ओलीको कुर्सीको खुट्टा भाँच्चियो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा खुट्टा भाँच्चिएको बताएका छन् । नेकपा स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताएका हुन् ।
केपी ओलीलाई हामीभन्दा पनि नजिकबाट हामीभन्दा पनि देख्नुभएको छ । एक समय उहाँ केपी ओलीसँग चुर्लुम्म डुब्नुभएको हो, अनि वाक्क दिक्क हुनुभयो र अहिले पार लाग्दैन भनेर यता आउनुभयो’, एमाले छाडेका पिताम्बर तिमल्सिनालाई देखाउँदै नेपालले भने, ‘केपी ओलीको कुर्सीको एउटा टेको भाँच्चियो । अर्को खुट्टा पनि बलियो छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल मानिसहरु बस्नै नसक्ने बताए । उनले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको पनि बताए । ‘नेकपा एमाले भन्ने पार्टीमा कुनै क्रान्तिकारिता रहेन, त्यहाँ कुनै कम्युनिस्ट चरित्र छँदै छैन, त्यसैले एमालेको भविष्य छैन’, अध्यक्ष नेपालको भनाइ छ ।