नेपाल कम्युनिष्ट पार्टी र नेकपा(मार्क्सवादी) बीच एकता हुदै
नवलपरासी – लोकनारायण सुवेदीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिका थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( मार्क्सवादी ) बीच एकता हुने भएको छ । मंसिर १ गते पार्टी एकताका लागि संवाद डबलीमा कार्यक्रम तय भएको एकता संयोजन समितिले जनाएको छ ।
नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको असली उत्तराधिकारी आफूलाई दावी गर्ने नेकपा र माक्र्सवादी दुवै पार्टी निर्वाचन आयोगमा दर्तावाला दल हुन । दुवैले नेपालमा नयाँ जनवादी क्रान्ति कार्यभार पूरा गर्नुपर्ने विचारको वकालत गर्छन ।
आयोगका अनुसार नेकपाको चुनाव चिन्ह कोदालो र घन क्रस र माक्र्सवादीको कोदालो चुनाव चिन्ह रहेको छ । यस अघि नारायणप्रसाद शर्माको नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी र नेकपा बीच एकता घोषणा भएको थियो । गतबर्ष लक्ष्मण उप्रेती नेतृत्वको नेकपा रातोतारा)र अनेकपाबीच एकता भएको थियो ।
पार्टीले श्रमजीवी, मजदुर, किसान, भूमिहीन, सुकुम्वासीलाई नयाँ जनवादी क्रान्तिका प्रेरक शक्ति नयाँ जनवादी क्रान्तिका मित्र शक्ति भएको बताउँदै निम्न पुँजीपति, मध्यम वर्ग, उत्पीडित जाति जनजाति, महिला, दलित, अल्पसङ्ख्या आदिवासी, मधेसी, मुस्लिमलाई क्रान्तिका शक्ति भएको संयोजक सुवेदीले बताए ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण जेनजी आन्दोलनमार्फत असन्तोष विस्फोट भएको बताउँदै पार्टीलाई देशको वैकल्पिक शक्तिको रूपमा निर्माण गर्न देशभक्त, क्रान्तिकारी शक्ति, उत्पीडित समुदाय सामन्तवाद साम्राज्यवाद विरोधीलाई गोलबन्द गर्दै बृहत् क्रान्तिकारी राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने दुवै पार्टीका नेताहरूले बताएका छन् ।