सूर्यग्रहण कतै वलय, कतै खण्डग्रास

0

जयन्त आचार्य

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा जब चन्द्रमाको छायाँ पृथ्वीमा आइपुग्छ त्यसबेला छायाँभित्र परेका मानिसले सूर्यग्रहण भएको देख्छन् । चन्द्रमाको छायाँ एक हजार किलोमिटर लामो तथा दुई सय पचास किलोमिटर चौडाइको हुन्छ । यही क्षेत्रका मानिसले सूर्यग्रहण देख्ने गर्दछन् । यस्तो छायाँ सधैँ एकै ठाउँमा देखिंदैन । त्यसैले सूर्यग्रहण कुनै देशबाट देख्न सकिन्छ भने कुनै देशबाट देख्न सकिँदैन ।
पृथ्वीमा सघन र विरल गरी दुई प्रकारको छायाँ पर्छ । सघन भनेको मुख्य छायाँ हो, जुन बढी अँध्यारो हुन्छ भने विरल भनेको कम अँध्यारो छायाँ हो । सघन छायाँले छेकेकोे ठाउँमा परेका मानिसहरूले खग्रास अथवा वलय सूर्यग्रहण भएको देख्छन् अर्थात् सूर्य पूरै ढाकिएको देख्छन् । विरल छायाँमा परेका मानिसले खण्डग्रास अर्थात् सूर्यको केही भाग मात्र छेकिएको देख्छन् । यसरी उही ग्रहण कसैले पूरै ढाकेको देख्छन् भने कसैले अलिकति मात्र देख्छन् त कसैले ग्रहण देख्ने मौका पाउँदैनन् । आज (असार ७ गते आइतबार) लाग्ने सूर्यग्रहण नेपालीका लागि खण्डग्रास सूर्यग्रहण हो भने अफ्रिकाका केही मुलुक, दक्षिण पूर्व युरोपका केही मुलुक तथा एसियाका केही मुलुकका लागि वलय सूर्यग्रहण हो । अफ्रिकी मुलुक कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, ओमान, यमन, पाकिस्तानको दक्षिणीभाग, उत्तर भारतको देहरादुन, चीन तथा ताइवानवासीले यो सूर्यग्रहणको हीराको औँठी जस्तो (जसलाई रिङ अफ फायर भनिन्छ) अलौकिक दृश्य देख्न पाउनेछन् । हाम्रै देशको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट अधिकतम ढाकेको देख्न सकिन्छ भने काठमाडाँैबाट खण्डग्रास सूर्यग्रहण देख्न सकिने भएको छ ।
नेपालका लागि खण्डग्रास सूर्यग्रहण हो भने यो नेपाली समयअनुसार बिहानको १० बजेर ५५ मिनेटमा प्रारम्भ भई २ बजेर २४ मिनेटमा समाप्त हुनेछ । दिउँसो १२ बजेर ४१ मिनेट जाँदा सूर्य सबभन्दा धेरै ढाकिएको देखिने र त्यसबेलामा साँझ परेको अनुभव हुनेछ । यो समयमा तापक्रम केही घट्न जानेछ । यस दिन सर्वसाधारणले दुईपटक बिहान भएजस्तो अनुभव गर्नेछन् । यो ग्रहणमा काठमाडाँैबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिनेछ भने लिपुलेक, कालापानी लिम्पियाधुरा क्षेत्रबाट भने ९८ प्रतिशत सूर्य ढाकिएको देखिन्छ । यही सूर्यग्रहण भारतको कुरmक्षेत्र, देहरादूनबाट भने वलय सूर्यग्रहण देख्न सकिनेछ ।
उस्तैखाले सूर्यग्रहण भने करिब करिब अठार महिनाको अन्तरमा देख्न सकिन्छ । अधिकतम सूर्यग्रहणको खग्रास अवधि सात मिनेट ३१ सेकेण्डसम्मकोे हुने गर्दछ । विश्वप्रसिद्घ हार्वर्ड विश्वविद्यालयका प्राध्यापक साम्युअल विलियम्सले आजभन्दा ३२० वर्षअगाडि सन् १७८० अक्टोबर २७ मा लागेको सूर्यग्रहणका बेलामा आफ्नो अध्ययन गरेको इतिहास भेट्न सकिन्छ भने सन् १९६८ मा लार्कयर नामक खगोलविद्ले सूर्यग्रहणका बेलामा हाम्रो वायुमण्डलमा हेलियम ग्यास रहेको कुरा पत्ता लगाएका थिए । अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्घान्त ग्रहणका बेलामा प्रमाणित भएको थियो । सूर्य, चन्द्रमा र पृथ्वीबीचको दूरीको सही नाप पत्ता लगाउनसमेत ग्रहणको समय उपयोग गरेकोले खगोलविद्, अनुसन्धाता तथा वैज्ञानिकहरूका लागि ग्रहण महत्वपूर्ण हुन्छ । १८ वर्ष १८ दिनको अवधिमा पृथ्वीमा जम्मा ४१ वटा सूर्यग्रहण तथा २९ वटा चन्द्रग्रहण हुने गर्दछन् । अधिकतम एक वर्षमा पाँच सूर्यग्रहण र दुई चन्द्रग्रहण हुने गर्दछ । साधारणतया हामीलाई सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको हो कि भन्ने लाग्छ तर वास्तवमा त्यसो होइन । चन्द्रग्रहण र सूर्यग्रहणको औसत अनुपात ३ः४ हुने गर्दछ  ।
पूर्वीय समाजमा अत्रिमुनिका सन्तानहरूले खगोल अध्ययन गरेको इतिहास भेट्न सकिन्छ भने सूर्यग्रहणको जानकारी गराउने तथा गणनासमेत गर्ने प्रथम आचार्यका रूपमा अत्रिमुनिलाई ऋग्वेदले उल्लेख गरेको पाइन्छ । धर्मशास्त्रको मान्यताअनुसार ग्रहण राहु र केतुका कारणले हुने गर्दछ । चन्द्रग्रहण कारक राहु हो भने सूर्यग्रहण कारक केतु हो भन्ने मान्यता पुराण तथा धर्मशास्त्रमा भेटिन्छ । आयुर्वेदले चन्द्रग्रहणले मानिसमा कफको मात्रा बढाउँछ र मनको शक्ति कमजोर बनाउँछ भन्छ । सूर्यग्रहणले मानिसहरूको पाचन क्षमता तथा आँखाको तेजमा ह्रास गराउने गर्दछ भने पित्तशक्ति कमजोर पार्दछ भन्ने मान्यता राख्दछ । गर्भवती स्त्रीले सूर्यग्रहण वा चन्द्रग्रहण दुवै हेर्न हुन्न भन्ने मान्यता छ भने हेरेमा गर्भमा रहेको शिशुको अ¨भ¨ हुने अथवा गर्भस्राव हुनसक्ने चेतावनी दिने चलन छ । गर्भवतीलाई कुनै पनि धारिलो चीजजस्तो कैँची वा चक्कुले कुनै पनि कुरा काट्न रोक्ने चलन हाम्रो समाजमा छ । यस्ता धारिला वस्तुले केही काटेमा गर्भमा रहेको शिशुको कुनै अ¨ काटिन्छन् र कुनै कुरा सिलाएमा विभिन्न अ¨हरू जोडिन जान्छन् भन्ने मान्यता छ ।
ग्रहण लाग्नुभन्दा पहिले नदी या तलाउमा गई स्नान गरेर शुद्घ भई विभिन्न मन्त्रको जप गर्नाले मन्त्रसिद्घि हुने मान्यता तान्त्रिकहरूको छ । हिन्दु परम्पराअनुुसार ग्रहणको सुरुमा, मध्यमा र अन्त्यमा स्नान गरी शुद्घ हुने चलन छ । ग्रहण लागेको समयमा तेल लगाउन, भोजन गर्न, जल पिउन, मलमुत्र त्याग गर्न, कपाल कोर्न, रतिक्रीडा गर्न, दाँत माझ्न आदि वर्जित गरिएको छ । ग्रहणको समाप्तिपछि गरिब तथा तल्लो वर्गका मानिसलाई दान गर्नाले अधिक फाइदा हुने कुरा धर्मशास्त्रमा उल्लेख छ । देवीभागवतमा भूकम्प वा ग्रहणका बेलामा आफ्नो खेतवारी खनजोत गर्न हुन्न भन्ने उल्लेख पाइन्छ । तपाईं धर्मशास्त्र मान्नुहुन्छ भने असार ७ गतेको सूर्यग्रहण मेष, सिंह, कन्या तथा मकर राशिले मात्र हेर्न हुन्छ, अन्य राशि भएकाले यो ग्रहण हेर्न हुँदैन ।
विज्ञानलाई मान्ने हो भने कुनै पनि ग्रहण जोसुकैले जे जस्तो अवस्थामा पनि हेर्न हुन्छ । यद्यपि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँकखा अत्यन्तै संवेदनशील हुन्छ । मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरूपमा नै नष्ट हुन गई मानिस सदाका लागि आँखा देख्न नसक्ने हुनसक्छ । त्यसैले सूर्यग्रहणमा ना¨ो आँखाले कदापि हेर्न हुँदैन । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छायाँ हेर्नु हो ।

Gorkha patra

You might also like