कृषिका योजना कटाएर कृषि क्रान्तिको गफ गर्दै बर्दघाट नगरपालिका !

0

कृष्ण ढकाल
बर्दघाट – कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाले कृषिको करिब १८ वटा योजनाको बजेट कटौती गर्ने निर्णय गरेको पाइएको छ । चालु आर्थिक बर्षको हिउँदे नगरसभाका लागि भएको पूर्वतयारी बैठकमा बर्दघाट नगरले कृषिको बजेट कटौती गर्ने निर्णय लिएको हो ।

कृषि तथा पर्यटनको क्षेत्रबाट नगरलाई समृद्ध नगर बनाउने आफ्नै प्रतिबद्धता विपरित नगरले योजना कटौती गर्ने निर्णय गर्दै नगरसभामा लैजाने प्रस्ताव गरेपछि जनस्तरमा यसको आलोचना समेत हुदै आएको छ ।संशोधन गर्ने १०५ योजनाको १७ प्रतिशत अर्थात १८ योजना कृषि संग सम्बन्धित हुनुले नगरको कृषक प्रतिको दृष्टिकोण प्रष्टिएको सरोकारवाहरुको आरोप छ ।

बर्दघाट नगर कार्यपालिकाको २०७९ पौष २९ गते १ः३० बजे बसेको १० औं बैठकले १ सय ५ वटा वार्षिक योजनाहरुलाई शिर्षक परिवर्तन गर्दै कृषिका योजना कटाएको हो । यो प्रस्ताव नगरसभाबाट पारित भए लाखौ रुपैया बजेट कृषि क्षेत्रबाट अरु योजनामा सर्नेछन् । जसबाट नगरमा कृषि क्षेत्र मुख्यतः कृषकहरु प्रभावित हुनेछन् ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा नगर कार्यपालिकाका २७ जना मध्ये ३ जना बाहेक सबैले १ सय ५ वटै योजनाहरुको शिर्षक परिवर्तनमा सहमति जनाएर हस्ताक्षर गरेका हुन् ।
वडा नं। ४ का वडाध्यक्ष वेदविना तिवारी ,वडा नं १३ का वडाध्यक्ष नर बहादुर चौधरी र कार्यपालिका सदस्य सुमित्रा ढकालले भने निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुभएको छैन् ।

नगर कार्यपालिकाको १० औं बैठकको निर्णय नं २ मा चालु आर्थिक वर्षका लागि नगर सभावाट स्विकृत योजनाहरु मध्ये केही योजनाहरुको शिर्षक परिर्वतन तथा रकमान्तरका लागि विभिन्न वडा समितिका योजनाहरु पेश गरेको उल्लेख गर्दै शिर्षक परिर्वतन गरिएका योजनाहरुमा कृषिका बिशेष योजनाहरु समेत रकमान्तर गरिएका छन् । कटौती गरिएका कृषिका योजनाबाट मुख्य गरेर बिद्युत महसुल भुक्तानी गरिसकिएको स्रोतले जनाएको छ । कृषिमा आत्मनिर्भर बनाउने योजनामा रहेको बर्दघाट नगरले किसानकै योजनाहरु कटाएर अन्यन्त्र लैजाने कार्य आफैमा न्यायोचित नभएको कृषि अभियन्ता एंव पशु सेवा प्राविधिक राम प्रसाद पौडेलले बताउनु भयो । उहांले बर्दघाट नगरले भुईकिसान सम्म नगरका कृषि योजना लागु गर्नुपर्नेमा उल्टै भएका कृषि योजनालाई अन्यत्र शिर्षक परिर्वतन तथा रकमान्तर गर्नु राम्रो पक्ष नभएको पौडेलको भनाई छ । उत्पादक र उपभोक्ता बीचको बिचौलियाको काम गर्नेलाई कसरी कम नाफामा काम गर्ने वातावरण गराउने भन्ने तर्फ पनि नगरपालिकाले योजना ल्याउनु पर्ने उहांले बताउनुभयो ।

यता बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले वडाहरुले समन्वय गरेर ल्याएका योजनाहरुलाई उहांहरुकै सल्लाहमा शिर्षक परिवर्तन गरीएको बताउनु भएको छ ।

You might also like