रामजानकी मन्दिर निर्माण कार्य रोकियो

0

२१ मङ्सिर बेझाड, रामपुर नगरपालिकामा निर्माणधिन रामजानकी मन्दिरको कार्य बीचमै रोकिएको छ । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झल्को दिन ठूलो लगानीमा बनाउन थालिएको मन्दिरको निर्माण कार्य गत असोजदेखि बन्द भएको छ ।
निर्माण गर्दै जाँदा आर्थिक समस्या परेपछि केही समयका लागि काम रोकेर आर्थिक स्रोत जुटाउन समिति लागेको रामजानकी मन्दिर विकास परिषद् रामपुरका अध्यक्ष फणेश्वर गौतमले बताएका हुन्। “रकम धेरै लाग्ने सानासाना बजेटले काम गर्न नसकिने, विभिन्न क्षेत्रबाट रकम निकासा गरेर छिट्टै नै निर्माण कार्य सञ्चालन गर्नेछौँ”
यस आर्थिक वर्षमा नगरपालिकाले निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरे पनि मन्दिरको छानो छाउने कामका लागि त्यो रकम पर्याप्त नभएकाले अन्य स्रोत खोजेर छानो छाउने र त्यसको लागि रकम व्यवस्थापन कार्यमा लागेको उनले बताए । विसं २०७२ को कात्र्तिकबाट अनुमानित करिब १० करोडको लागतमा पाल्पाको ऐतिहासिक पक्षलाई मध्यनजर गर्दै छत्रशैली र गुम्बाशैली आकारमा जनकपुरको झझल्को दिने गरी निर्माण कार्य शुरु भएको हो ।
चार तलाको मन्दिर, सत्तल, दुई वटा भवनसहितको सुविधा सम्पन्न मन्दिर निर्माण गर्ने योजनाका साथ काम थालनी गरिएको हो । हाल ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरिका रुपमा विकास गरी जनकपुरधामको झल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण हँुदैछ । पौराणिक समयमा भगवान रामचन्द्र बनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहास छ । यहाँ रामचन्द्रले बसोबास गरेको हुँदा यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् ।
रामचन्द्रले रामपुर नगरपालिका–५ को बेझाड बजार नजिकै भात पकाइ खाएको रामचुलो राममन्दिर परिसरमा धार्मिक तथा ऐतिहासिक महत्वलाई बचाइ राख्न रामपुरवासीले रामजानकी मन्दिर निर्माण गर्न लागेका हुन् । ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले यहाँका स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्दिर निर्माण शुरु भएको थियो ।
रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाइ राख्न यहाँका स्थानीयवासीको पहलमा २०७१ माघमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी रकम सङ्कलन गरी मन्दिर निर्माण कार्य थालनी गरिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिएका थिए ।
मन्दिर निर्माणका लागि अहिलेसम्म रामपुर नगरपालिकाबाट रु ११ लाख, साविक जिल्ला विकास समिति पाल्पाबाट रु दुई लाख, स्थानीय विकास मन्त्रालयबाट रु पाँच लाख र प्रदेश सरकारबाट रु १० लाख सहयोग रकम प्राप्त भएको हो । हालसम्म मन्दिर निर्माण कार्यमा रु एक करोड ५० लाख बढी रकम खर्च भइसकेको हो । मन्दिरको कोषमा प्राप्त बजेट नहँुदा निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाउन सकिएको छैन । योजना ठूलो रकम सानो हुँदा निर्माण कार्यमा ढिलाइ हुन पुगेको समितिले जनाएको हो ।
रामपुर नगरपालिकामै धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भएको रामजानकी मन्दिर पहिलो हो । यस मन्दिरको निर्माण कार्यमा रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् तर योजना ठूलो भएकाले निर्माणमा आर्थिक समस्याले सताइरहेको समितिका सहसचिव मिनराज रेग्मीले बताए। मन्दिरको स्वामित्वमा रहेको करिब चार रोपनी क्षेत्रफलमा मन्दिर निर्माण भइरहेको छ ।

You might also like