रणनीतिक सडक छनोटमा बाघखोर–भैंसे–सितली सडक, स्थानीय खुशी
चरिकोट, दोलखा, चैत २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा दोलखाबाट एउटा रणनीतिक सडक आयोजना छनोट भएको छ ।
संघको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दोलखामा शैलुङ गाउँपालिकाको बाघखोर, भैंसे हुँदै मेलुङ गाउँपालिकाको सितलीसम्मको सडक खण्ड छनोट भएको हो ।
अधिकांश ग्रामीण बस्ती छुने यो सडक खण्ड रणनीतिक सडक योजनामा छनोट भएसँगै यहाँका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । रणनीतिक सडक आयोजनाका लागि सडक निर्माण गर्दा एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाहरुमा ६० करोड रुपियाँ विनियोजन हुने प्रावधान बनाइएकोले यो सडक स्तरोन्नति सहित कालोपत्रेका लागि ६० करोड उपलब्ध हुनेछ ।
मेलुङ गाउँपालिका वडा नम्बर–४ का भरत केसीले बाघखोर, भैंसे, सितली मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुसी व्यक्त गर्नुभयो ।
रणनीतिक सडक छनोट गर्न सहयोग गर्नुहुने संघीय सांसद, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो ‘यो सडक दोलखा चक्रपथ भएकाले समग्र दोलखाली जीवनस्तर उकास्नेमा विश्वस्त छु ’
शैलुङ गाउँपालिका वडा नम्बर –३ बाघखोर देउराली बजारबाट सुरु हुने यो मार्ग मेलुङ गाउँपालिका वडा नम्बर–७ सितलीसम्म जोडिनेछ । सीतली दोलखा जिल्लाको सबैभन्दा कम उचाइको ठाउँ हो ।
भीमेश्वर नगरपालिका–९ स्थित दोलखा र सिन्धुपाल्चोकको सिमानादेखि सदरमुकाम चरिकोट, तामाकोसी गाउँपालिकाको भीरकोट, मालुखोला हुँदै सितलीसम्मको सडक यसअघि नै सञ्चालनमा आइसकेको छ।
मुडेदेखि बाघखोर ढुङ्गे सम्मको १६ किलोमिटर सडक पनि ठेक्का लागेर चालू वर्षमा नै सम्पन हुने गरि कालोपत्रेको काम भइरहेको छ।
बाघखोर–भैंसे–सितली सडक समेत कालोपत्रे भएपछि दोलखा चक्रपथ बन्ने शैलुङ गाउँपालिका वडा नम्बर–१का स्थानीय भिजन लामा बताउनुहुन्छ ।
उहाँले आलुका लागि प्रख्यात शैलुङ र मेलुङको जनताको लागि यो सडकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । यो सडकको दुरी करिब ४२ किलो मिटर रहनेछ । संघीय सांसद, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त सडक कालोपत्रेपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताउनुभयो ।
आम दोलखालीको आर्थिक, सामाजिक जीवनस्तरमा बढोत्तरी गर्न सडक यातायात पहुँच पहिलो आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गरुङले समृद्ध दोलखा निर्माणको लागि आफू सधैं प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
उहाले भन्नुभयो ‘सडक सञ्जाल मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन, जलविद्युत उत्पादन र कृषि उत्पादनमा सहजता आउनेछ ।’
Gorkhapatra