बालविवाह र दाइजोप्रथा विरुद्ध किशोर किशोरी

0

सन्तोष सुवेदी
सिरहा, पुस २ गते – बालविवाहलाई निरुत्साहित बनाउन विद्यालयको माथिल्लो कक्षामा अध्ययन गरिरहेका किशोरी आफैं जुट्न थालेका छन् ।
बालविवाहलाई समाजिक अपराधको संज्ञा दिंदै सिरहामा बालविवाह विरुद्धको सचेतना अभियानलाई अगाडि बढाउन किशोरीलाई किशोरले पनि साथ दिन थालेका छन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानदेखि सुरु भएको यो सचेतना अभियान अहिले पनि रोकिएको छैन । अभियानकै नेतृत्व किशोर किशोरीहरुलेनै गरिरहनु भएकोछ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चलन गर्ने गैरसरकारी संस्थाहरु अभियानको समाप्तिपछि सुस्ताइसकेका छन् तर अभियानमा संलग्न किशोर किशोरी मौका पर्ने वित्तिकै वालविवाह विरुद्धको अभियानमा जुर्मुराएको देखिन्छन् । कहिले उनीहरु साइकल चढेर (याली निकाल्दछन् भने कहिले उनीहरु विद्यालयलाई दवाव दिएर वालविवाह र दाइजोप्रथालाई केन्द्रमा राखेर वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता समेत सञ्चालन गर्दछन् ।
‘कानुनी, शारीरिक र मानसिक रुपमा सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न, जबसम्म किशोरकिशोरी उमेर समुहकाहरु युवा उमेरमा परिणत हुँदैनन् तबसम्म उनीहरु शारीरिक र मानसिक रुपले बिबाहका लागि तयार रहँदैनन्’, किशोरी सञ्जाल सिरहाकी अध्यक्ष दीपिकाकुमारी यादवले भन्नुभयो–हाम्रो मधेशी समाजमा छोरी जन्मनेबित्तिकै उनीहरुको बिबाहको लागि योजना बनाइने गरिन्छ तर हामी अब विवाहभन्दा हाम्रो शिक्षा र आत्मनिर्भरतामा जोड दिनुपर्छ भनेर अभिभावकलाई भन्ने गर्छौ ।
‘विवाह भन्दा शिक्षा र आत्मनिर्भरताका लागि कुनै एउटा परिवारले मात्र चाहेर हुँदैन’, सञ्जालकी अध्यक्ष यादवले भन्नुभयो–त्यसको लागि विद्यालयका शिक्षकदेखि वडासम्मका जनप्रतिनिधिहरु र सामाजिक अगुवाहरुको मानसिकता परिवर्तन गर्नुपर्ने भएको हुनाले हामीले प्रायः हरेक हप्तामा एक दिन बालबिबाह विरुद्ध अभियानको लागि समय निकाल्ने गरेका छौं ।
नभन्दै उनीहरु कहिले लहानमा त कहिले धनगढी र कहिले दक्षिणी ग्रामीण क्षेत्रमा साइकल चलाउँदै सयौंको संख्यामा विद्यालय छिर्दछन् र त्यहाँबाट माथिल्लो कक्षाका अन्य किशोरकिशोरी उमेर समुहका विद्यार्थीहरुलाई साथ लिएर गाउँ परिक्रमा गर्दछन् । यसरी परिक्रमा गर्दा ‘बालविवाह चलन बन्द गरौं’, ‘ बालबिबाह तथा दहेज मुक्त समाजको स्थापना गरौं’, ‘विहेवारी २० वर्षपारी’ लगायत लेखिएको प्लेकार्ड प्रत्येक साइकलको ह्याण्डिलमा ठड्याइएको हुन्छ ।
मधेशमा बालविवाह चलन अझै कायमै छ । अझ दलित, डोम लगायत मुसहर समुदायमा बालविवाह चलन बढ्दो छ । दलित तथा विपन्न समुदायलाई गाँजेको बालविवाहसँगै दाइजो प्रथाले मधेशमा सचेत र सम्पन्न समाजलाई पनि पिरोलेको छ । ‘त्यसैले किशोरी सञ्जालको यो अभियानलाई किशोर र हाम्रो युवा समुहले पनि सघाइरहेको छ’, जिल्ला युवा सञ्जाल सिरहाका अध्यक्ष दिलीप सहनीले भन्नुभयो–अहिले हामीले बालविवाह र दाइजोप्रथालाई बहसको विषय बनाएर कानूनी प्रक्रियामा सामेल रहने प्रहरी, प्रशासन, कानून व्यवसायी र अदालतका जिम्मेवार व्यक्तित्व समेतलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गराउँदै आएका छौं ।
‘किशोरी सञ्जालको यो अभियान एकदमै राम्रो र प्रभावकारी छ’, डोमी जनता माध्यमीक विद्यालय पर्सा पोखरभिण्डाका प्रधानाध्यापक पशुपती साहले भन्नुभयो–उनीहरुको यो अभियानले अहिले सिरहाको प्रत्येक विद्यालयलाई आकर्षित गरेको छ, त्यसैले अहिले विद्यालयस्तरबाटै बालविवाह र दाइजोप्रथालाई निरुत्साहित गर्न विभिन्न किसिमका रचनात्मक क्रियाकलाप सप्ताहव्यापीरुपमै सञ्चालन भइरहेको छ ।
किशोरकिशोरीहरुलाई बालविवाह र दाइजोप्रथा विरुद्धको अभियानमा संलग्न गराउने दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुन्के किशोरी सञ्जालदेखि युवा सञ्जालसम्म यो अभियानमा होमिएको देखेर अत्यन्त हौंसिनुभएको छ ।
‘सिरहाको मौवाही गाउँलाई दुई वर्ष अगाडि बालविवाह मुक्त गाउँमा रुपान्तरण गर्ने अभियान थाल्दा हामीले यो किसिमले साथ पाएका थिएनौं’, विसुन्केले भन्नुभयो–अब अहिले आएर व बालविवाह र दाइजोप्रथाको विरुद्ध किशोरी र युवा सञ्जाल आफैं लागिपर्दा भने केही होला जस्तो लागेको छ ।गोरखापत्र अनलाइन

You might also like