राना बस्तीमा तिजको रौनक
पश्चिम नेपालमा बसोबास गर्ने राना समुदायमा अहिले तिजको रौनक छाएको छ । अदिवासी जनजाती राना समुदायमा पिङ हालेर तिजका गीत गुन्जिरहेका छन् । एक महिनासम्म तिज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तिज सुरु हुन्छ ।
रानाबस्तीमा डोला पिङ हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् । राना समुदायका विवाहित छोरीचेली माइती फर्किएका छन् । राना समुदायमा तिज अन्य समुदायको तुलनामा निकै फरक हुन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।
पिङ हाल्न दजुभाइ दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन् । त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार जीवन रानाथारूले बताइन् ।
कैलाली र कञ्चनपुरमा राना समुदायको बाक्लो बस्ती छ । अन्य समुदायजस्तै रहनसहन, परम्परा, रितिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी राना समुदायमा अहिले तिजको रौनक छ । हिन्दू धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता रहेको जीवन रानाले बताइन् । राना समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो वरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइने गरेको पुनर्वास कञ्चनपुरकी उपमेयरसमेत रहेकी भुलिया रानाले बताइन् ।
“संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ”, पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानाले भनिन्, “‘श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यसदिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।”
व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् । अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् ।
विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नती र दीर्घायुको कामना गर्छन् । व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् । राना संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुआत भएको विश्वास छ ।
बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको भनाइ छ ।
“परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो”, राना संस्कृतिका जानकार धनीराम भन्छन्, “भुलिया रानाले भनिन् “त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ ।”
कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल राना समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा १३४ वटा गाउँमा राना समुदायको बसोबास छ । baahrakhari