ओली र प्रचण्डले आफ्नो इतिहास बिर्सेर विप्लव नेकपा माथि दमनमा उत्रे – महासचिव बैद्य

0


रवि पाण्डेय / संजय तिवारी , बुटवल – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इतिहास बिर्सेर नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माथि दमनमा उत्रेको बताउनुभएको छ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित वैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा महासचिव बैद्यले वर्तमान सरकारलाई दुईतिहाईको ‘कम्युनिष्ट नामधारी’ सरकारको संज्ञा दिदै ओली र प्रचण्डले आफ्नै विगत बिर्सेर ‘विप्लव’नेतृत्वको नेकपा माथि दमनमा उत्रेको बताउनुभयो ।

उहाँले सरकारले दुईतिहाईको दम्भ बोकेर तानाशाही बाटोमा अघि बढिरहेको उल्लेख गर्दै त्यो फासीवाद रहेको बताउनुभयो । ‘लोकतन्त्रको ठिक उल्टो फाँसीवाद हो जुन वर्तमान सरकारले देखाइरहेको छ २०२८ मा झापाको बन्दुकले माले, एमाले हुँदै केपी ओलीलाई प्रधानमन्त्री बनायो । १० वर्षे जनयुद्धको बन्दुकले प्रचण्ड माथि पुगे, अहिले तिनीहरुकै सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगायो, यो सरकारको दमनकारी नीति हो । राजनीतिक कुरा राजनीतिक ढंगले टुंग्याउनु पर्छ, प्रतिबन्धलगाएर होइन ।, नेता बैद्यले भन्नुभयो ।
उहाँले रेशम चौधरी, सिके राउत र विप्लव सम्बन्धी घटनाहरुले सरकार तानाशाही बाटोमा हिंडेको पुष्टि भएको दाबी गर्नुभयो । महासचिव वैद्यले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेकपालाई प्रतिबन्ध लगाउनु गलत भएको बताउनुभयो । ‘सिके राउतसँगको सहमतिमा सरकार जनमत संग्रह गर्न तयार भएको हो ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।


उहाँले द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसात नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने जानकारी दिनुभयो । ‘कम्युनिष्ट भन्ने सत्तामा बसेको छ, म त यो सरकारलाई कम्युनिस्ट भन्दिन, हुँदा पनि होइन,’ बैद्यले थप्नुभयो । कार्यक्रमलाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा.ओम गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका पीवीएम केबी गुरुङ, बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, दलबहादुर विक, राष्ट्रिय कलाकार मनु नेम्वाङ, दीपक लिम्बु, मिना बुढाथोकी, रुपा पुनसहित स्थानीय कलाकारको पनि प्रस्तुति रहेको थियो ।

You might also like