विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित चार पक्राउ

0

परासी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै विषयमा तीन जनासँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित सिद्धार्थ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले आफ्नै विद्यालयका शिक्षकसँग ६५ हजार घुस लिदैं गरेको अवस्थामा बिहीबार पक्राउ परेका हुन्। 

गिरीले विद्यालयमा कार्यरत गणित विषयका एक शिक्षकको सरुवाको सहमतिपत्र र रमानापत्र बनाएबापत रकम लाग्ने भन्दै घुस लिएको अवस्थामा कार्यालयको टोलीले रंगे हात पक्राउ गरेको हो। 

अख्तियारको टोलीले गिरीलाई परासीस्थित लुम्बिनी प्लस   सामुदायिक हेरचाहा केन्द्रको संस्थाबाट पक्राउ गरेको हो। पाल्हीनन्दन गाउँपालिका–३ प्रसिया घर भएका गिरी उक्त संस्थामा कार्यरत छन्। 
गिरीको बयानका आधारमा अख्तियारको टोलीले सोधपुछका लागि विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई समेत नियन्त्रणमा लिएको छ। 

त्यसैगरी नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपकेन्द्रका दुई कर्मचारी ४६ हजार ५ सय ५५ रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा उप–केन्द्रका चौथो तहमा कार्यरत मेघराज काफ्ले र विद्युत प्राविधिक नारायण कुर्मी रहेको अख्तियारको कार्यालयले जनाएको छ। 

उनीहरुले ‘थ्रि फेज’ लाईनको मिटर जडान गर्न सहजिकरण गर्ने भन्दै सेवाग्रहीसँग घुस लिएका थिए। रकमसहित रंगे हात पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जनाएको छ। Annapurnapost

You might also like