भ्यूटावर आतंक : चितवन निकुञ्जको मूल क्षेत्र मासेर पाँचतले भवन
चितवन : विकासका नाममा देशभर भ्यू-टावरको मोह बढ्दै गएका बेला चितवन राष्ट्रिय निकुञ्जको मूल क्षेत्र (कोर एरिया) मै स्वीकृति नै नलिई लजसहितको भ्यू-टावर निर्माण गरिएको पाइएको छ।खैरहनी–१३ इचर्नीबाट एक किलोमिटर दक्षिणतर्फ निकुञ्जभित्र निर्माणाधीन भ्यू-टावरमा आर्थिक अनियमितता समेत भएको उजुरी परेपछि बल्ल निर्माण कार्य रोकिएको छ। अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
अख्तियारले भ्यू-टावर निर्माणसम्बन्धी कागजपत्र समेत जफत गरेको छ। मध्यवर्ती क्षेत्रमा तीनतले भ्यू-टावर बनाउने भनी निकुञ्जको कोर इलाकाभित्रै छिरेर पाँचतले विशाल आरसीसी भवन बनाइएको निकुञ्जका अधिकारीहरूले जानकारी दिएका छन्।
कोर इलाकामा भ्यू-टावर निर्माण गर्नदिनु आफूहरूको पनि गल्ती भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले स्वीकार गरेका छन्। ‘विशाल आरसीसी भवन बनाउने काम नै त्रुटिपूर्ण छ’, उनले भने, ‘त्यस्तो भवन बनाउने र बनाउन दिनेहरू दुवै गलत हुन्।’
भ्यू-टावर निर्माणमा एक करोड २५ लाख रुपैयाँ खर्च भइसकेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका वर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए। अझै २५ लाख रुपैयाँ खर्च भुक्तानी हुन बाँकी रहेको उनको भनाई छ।
२ करोड २५ लाख रुपैयाँ अनुमानित लागत रहेको भ्यू-टावर निर्माण कार्य २०७५ जेठदेखि शुरू भएको थियो। २०७६ चैत मसान्तभित्र निर्माण सक्ने लक्ष्य थियो।
निर्माणमै अनियमितता भएपछि निकुञ्ज मिचेको पत्तो लाग्यो
भ्यू-टावर निर्माण गर्न वन उपभोक्ता समूहले ८० लाख ८५ हजार, बुढी राप्ती उपभोक्ता समितिले दुई लाख र खैरहनी नगरपालिकाले ४० लाख रुपैयाँ खर्च गरेका छन्। वन उपभोक्ता समूहले नै लेखा परीक्षण गर्दा डेढ करोड रुपैयाँ अनियमितता भएको पाइएपछि अहिले निर्माण रोकिएको श्रेष्ठले बताए।तत्कालीन अध्यक्ष गुरुङको कार्यसमितिले अनियमितता गरेको पाइएपछि २०७६ जेठमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो।
‘भ्यू-टावर निर्माण गर्दा अघिल्लो समितिबाट नै डेढ करोड रुपैयाँ आर्थिक अनियमितता भएको पायौँ’, श्रेष्ठले भने, ‘अन्तिम चरणमा रोकिएको काम हाम्रो समितिले अगाडि बढाउनै पाएको छैन, अख्तियारले फैसला नगर्दा सम्म अगाडि बढाउन पाइएन।’
‘हामी आएपछि छुट्टै लेखापरीक्षण पनि गर्यौँ, खर्चको इस्टिमेट बिनै काम गरेको भेटियो’, उनले भने, ‘बेरुजू धेरै देखिएको छ, कसरी फर्छ्याेट गर्ने भन्नेबारे उहाँहरूसँग छलफल हुँदैछ।’
सञ्चालन गर्न पाउनुपर्ने माग
भौतिक प्रगति ९० प्रतिशत पुगेर निर्माण कार्य रोकिएको भ्यू-टावर आफूहरूले नै सञ्चालन गर्न पाउनुपर्ने कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको माग छ।
निर्माणमा करोडौँ रकम खर्च भइसकेकाले त्यसको सञ्चालन गर्न पाउनुपर्ने वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए। ‘निर्माणमा हाम्रो करोडौँ रुपैयाँ खर्च भइसकेको छ। अख्तियारको फैसलापछि त्यसको सञ्चालन हामीले गर्न पाउनुपर्छ’, उनले भने, ‘नभए त्यसमा लागेको खर्च हामीलाई निकुञ्जले फिर्ता देओस्।’कार्यविधि बनाएर सञ्चालन गर्न दिने कुरामा निकुञ्ज हालसम्म सकरात्मक नै देखिएको उनले बताए। डबल बेड सहितका १६ कोठा हुने लज सहितको भ्यू-टावर ३२ जना एकैपटक बस्न सक्नेगरी निर्माणाधीन छ। संचालनमा आएपछि वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने निर्माणकर्ताहरूले बताएका छन्।
Thaha khaber