क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो बर्दघाट नगरपालिकालाई १० बुदें ज्ञापन पत्र(फोटो फिचर)

'राष्ट्रघाती एमसीसी लाई जनस्तरबाटै प्रतिकार गरिनेछ'

0

नवलपरासी : मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीले एमसीसी कार्यान्वयन गरे प्रतिकार गर्ने चेतावनी दिएको छ । विहीवार बर्दघाट नगर संगठन समितिले बर्दघाट नगरका समस्या सहित विभिन्न १० बुदे माग पत्र बुझाउने क्रममा बोल्दै पार्टीका जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले यस्तो चेतावनी दिनुभएको हो ।
सो अवसरमा जिल्ला इन्चार्ज थापाले पार्टीको जायज माग पुरा गर्नका लागि नगरको नेतृत्वलाई ध्यानाकर्षण गराउदै बिकृती बिसङ्गती , भ्रष्टाचार एवं कमिशनखोरी पार्टीलाई कुनै पनि हालतमा सैह्य नहुने उल्लेख गर्नुभयो । उहाँले एमसीसी एसपीपी जस्ता रास्ट्रघाती योजना कार्यान्वयनमा सहयोग नगर्न नगर प्रमुख सहितका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले बर्दघाट नगरपालिकाको चुरे ईलाकाको पोखरीछाप क्षेत्रमा एमसीसीले जनताको जग्गा हडपेर परियोजना निर्माण गर्ने तयारी गरेको भन्दै त्यसको जनस्तरबाट प्रतिकार गरिने चर्चा गर्नुभयो ।

यसैबीच सो पार्टीको बर्दघाट नगर संगठन समितिले बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ । रास्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर बिहीबार नगरमा पुगेको पार्टीको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो ।
सो पार्टीका प्रदेश सदस्य तथा नगर इन्चार्ज चुडामणि भण्डारी र नगर संयोजक ज्ञान बहादुर केसीको अगुवाइमा पुगेको टोलीमा महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय , प्रदेश सदस्य सुर्य प्रसाद सापकोटा; जिल्ला सदस्य तथा बर्दघाट–४ का इन्चार्ज लालु गिरी लगायतको बिशेष उपस्थिति थियो ।
ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।
सो अवसरमा नगर इन्चार्ज चुडामणि भण्डारीले कार्यक्रम संचालन र नगर संयोजक ज्ञान बहादुर केसीले पार्टीको ज्ञापनपत्र बाचन गर्नुभएको थियो । टोलीलाई नगर प्रमुख श्रेष्ठले धेरै मागहरु नगरको नीति कार्यक्रममा समाबेश भएको उल्लेख गर्दै मागहरुलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको समेत उपस्थिति थियो ।

ज्ञापनपत्रको पुर्णपाठ यस प्रकार रहेको छ :
श्रीमान् नगर प्रमुख ज्यू,बर्दघाट नगरपालिका नवलपरासी (बसुप)

