नवलपुरको कावासोतीमा होमस्टे संचालनमा जुटे स्थानीय

0

कावासोती – पुर्व नवलपरासीको नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ७ रामनगरमा लामिचौर सामुदायिक होमस्टे संचालनमा आउने भएको छ । सुखी नेपाली सम्वृद्ध नेपालको नारालाई व्यवहारतस् कार्यान्वन गर्न समुदाय स्तरबाटै अभियानहरु थालनी हुन थालेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी किनार आसपासका नागरिकहरुले पर्यटन, व्यवसायीक खेती तथा उन्नत पशुपालन गर्ने एकीकृत योजना कार्यान्वन गर्न “लामीचौर सामुदायिक होमस्टे” संचालनमा ल्याउन लागेको सस्थाका अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । होमस्टेको एक कार्यक्रमका बिच गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहाले विधिवत रुपमा होमस्टे भवनको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गाहाले यो होमस्टे उचित स्थानमा सहि योजनाका साथ संचालनमा आउन लागेकोले खुशी ब्यक्त गर्दै सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी अर्का प्रदेशसभा सदस्य बिष्णु लामिछानेले जैविक विविधता तथा पछि पारिएका समुदायको उत्थानका लागि राज्यले विशेष ब्यवस्था ल्याउनुपर्ने भन्दै यो होमस्टेले सबल नेतृत्व र सहि योजना अघि सारेकोमा खुशी ब्यक्त गर्नुभयो । त्यसैगरी संस्थाका अध्यक्ष सापकोटाले सामुदायिक होमस्टेलाई मनोरन्जन र पर्यटकिय केन्द्रको रुपमा मात्र उपयोग नगरी समुदायभित्र खास सम्भावना हुने र त्यस सम्भावनाको सहि निकाश दिन सक्दा मात्रै दिगो र स्थाई विकाशको आधार तयार हुने बताउनुभयो । उहाले आधुनिकता र परम्परागत सम्पदाको सहि र सन्तुलित फ्युजन गर्दै होम स्टे, अत्याधुनिक थिएटर, गोठ रहित तथा गोठ सहितका क्षेत्र तयार गर्दै कृषि, पशुपालन , लघु उद्दम जस्ता कार्यक्रमलाई एकीकृत रुपमा अघि बढाउने योजना रहेको स्पष्ट पार्नुभयो। तत्काल २५ वटा होमस्टे बनाई आगामी बैशाख भित्रै संचालनमा ल्याईने अध्यक्ष सापकोटाले बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष नन्दलाल गुरौ,पर्यटन क्षेत्रका ब्यक्तित्वहरु, स्थानियबासिलगायतको सहभागिता रहेको थियो । थारु समुदायको बाहुल्य रहेको सो क्षेत्रमा माझी, बोटे, बाहुन, क्षेत्रीलगायतका जातजातिको पनि बसोबास रहेको छ ।

You might also like