अर्थमन्त्री शर्मा पर्वतमा, आज पनि संसदमा नजाने

0
१२ फागुन, पोखरा । एमसीसीबारे प्रतिनिधि सभामा छलफल हुने बेला अर्थमन्त्री जनार्दन शर्मा भने पर्वत पुगेका छन् ।

पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भन्दै अर्थमन्त्री शर्मा पर्वत पुगेका हुन् । उनी बुधबार नै श्रीमतीसहित बागलुङ पुगेका थिए । आज बिहान पर्वतको कुस्मास्थित द किल्फ रिसोर्टको स्काई क्याफेमा बसेको शर्मा दम्पतीको भिडियो सार्वजनिक भएको थियो ।

फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूचीमा पनि अर्थमन्त्रीको नाम थियो तर उनी अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।

आज संसदमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची छ । तर आजको बैठकमा पनि अर्थमन्त्री शर्मा नजाने भएका छन् । उनीसँगै रहेका पत्रकार त्रिभुवन पौडेलका अनुसार उद्योग वाणिज्य संघ पर्वतको कार्यक्रममा रहेकाले शर्मा काठमाडौं नफर्किने जानकारी दिए ।

एक महिनाअघि नै कार्यक्रम तय भएकाले शर्मा पर्वत पुगेको उनी निकट स्रोतले जनाएको छ । बुधबार बेलुका उनले उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

शर्मासँग आज बिहान पर्वतका पार्टी कार्यकर्ताहरु भेटघाट थियो । पार्टी कार्यकर्ताहरुको भेटघाटमा शर्माले यथास्थितिमा एमसीसी अगाडि बढ्न नसक्ने बताएका थिए ।

अहिलेकै अवस्थामा एससीसी संसदमा गए पनि पास हुँदैन, तपाईंहरु ढुक्क भए हुन्छ जनताको भावनाविपरीत एमसीसी पास हुन दिन्नौं,’ शर्माको भनाइ उद्धृत गर्दै माओवादी केन्द्र पर्वतका अध्यक्ष सुदीप कुँवरले भने, ‘संसदमा सामान्य छलफल हुने भएकाले आफू नजाने उहाँको भनाइ थियो ।’

शर्माको २ बजेसम्मै पर्वतमा कार्यक्रम छ र ४ बजे पोखराबाट काठमाडौं फर्किने कार्यसूची छ ।onlinekhabar

You might also like