देवदह नगरपालिकाको नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत

कृषि उत्पादनलाई विशेष जोड

0

रुपन्देही १० असार – रुपन्देहीस्थित देवदह नगरपालिकाको ७ औं नगर सभाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र पशुपालनलाई प्राथमिकता दिएको छ । बुधवार नगरसभामा आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । नगरपालिकाको ७ औं नगरसभामा नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हिराबहादुर खत्रीले कोरोना भाईरसका कारण देश त्रासपूर्ण अवस्थामा रहेकोले नगरपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो । देवदह क्षेत्रमा उत्पादन भएका कृषिजन्य पदार्थको कृषि उपज संकलन केन्द्रद्धारा बजारीकरण गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै कोभिड १९ बाट प्रभावित भई विदेशबाट स्वदेश फर्केका युवाहरुलाई कृषिमा आकर्षित गरी उत्पादन अभिबृद्धि लागि प्रदेश र संघीय सरकारको सहकार्यमा उत्पादन सामाग्री तथा साना कृषि औजार एवं यन्त्र उपकरण अनुदानको व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो । त्यस्तै देवदहलाई पर्यटन सगं जोड्नको लागि नगरमा होमस्टेको अवधारणलाई सार्थक तुल्याउन लागि पर्ने बताउनुभयो । देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गर्न देवदह क्षेत्रमा रहेका विभिन्न पार्कको प्रवद्र्धन र पार्कहरुमा पृथक पहिचान झल्कने खालको कामहरु गर्ने नगर प्रमुख खत्रीले बताउनुभयो ।
उहाँले देवदह नगरपालिकाको चचारवटै सिमा क्षेत्रमा बौद्ध पहिचान झल्किने गरी प्रवेशद्धारा निर्माण कार्यलाई अगाडि बढाउने बताउनुभयो । देवदह नगरपालिका भित्रको कृषियोग्य जमिनमा सिचाईको व्यवस्था गरिने नगर प्रमुख खत्रीले बताउनुभयो । नगर उपप्रमुख विद्यालक्ष्मीको अध्यक्षता र गंगाप्रसाद पन्थीको संचालनमा नगर सभा सम्पन्न भएको थियो ।

You might also like