विषय : ज्ञापन पत्र ।
नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता भएर २०८० बैशाख १६ गते संयुक्त एकता अधिबेशन र बैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको ऐतिहासिक घोषणा भएको भयो । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा संर्घषरत दुई पार्टीबीचको एकताले देशमा नयाँ तरंग पैदा गरेको छ । नयाँ जनवादी (पुजींवादी) क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवादमा जाने प्रणका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफ्ना कार्यक्रमहरुलाई तीब्र र घनिभुत बनाउदै लगेको छ । जनताका समस्या हाम्रा साझा समस्या बन्न गएको यस सन्दर्भमा बर्दघाट नगरपालिकामा रहेका बिभिन्न समस्याहरुको समाधान गर्न यो ज्ञापन पत्र पेश गरेका छौ ।
पछिल्लो समयमा चरम रुपले बढिरहेको राजनीतिक अस्थिरता र आर्थिक परनिर्भरताले नेपाली जनताको दैनिक जिवन निकै कष्टकर बन्दै गईरहेको छ । भ्रष्टाचार तथा कमिसनले सम्पूर्ण क्षेत्र आक्रान्त छ । राज्यसत्ता नै घुसखोर, भ्रष्ट र कमिसनखोरहरुको सत्ता बनेको स्पष्ट नै छ । यो संकट आधारभूतरुपले राजनीतिको संकट हो । राज्य प्रणाली र आर्थिक प्रणालीको संकट हो । यो संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पूँजीवादी संसदीय प्रणालीको अन्त्य गरेर श्रमजीवि जनताको वास्तविक व्यवस्था नयाँ जनवाद तथा वैज्ञानिक समाजवादको स्थापना अबको अनिवार्य तथा एक बाध्यात्मक विकल्प बनिसकेको छ । अतः हाम्रो आधारभूत राजनीतिक मान्यता हो– व्यक्ति होईन व्यवस्था बदलौं ।
१.शिक्षा र स्वास्थ्य : –
क) २०८३ भित्र शिक्षा र स्वास्थ्यमा नीजिकरण मुक्त नगरपालिका घोषणा गरियोस् ।
– यसै अन्तर्गत रहेर २०८० साल भित्रै राज्यद्वारा जेष्ठ नागरिकहरुको सम्पूर्ण उपचार निःशुल्क घोषणा र मुटु रोग, मृगौला र क्यान्सर पिडीत सबैको निःशुल्क उपचार गर्ने व्यवस्था गरियोस् ।
ख) सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका नीजि विद्यालयहरु बन्द गरियोस् ।
ग) नगरपालिकाबाट प्रदान हुने बिभिन्न छात्रबृति वितरणलाई कार्यबिधि बनाएर पारदर्शी बनाइओस् ।
घ) बिद्यार्थी दिवा खाजा कार्यक्रमलाई पारदर्शी बनाउदै प्रति बिद्यार्थी रु.१५ बाट दोब्बर बनाइयोस् ।
ङ) विषयगत र तहगत दरबन्दी ब्यवस्थापन सहित शिक्षक सरुवा, बढुवा प्र.अ नियुक्तिलाई दलीय भागबण्डा नभई योग्यता क्षमताका आधारमा निष्पक्ष बनाईयोस् ।
च) प्राबि तह बिशेष गरेर (१–५) लाई बालमैत्री बनाउन बालमैत्री भौतिक संरचनाका साथै बालमैत्री शिक्षण सिकाई एंव खेलकुदका सामाग्री प्रदान गरियोस् ।
छ) निजी बिद्यालयलाई अनुगमन गर्दै बिद्यालयले नियमानुसार छात्रबृति प्रदान गरे÷नगरेको यकिन गरेर नियमन गरियोस् ।
ज) खेलकुद क्षेत्रलाई बिशेष महत्वका साथ बजेट बिनियोजन गरियोस् ।
झ) चिसापानी अस्पताललाई ट्रमा बिशेष अस्पताल र सहिद स्मृति अस्पताल चौपत्तालाई नगर अस्पतालको रुपमा बिकास गरिओस् । दुवै अस्पतालमा बिशेषज्ञ सेवा सहित स्वास्थ्य उपचार सेवाहरुको व्यवस्था गरी आम नागरीकहरुलाई स्वास्थ्य सेवा र औषधि सेवा पूर्णरुपले निशुल्क गरियोस् ।
