खानेपानी सुरक्षा योजना सम्बन्धि अन्तरक्रिया

0

नवलपरासी १७ कार्तिक – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाहरुसंग खानेपानी सुरक्षा योजना सम्बन्धि अन्तरक्रिया गरेको छ । शनिवार भएको सो कार्यक्रममा खानेपानी तथा सरसफाई सम्बन्धि समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि वडामा रहेका २१ वटा टोल विकास संस्थाहरुसंग अन्तरक्रिया गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष ईन्द्रकुमार रानाले बताउनुभयो । उहाँले आगामी दिनमा टोलविकास संस्थासंग सहकार्य गर्न बर्दघाट खानेपानी ईच्छुक रहेको बताउदै सो अभियान अन्तरगत कार्य प्रारम्भ गरिएको जानकारी दिनुभयो । हामीले खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएका छौ – अध्यक्ष रानाले भन्नुभयो – सो क्षेत्रमा सहकार्य गर्न यो कार्यक्रम आयोजना गरेका हौं । सो अवसरमा अध्यक्ष रानाले कार्यक्षेत्रभित्रका पार्कमा पानी जडानवापत दश हजार रुपैया बराबरको संस्थाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । सो कार्यक्रममा हरियालीनगर टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद गौतमले टोल विकास संस्थामा काम गर्न असहज रहेको उल्लेख गर्दै नगर तथा वडा कार्यालयका कारण बेलाबेलामा समस्या आएको बताउनुभयो । बसपार्क तथा त्यहाँको शौचालयमा समस्या पर्दा सबैले गुहार्ने नत्र टोल विकास संस्थालाई उपेक्षा गर्ने गरिएको गौतमले गुनासो गर्नुभयो । समस्या जटिल छ बेला बेलामा ठेकेदारले टर्चर गर्छन – बसपार्कमा लगाइएको ठेक्का प्रति ईगित गर्दै अध्यक्ष गौतमले भन्नुभयो – शौचालयको पैसा चाहियो भन्ने टर्चर हुन्छ । तर ठेक्कामा खुलाइएको छैन । टोल विकास संस्थाले शौचालयको पानी महसुल भुक्तानी गरेको चर्चा गर्दै अध्यक्ष गौतमले टोल विकास संस्था धेरै चेपुवामा परेको समेत दावी गर्नुभएको थियो । कार्यक्रममा धौलागिरी टोल विकास संस्था बाढिपिडितका अध्यक्ष मोहन सापकोटाले निजी बिद्यालयले समेत खानेपानीको पाइपसंग ढल जोडेको उल्लेख गर्दै त्यस्तो हुदाँ समेत कसैको ध्यान नगएको बताउनुभयो । उहाँले आफ्नो टोलमा खानेपानी नभएका धेरै घरधुरी भएपनि नगरले निशुल्क पानीको ब्यवस्था गर्छाै भनेर तथ्याँक माग्ने गरेको तर पटक पटक डाटा दिदाँ समेत काम नभएको गुनासो गर्नुभएको थियो ।

सो कार्यक्रममा स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक रवि पाण्डेले नगरमा फोहोर ब्यवस्थापन जटिल हुदै गएको चर्चा गर्दै फाहोरलाई कसरी मोहर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो । फरक प्रसंगमा उहाँले संचारमाध्यमले सबैको निगरानी गर्ने हुदाँ वाचडग भनिएको तर्क प्रति आफ्नो कुनै असहमति नरहेको बताउदै तर कतिपय सन्र्दभमा मिडिया कलो खाने डग मात्र बन्ने गरेको जिकिर गर्नुभयो । कामका लागि स्रोत मात्र नभई ईच्छाशक्ति पनि चाहिन्छ – निर्देशक पाण्डेयले भन्नुभयो – खानेपानी संस्थाले त्यो ईच्छाशक्ति देखाउदै आएको छ । कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका लेखा संयोजक थम अधिकारीले बर्दघाटमा भर्खर मात्र आगलागी भएको बताउदै दमकल आवश्यक रहेको बताउनुभयो । दमकल चाहियो स्रोत साधन धेरै लाग्ने रैछ – अधिकारीले भन्नुभयो – आगलागी हुदाँ धेरैले फोटो खिच्ने काम मात्र गरे । विपद्का लागि बर्दघाट खानेपानी आयोजनाका पानीका चेम्बरहरु यकिन गर्नुपर्ने अधिकारीको भनाई थियो ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षहरु क्रमशः कदमबहादुर जि.सी, काशीराम न्यौपाने, सोबिर पुन ,मनबहादुर पुन , मिरा शर्मा , सुनिता देवकोटा ,मेनुका न्यौपाने , सरस्वती भट्टराई, ईन्द्रिरा नेपाली, सोम पुन, माया गिरी, सिर्जना आचार्य, देवीप्रसाद अर्याल, कृष्ण पन्त समाजसेवी इन्द्र लामिछाने पत्रकार बिष्णु खनाल लगायतले बोल्दै खानेपानी र सरसफाईको क्षेत्रका एकीकृत कार्यको आवश्यकता रहेको बताउनुभएको थियो । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक धातानन्द बस्यालको अध्यक्ष संस्थाका ब्यवस्थापक बिष्णुकुमार भुसालको संचालन रहेको कार्यक्रममा संस्थाका सचिव छविलाल देवकोटा, सदस्यहरु प्रदीप सुवेदी, लक्ष्मण योगीलगायत बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

You might also like