भुवनपोखरीका जनताको पिडा

0

मंसिर १८ – पाल्पाको सुदुर–पश्चिमा रहेको रैनादेवी छहरा–३ भुवनपोखरीका जनताले खानेपानीको समस्यामा आफुहरु वर्षौदेखि पर्दे आएको गुनासो गरेका छन् । हरेक पटकको निर्वाचनमा भुवनपोखरीका जनताले आफ्नो अमुल्य भोट पानीसँग साटासाट गर्ने गरेको समेत बताएका छन् ।
भुवनपोखरी गाउँमा पुरै जसो दलित समुदायको बसोबास रहेको छ भने रैनादेवी मन्दिरको काखमा यो गाउँ अवस्थित रहेको छ । यस वरपरका स्थानीय वासिन्दालाई पानीको समस्या भएकाले थाकथलो छाडी मन अमिलो पारेर कतिपयले बसाईसराई गरेको हुनाले परिवारको सङ्ख्या पनि घट्दै गएको बताएका छन् ।
अव करिब ५५ घरपरिवार मात्र रहेको स्थानीयवासीले बताएका छन् । यस बर्षको मङ्सिर महिनाबाट स्थानीयहरुलाई एक दिन बिराएर वडा कार्यालयबाट दुई गाग्री पानी वितरण गरेर उपलब्ध गराएको रैनादेवी छहरा–३ भुवनपोखरीका वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो ।
पूर्व सांसद यादव बहादुर रायमाझीको समयमा हरेक घरमा छानाको पानी सङ्कलन गर्ने गरी करिब हजार लिटरका दरले दुई वटा घैंटामा सङ्कलित पानीले पिउन र पकाउन केही राहत भएपनि बस्तुभाउलाई खुवाउन, नुहाउन, सरसफाई गर्न भने समस्या जस्ताको तस्तै रहेको स्थानीय पूर्ण बहादुर सार्कीले बताउनुभयो ।
अर्का स्थानीयवासी गोविन्द लम्सालले सुन्दर हिमालहरू र सल्लाको सित्तल हावाले हाम्रो शरीरको बर्षौदेखिको तिर्खा मेटाउन नसकेको भन्दै एक दिन बिराएर दुई गाग्री पानीको व्यवस्थालाई दैनिक गरेर स्थानीय निकायले पानीको समस्या सधैंका लागि समाधान गर्न अनुरोध गर्नुभयो ।
साथै वडा अध्यक्ष दर्लामीले हाम्रो लक्ष्य यस वडामा सडक र खानेपानीको समस्यामा समाधान गर्न आफू अहोरात्र खटेर आगामी निर्वाचनमा भुवनपोखरीका जनताले खानेपानीको आश्वासनमा भोट हाल्न पर्दै नपर्ने र रैनादेवी मन्दिरलाई पर्यटकीय स्थल बनाउन सकिने भएकाले स्थानीय वासिन्दाको जीवनस्तर पनि उकास्न सकिने बताउनुभएको छ ।

You might also like