विराटनगरमा आफ्नै कार्यकर्ताले गरे कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात
वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।
व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर-१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।
आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए ।
अन्सारीले मंगलबार आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।
अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उनले बताए । पार्टी हारेका विषयमा आफू दुःखी रहेको बताउँदै उनले भने,‘ मार्ने नै प्रयास भयो ।’
नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार असलम आलमले भने अन्सारी माथि हातपात नभएको बताए । उनका अनुसार मंगलबार अन्सारीको घरमा चुनावी समीक्षाका बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय निस्किएपछि सामान्य विवाद भएको उनले बताए । ‘छलफलका क्रममा सामान्य विवाद भएको हो,’ आलमले भने,‘ हातपात भएको छैन ।’ onlinekhabar