मजदुुरहरुका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न क्रान्तिकारी ट्रेड युनियनको माग

0

काठमाडौं १९ बैशाख – अखिल नेपाल क्रान्तिकारीयुनियन महासंघले १३१ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै महामारीका कारण मजदुरहरुले अपूर्व संकटको सामना गर्नुपरेको भन्दै भोकमरीमा परेका मजदुुरहरुका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न र औपचारिक श्रमिकहरुको रोजगारी र तलबको निरन्तरताका लाग सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट महासंघको वक्तव्यमा भनिएको छ, “नोबेल कोरोना भाइरसको चुनौती र यसको रोकथामलाई लिएर अगाडि बढाईएका कदमको परिणाम आर्थिक क्षेत्रमा विश्वव्यापी महामन्दी सृजना भएको छ । यो महामन्दिले विश्वको श्रम बजारमा सबैभन्दा ठूलो प्रहार गरेको छ । विश्वका करोडौं श्रमिकहरुले पुर्ण रुपमा रोजगार गुमाएका छन् ।”

 

महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालको कुल श्रम शक्तिको आधा अर्थात झण्डै ६० लाख श्रमिकहरु वैदेशिक रोजगारीमा छन र ती क्षेत्रहरूमा श्रमिकहरुले ठुलै चुनौती र संकटको सामना गर्नु परेको छ । नेपाली अनौपचारिक श्रम बजारमा क्रियाशिल २० लाख भन्दा धेरै श्रमिकहरुको रोजगारी गुमि सकेको छ भने औपचारिक क्षेत्रका श्रमिकहरुको समेत रोजगारी गुम्न र तलब कटौती हुन सक्ने स्थिति देखा परेको छ । वैदेशिक रोजगारीमा आएको संकट संगै स्वदेशमा फर्कन खोजी रहेका श्रमिकहरुलाई रोजगारीको व्यवस्था, स्वदेशमा अनौपचारिक क्षेत्रका श्रमिकहरु माथी आएको संकट समाधान गर्न विशेष राहतका योजना र औपचारिक श्रमिकहरुको रोजगारी र तलबको निरन्तरताका लागि सरकार र सरोकारवाला सबैमा दबाब सृजना गर्न अब ढिलाइ गर्न हुन्न ।”

मई दिवसको अवसरमा जारी गरिएको वक्तव्यमा भनिएको छ, “यहि विषम परिस्थितिका बिचबाट “श्रमिक वर्गले भोगिरहेको अपुर्व संकटहरुको सामना गरौं, नयाँ संकल्प र उज्यालो सृष्टि गर्दै १३१ औं मे दिवस मनाऔं १“ भन्ने उद्घोषका साथ आज हामी १३१ औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउदै छौं । यो महान अवसरमा मजदुर वर्गको गौरवशाली इतिहासलाई कायम राख्ने संकल्प सहित विश्व श्रमिक वर्गमा १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।”

You might also like