ्यो पुष्पलाल! कहिलै बिर्सन सक्ने छैन म। त्यसपछि जंगलै जंगलको बाटो भई सूर्यास्त बेला एक मगर गाउँ पुग्यौं। त्याहाँ बस्ने सबै जसोलाई चिन्नु हुँदो रहेछ पुष्पलालले। साँझ खाएपछि मलाई सुत्नु भनेर उहाँहरू बैठक बस्न लाग्नुभयो। (प्रो डा मथुराप्रसाद श्रेष्ठको फेसबुकबाट)

Thaha khaber

You might also like