ञ) नगर क्षेत्रभित्र ब्रगेल्ती संचालनमा आएका शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) र ट्युशन सेन्टरहरुले लिने जथाभावी शुल्क नियमन गरियोस् ।
ट) लागु औषध ओसार पसार तथा गैरकानुनी कार्यलाई तत्काल नियन्त्रण गरि कारबाही गरियोस् । बिद्यालयमा लागु पद्धार्थ दुब्र्यशनी बिरुद्ध अभियान संचालन गरियोस् ।
ठ) राजामाहात्मा पुर्ण भद्र माविका अभिभावकहरुले राखेका जायज मागहरु पूरा गरियोस् ।
(२) कृषि :
क) कृषि उत्पादनमा आत्मनिर्भर हुन प्रत्येक वडाहरुमा कम्तीमा ३ वटा उत्पादन पकेट क्षेत्रहरु व्यवस्थित ढंगले निर्माण गरियोस् ।
(ख) कृषिजन्य उत्पादनको राज्यद्वारा खरिद गर्ने नीति लागु गर्दै प्रत्येक वडामा एउटा कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापना गरियोस् ।
(ग) कृषकलाई मलबीउको उचित ब्यवस्थापन,अनुदानको पारदर्शी वितरण र यसबर्ष समयमै पानी नपर्दा धानबालीमा परेको क्षति मुल्याँकन सहित राहत ब्यवस्थापन गरियोस् ।
(घ) भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाइयोस् ।
(ङ) भन्सारमा कृषिजन्य वस्तुको क्वारेन्टाइन गरी मिलोमतोमा अखाद्य वस्तु ल्याई जनताको स्वास्थ्यमा खेलबाड गर्ने कार्य तत्काल बन्द गरियोस् ।
च) पशुमा महामारीको रुपमा देखा परेको लम्पी स्क्रिन रोग नियन्त्रणमा तदारुकता देखाईओस् । लम्पीबाट पिडित कृषकलाई तुरुन्त राहत प्याकेज घोषणा गरियोस् ।
छ) बाख्रा पकेट क्षेत्र संचालनमा होस् । कृषकले पालेका खसी बोका उचित मोलमा बिक्री गर्ने प्रबन्ध गरियोस्
ज) दुधमा उत्पादनको आधारमा दिइने अनुदान दोब्बर बनाइयोस् ।
३) उद्योग :
क) “सबै श्रमिक मालिक”को नीति अन्तर्गत राष्ट्रिय उद्योग निर्माण गर्ने नीति अवलम्बन गर्दै २०८३ साल भित्र कम्तिमा ३ वटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गरियोस्
ख) ग्रामीण क्षेत्रमा रहेर जनपक्षीय पत्रकारितालाई बढावा दिएका साना तथा स्वरोजगारमुलक नगर क्षेत्रमा संचालित स्थानीय संचारमाध्यमलाई समानुपातिक रुपमा बिज्ञापन तथा कार्यक्रम प्रदान गरियोस् ।
(४) भूमि तथा आवास :
क) विभिन्न कारणले घरबास बिहिन भएर कष्टकर जिवन भोगिरहेका जनतालाई प्रति परिवार ‘एक तले तीन कोठे एउटा घर र प्रति व्यक्ति पाँच कट्ठा जमिन’को व्यवस्था गरियोस् ।
ख) बर्दघाट नगरपालिकाका जोताहाहरुलाई दशकौं वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराइयोस् ।
ग) भुमिहीन तथा सुकुम्बासीलाई निर्वाचनमा बाचा गरे अनुसार यथाशिघ्र लालपुर्जाको ब्यवस्थापन गरियोस्
घ सार्वजनिक जग्गा मिचेर गरिएका जग्गा प्लटिङ यकिन गरेर उक्त जग्गा नगरपालिका मातहत ल्याइयोस् ।
ङ) बर्दघाट–६ बिद्युत बेतहानी क्षेत्रमा रहेको २ बिगाहा १७ कठ्ठा जग्गालाई सार्वजनिक घोषणा गरेर नगरपालिका मातहत ल्याइयोस् ।
५) अर्थ तथा बैंक वित्तिय शोषण :
(क) जनतालाई घरबास विहिन बनाई शोषण गर्ने लघुबित्त संस्थाहरु बन्द गरियोस् ।
ख) मिटरव्याजीहरुलाई कारर्बाही गरेर पीडितलाई न्याय प्रदान गरियोस् ।
