‘राष्ट्रघाती जनघाती’ उम्मेदवारलाई मत दिन नहुने भन्दै घरदैलो कार्यक्रम तीब्र
नवलपरासी – दलाल संसदीय ब्यवस्थाका ‘राष्ट्रघाती जनघाती’ दल तथा उम्मेदवारहरुलाई मत दिन नहुने भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् ।
किसान, मजदुर, भुमिहीन तथा सुकुम्बासी लगायतका वर्गलाई पटक पटक झुक्याउने ‘संसदीय निर्वाचनको मतपेटिका खाली गर्नुपर्छ’ भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त भएका हुन् ।
उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न ‘उर्दी’ समेत जारी गरेका छन् ।
आइतवारको घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेल लगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।
जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका सातै पालिकाको बिभिन्न स्थानमा भोट बहिष्कार गर्न आब्हान गर्दै अभियान संचालन भइरहेको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी गराउनुभयो ।
पार्टीका बर्दघाट नगर ईञ्चार्ज समेत रहनुभएका भण्डारीले बर्दघाट नगर समिति अन्तरगतका बिशेष एरियाहरुमा घरदैलो संचालन रहेको बताउनुभयो । उहाँले आइतवार बिहान बर्दघाट ४ को मर्चाखोला , शिवालय टोल लगायतमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।