‘करोडौँको सम्पत्ति भएकाहरु पनि राहतको लाममा’

0

भक्तपुर : लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस भनेर स्थानीय तहले सुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।
घाँटीमा सिक्री लाउनेहरु हातमा आइफोन बोकेका र औँलामा सुनका औठी लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उने भने, ुहामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न गरयौं, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन, राहत लिने आधाजति त हुनेखाने नै छन, हातमा आइफोन लिएर, सुनका सिक्री औंठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो ।
भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन । प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताए । उनले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण सुरु गर्ने बताए ।
त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताए । नामावली संकलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको उनले बताए । चाँगुनारायणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण सुरु गरेको छ ।
यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ । वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए । राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको गुनासो गर्दै उनले ७ सयभन्दा बढीको नाम संकलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई वितरण गरेको जानकारी दिए ।
सूर्यविनायक–८ सिपाडोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएकाहरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले जानकारी दिए । कतिपयले पैसा छ, खानेकुरा किन्न पाएनौँ भन्दै राहत लिन आएकोे उनले जानकारी दिए ।
यता सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको ४५ हजार रुपैयाँ भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले जानकारी दिए । एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै एउटै परिवारका श्रीमान श्रीमतीले नै राहत लिन आएको जानकारी दिए । सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले संकटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा हुनेखाने नै राहत लिन आएको गुनासो चारैतिरबाट आएको बताए । उनले सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने जानकारी दिए । मुलबाटो

You might also like