धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

0

धनगढी : त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि लागि भिड्ने भएका छन्। शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन्।

पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। २५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। खेलका म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए।

शुक्रबार बिहान नै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। २५–१६ र २५–१९ से पहिलो र दोस्रो सेट जितेको पुलिस क्लबले २२–२५ र २३–२५ ले तेस्रो र चौथो सेटले गुमाएको थियो। पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो। खेलका म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भए।

फाइनल खेल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ।dineshkhabar

You might also like