ग) सहकारीहरुको नियमित अनुगमन गरेर भ्रष्ट सञ्चालकहरुलाई कार्बाही गरियोस् ।
घ) उद्योग कलकारखाना संचालन गर्न नसक्दा राष्ट्रिय उद्योगी ब्यापारी निकै पीडामा छन् । साना तथा मझौला उद्योगहरुलाई प्राथमिकतामा राखेर बैक ब्याजदर सर्बसुलभ बनाईयोस् । बैकको दबाबले घरजग्गा लिलामको मानसिक प्रताडनामा रहेका उद्योगी ब्यवसायीलाई सहज तरिकाले सावाँ ब्याज तिर्ने वातावरण बनाईयोस् ।
ङ) बर्दघाट नगरपालिका र यसका मातहतका कार्यालयहरुले नगर क्षेत्रभित्र खरिद गर्न सक्ने सामाग्रीहरु स्थानीय उद्योगी ब्यवसायी बाटै खरिद गर्ने ब्यवस्था गरियोस् ।
च) बजार अनुगमनलाई तीब्र बनाउदै कालो बजारी एंव तस्करी गर्नेहरुप्रति तत्काल कारबाही गरियोस् ।
६) भ्रष्टाचार :
क) गणतन्त्र स्थापना पश्चात्को प्रथम स्थानीय निर्वाचन २०७४ यताका सम्पूर्ण वडाध्यक्ष देखि नगर प्रमुख सम्मको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गरियोस् ।
ख) विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गरियोस् ।
ग) नगरपालिकाले संचालन गरेका बिभिन्न आयोजना र नगरपालिका र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी भएको जनगुनासो सुन्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बिभिन्न उजुरीहरुलाई जनतामा सार्वजनिक गरियोस् ।
घ) सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाईयोस् । मर्मत गरेर संचालन हुन सक्ने सामानहरु कमिशनको लोभमा नयाँ खरिद गर्ने प्रबृति अन्त्य गरियोस् । मासिक रुपमा के कति सामान खरिद् भयो त्यसको सार्वजनिक गर्ने ब्यवस्था गरियोस् ।
७. देह ब्यापार तथा जुवा खेलाउने व्यवसायी र यसलाई बढावा दिने दलालहरुलाई तत्काल कारबाही गरियोस्
८. नगरमा पर्यटन प्रबद्र्धनका लागि पर्यटन गुरुयोजना निर्माण गरियोस् । पुरातात्विक ऐतिहासिक स्थल कन्चनगढी र बुद्धमंगललगायतको क्षेत्रको पहिचानका लागि उत्खनन गरियोस् ।
९) नगर परिक्रमा गर्न सहज हुने गरेर नगर यातायात सेवा संचालन गरियोस् । अटो रिक्सा संचालनको बिधि बनाएर बैज्ञानिक रुट ब्यवस्थापन तथा भाडादर कायम गरियोस् ।
१०) एमसीसी/एसपीपी खारेज गर्न पहल गरिओस् ।
अन्त्यमा,
यतिबेला देशको समग्र अवस्था संकटपूर्ण ढंगबाट गुज्रिरहेको छ । वर्तमान राज्यव्यवस्था, सत्ता सञ्चालक राजनीतिक पार्टीहरुप्रति जनताको ठूलो अविश्वास सडकमा प्रकट भईरहेको छ । यो एक असाधारण स्थिति हो । यस्तै यस्तै बेला मुलुकहरुमा फासिवाद, प्रतिगमन या क्रान्तिका परिवेशहरु तयार हुने गर्दछन् । यो संकटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य हो । यो ज्ञापन पत्रमा राखिएका तमाम मागगहरु यथाशीघ्र कार्यान्वयन गरियोस् । यसलाई वेवास्ता गरिएमा हामी चरणबद्ध आन्दोलन कार्यक्रममा सार्वजनिक गर्न बाध्य हुनेछौँ । हाम्रो पार्टी सम्बन्धित सबैमा निराशा होईन अग्रगामी बिकल्पको खोजी गर्न अनुरोध गर्दछौं । इतिहासका निर्माता श्रमजिवी जनता मात्रै हुन् । यो सच्चाईलाई आत्मसात गरौं ।
क्रान्तिकारी अभिवादन सहित धन्यवाद !

ज्ञान बहादुर केसी
नगर संयोजक

You might also like